शिक्षा नाफाका लागि होइन, सेवाका लागि हो : मन्त्री पोखरेल

Girirajmani Pokharel
लाेकपाटी न्यूज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नाफा कमाउने क्षेत्र नभएको बताएका छन् । शिक्षा क्षेत्रको लगानी नाफा कमाउने भन्दा पनि देश विकास गर्ने, देश बनाउने क्षेत्र भएको उनले बताए ।

चन्द्रागिरी नगरपालिका बलम्बुको रहेको जापान सरकारद्धारा निर्मित प्रनिधि माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रलाई सेवाको क्षेत्र बनाउनुपर्ने बताए । लगानीकर्ताले संविधानको भावनाअनुरुप कामलाई अघि बढाउनुपर्ने बताउँदैं मन्त्री पोखरेलले शिक्षामा काम गर्नु भनेको देश विकासमा सहयोग गर्नु पनि भएको बताए ।

‘नाफाको आशा नगर्नुस्, देशको लागि योगदान दिनुस्’ मन्त्री पोखरेलले भने, ‘शुल्क निर्धारण गर्दा सरकारी प्रणालीलाई लागू गर्नुस् । सार्वजाजिक शिक्षालाई सबल बनाउनुपर्ने बताउँदैं प्राविधिक/व्यवसायिक शिक्षालाई जोड दिनु आवश्यक रहेको मन्त्री पोखरेलको भनाइ थियो । यो वर्ष बिद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने र अर्को वर्ष साक्षर नेपाल घोषणा गर्ने तयारी रहेको उनले जानकारी दिए ।

‘हामी सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा सामाजिक न्यायमा आधारित भएको समृद्ध राष्ट्र, सुखी नेपाली बनाउने एउटा बिराट अभियानमा छौं’ मन्त्री पोखरेलले भने, ‘शिक्षालाई नयाँ ढंगले अघि बढाए मात्र यो अभियान सफल हुन्छ ।’

उनले शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग, सीपलाई उत्पादनसँग जोड्नुपर्नेमा जोड दिए । शिक्षालाई पूर्वाधारको पनि पूर्वाधारको रुपमा विकास गर्नुपर्ने बताउँदैं मन्त्री पोखरेलले शिक्षामा विज्ञान प्रविधि जोड्नु अनिवार्य रहेको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्