पैसाको कमि भएर रंगशालाको जिम्मा लिएका होइनौं : धुर्मुस–सुन्तली

Dhurmus-Suntali01
फाइल फोटो
लाेकपाटी न्यूज

चितवन, २० माघ । धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले सरकारभन्दा कोही माथि नहुने बताएका छन् ।

भरतपुरमा गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला डिपिआर शुभारम्भ कार्यक्रममा उनले भने, ‘सरकारभन्दा कोही माथि हुँदैनन्, छिटो काम सम्पन्न हुन्छ भनेर सरकारले हामीलाई विश्वास गरेको छ, हामी सरकारभन्दा माथि छैनौँ ।’

उनले विश्वलाई नागरिकको तहबाट बनेको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाएर देखाउने प्रतिबद्धतासमेत गर्दै भने, ‘यसमा केवल तपाईको साथको खाँचो छ, सहयोगको खाँचो छ । सम्पत्ति कमाएर नराख्नुस्, चिन्ता बढ्छ, धुर्मुस सुन्तलीलाई दिनुस्, चिन्ता हट्छ ।’ असल काम गरे यहीँ श्वर्ग देख्न पाइने उनको भनाइ थियो ।

उनले भने, ‘हामी कलाकारिताबाट सामाजिक अभियन्ता बनेका छौँ, हामीलाई पैसाको कमी थिएन । तर, सबैभन्दा ठूलो कुरो आत्मसन्तुष्टि रहेछ, सामाजिक सेवाबाट हामीले आत्मसन्तुष्टि पाएका छौँ ।’ उनले सबैलाई आत्मसन्तुष्टि पाउन क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न आग्रह गरे ।

उनले रंगशाला बनाउन अहोरात्र आफैँ खटिने बताए । उनले भने, ‘यो ३ अर्बमा बन्ने परियोजना होइन, हामी आफैँ खटिने, चितवनवासी खटिने, स्वयम्सेवी खटिने भएकाले ३ अर्बमा बन्छ भनेका छौँ ।’ उनले नेपालीपनको रंगशाला निर्माणमा निर्धक्क भएर लाग्न आग्रह गर्दै भने, ‘तपाईको एक रुपैयाँ पैसा हिनामिना हुँदैन, यो त जनताको पसिनाले बन्ने रंगशाला हो । पैसा कुल्याउने हुन् कि भन्ने लागेको पनि होला । तर, तपाईको नाम र सहयोग रकम वेभसाइटमा हुन्छ, भोलिका पुस्ता नाति पनातिसम्मले हेर्न सक्नेछन् ।’

कार्यक्रममा उनले हरेक नागरिकलाई एकतामा जोड्ने रंगशाला बन्न लागेको बताए । ‘निश्चित वर्गलाई फाइदा पुग्ने गरी हामीले रंगशाला निर्माण गर्न लागेको होइनौँ, यो त जनताको रंगशाला हो, सबै नेपालीको अपनत्व हुन्छ’ अध्यक्ष कट्टेलले भने, ‘चितवन देशकै केन्द्रीय भाग भएको हुनाले हामीले चितवन रोजेका हौँ ।’ उनले अहोरात्र खटिएर जग्गा उपलव्ध गराउन सहयोग गर्ने भरतपुर महानगरलाई विशेष धन्यवाद दिए ।