टी-ट्वान्टी सिरिज : नेपाललाई ऐतिहासिक सफलता

Nepali Cricketer01
लाेकपाटी न्यूज

काठमाडौं, २० माघ । घरेलु टोली युएईविरुद्धको तेस्रो तथा अन्तिम टी-ट्वान्टी खेलमा नेपालले जीत हासिल गरेको छ । यससँगै नेपालले पहिलो टी-ट्वान्टी सिरिज जित्न सफल भएको छ ।

आइतबार दुवईमा खेलिएको टी-ट्वान्टी खेलमा नेपालले युएईलाई १४ रनले पराजित गरेको हो । निर्धारित ओभरमा नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याएको युएई ८ विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो । युएईका लागि सैमान अनवारले सर्वाधिक ३० तथा गुलाम साब्बेरले २५ रन जोडे । त्यस्तै मोहम्मद बूटाले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

नेपाललाई ऐतिहासिक जीत दर्ता गराउन करण केसी, अभिनाश बोहरा र ललित राजवंशीले समान दुई/दुई विकेट हात पारे ।

हावाहुरी र वर्षाका कारण खेल १० ओभरमा झारिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाएको थियो ।

नेपालको इनिङ उकास्न कप्तान पारस खड्काले सर्वाधिक २९, सन्दीप जोराले २८ रनको योगदान गरे । त्यस्तै विनोद भण्डारीले २१, उपकप्तान ज्ञानेन्द्र मल्लले ११ तथा करण केसीले १०  रन बनाए ।

बलिङतर्फ युएईका लागि मोहम्मद नाभिद र अमिर हायातले समान दुई/दुई विकेट लिए ।

सिरिजअन्तर्गतको पहिलो खेल गुमाएको नेपालले दोस्रो खेल जितेर बराबरी गरेको थियो । आजको खेलमा जीत हासिल गरेर नेपालले सिरिज २-१ ले कब्जा गर्‍यो ।

युएईविरुद्धको तीन खेलको एक दिवसीय सिरिज पनि नेपालले २-१ ले नै जितेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्