नेकपा बैठक आज : के-के छन् एजेण्डा ?

Prachanda-Oli
लाेकपाटी न्यूज

काठमाडौं, २१ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी सचिवालय बैठक बोलाएका हुन्।

सचिवालय बैठक लामो समयपछि बस्न लागेको हो । बैठकमा समसामयिक विषय र पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

पार्टी एकताका विषयमा बाँकी विषय टुङ्ग्याउनका लागि ठोस सुझाव दिन गठित कार्यदल आफै निष्कृय रहेको बेला अध्यक्षद्ववय ओली र प्रचण्डले तीन पटक छलफल गरी सचिवालय बैठक बोलाएका हुन्। स्थायी समितिले गठन गरेको ९ सदस्यीय कार्यदलले तोकिएको भन्दा दोब्बर समयमा पनि प्रतिवेदन नबुझाएपछि सचिवालय बैठक बोलाइएको हो ।

गत पुस १२ गते सम्पन्न स्थायी समितिको बैठकले पार्टी एकताका विषयमा बाँकी काम टुङ्गो लगाउन नौ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा सचिवालय सदस्य रामबहादुर थापा, महासचिव बिष्णु पौडेल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, बेदुराम भुसाल, बर्षमान पुन, रघुबीर महासेठ र लेखराज भट्ट रहेका छन्।

गत माघ ७ यता कार्यदलको बैठक नै बस्न सकेको छैन । प्रदेश कमिटी हेरफेर गर्ने विषयमा कार्यदलभित्रै विवाद भएपछि बैठक नबसेको हो । सचिवालयको निर्णयअनुसार सर्कलर जारी भइसकेको अवस्थामा प्रदेश कमिटी चलाउने विषय आएपछि दुवै अध्यक्ष गम्भीर बनेेेेका हुन्।

बैठकमा जनसंगठन, विशेष कमिटी र जिल्ला नेतृत्वका विषयमा छलफल हुनेछ। नेकपाले एकता टुङ्गाएर तत्काल अभियान सञ्चालन गर्ने तयारी थालेकाे छ।