रंगशालामा खेल एकेडेमी पनि बन्छ : धुर्मुस

Dhurmus01
लाेकपाटी न्यूज

चितवन, २० माघ । धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले दुई वर्षभित्र आँखैअगाडि चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ठडिने बताएका छन् ।

भरतपुर १६ मा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकोे डीपीआर शुभारम्भ कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका फाउण्डेशनका अध्यक्ष कट्टेलले जनताको रंगशाला बन्न लागेको हुँदा हरेक घरलाई सक्दो सहयोग गर्न आह्वान पनि गरे । कार्यक्रममा उनले भने, ‘आजैबाट रंगशाला निर्माण सुरु भयो, जग्गा सम्याउनेदेखि निर्माण सामग्रीहरु झार्नेसम्मका काम हुन्छन् । आजैबाट डोजर चलाएर जग्गा सम्याउने काम सुरु गरिन्छ ।’

डीपीआरको समय ६ महिना राखिएको तर त्यति समय पनि नलाग्ने उनको भनाइ थियो । कार्यक्रममा उनले भने, ‘यहाँ क्रिकेट रंगशाला मात्र होइन, खेलकूदको हब बनाउने हाम्रो सोच छ । यहाँ फुटबल मैदान बन्छ, एथलेटिक्स बन्छ, भलिबलको खेल मैदान बन्छ, तेक्वान्दो खेल्ने ठाउँ पनि यहाँ बन्छ । यहाँ त खेलकूदको हब बनाइन्छ ।’

अध्यक्ष कट्टेलले शतप्रतिशत क्रिकेट रंगशाला बन्ने बताए । उनले भने, ‘यो जनताको रंगशाला हो, हरेक चितवनवासीले सहयोग गर्नुस्, हरेक नेपालीले सहयोग गर्नुस् । हामीलाई कुनै लोभलालच छैन, जसरी पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउनुछ ।’

उनले यस क्रिकेट रंगशालालाई खेल एकेडेमिक बनाउने प्रतिबद्धतासमेत गर्नुभएको छ । ७७ जिल्लाका खेलाडीहरुलाई प्रशिक्षण दिने ठाउँ पनि यहाँ बनाउने अध्यक्ष कट्टेलले बताए । उनले भने, ‘अहिले खेलाडीको अवस्था कस्तो छ, हामीले देखेको छौँ, अब त्यस्तो अवस्था हुन नदिन हामी सबै लाग्नुपर्छ । रंगशाला बनाएर देखाएपछि विश्वले भन्नेछ, वाह, नेपाल वाह नेपाली ।’