नेपाल : कस्तो समाजवाद, कसको समाजवाद ?

  • 512
    Shares
लाेकपाटी न्यूज

नेकपाका अध्यक्ष प्रचण्ड भन्नुहुन्छ, ‘नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीचको पार्टी एकता २१ औं शताब्दीकै असाधारण परिघटना हो ।’ २००६ सालमा जनवादी क्रान्ति सम्पन्न गर्ने ध्येयले संस्थापक महासचिव क. पुष्पलालले नेकपाको स्थापना गर्नुभएको थियो । २०२८ सालको झापा बिद्रोह जनवादी क्रान्तिकै अभिन्न अंग थियो । क. मदन भण्डारीले मास–क्रान्तिमार्फत माक्र्सवादी–लेनिनवादी विचार स्थापित गर्नुभयो । नेकपा (माओवादी) ले क. प्रचण्डको नेतृत्वमा सञ्चालन गरेको महान दश वर्षे जनयुद्वको जगमा नेकपा (माओवादी) र सात राजनीतिक दलबीच भएको १२ बुँदे समझदारी पत्रको आधारमा उठान भएको २०६२/६३ को जनक्रान्तिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समाजवादउन्मुख संविधान संस्थागत गरेपछि नेपालमा जनवादी क्रान्तिको कार्यभार पूरा भएको छ ।

नेकपाले मार्गदर्शक सिद्वान्त माक्र्सवाद–लेनिनवाद मानेको छ भने समाजवादउन्मुख जनताको जनवादलाई समाजवादमा संक्रमणको नीति तथा कार्यक्रमको रूपमा परिभाषित गरिएको छ । नेकपासंग दुई तिहाइको संघीय सरकार र ब्यवस्थापिका छ भने स्थानीय र प्रदेशमा पनि एकल बहुमतको सरकार र संसद छ । केपी ओली दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टीको शक्तिशाली पार्टी अध्यक्ष तथा प्रधानमन्त्री हुनुहुन्छ । अब के माक्र्सवादी सपना साकार हुन्छ ? के हजारौं शहिदको सपना पूरा हुनेछन् ? के बेपत्ता योद्वाहरूको सास या लास परिवारजनहरूले पाउँछन् त ? अशक्त, घाइते, जेलजीवन भोगेका जनयुद्व र जनक्रान्तिका ती सिपाहीहरू संघीय लोकतान्त्रिक समाजवादका महासेनानी घोषित हुनेछन् ? के गरिबका छोरीछोराले चिकित्सा शिक्षा पढ्न पाउने छन् ? के स्वास्थ्य क्षेत्रमा आम नागरिकको पहुँच पुग्नेछ ? नाफामुखी मानसिकता उत्पादन गर्ने नीजि शैक्षिक कारखानाहरू राष्ट्रियकरण हुन्छन् कि हुँदैनन् ? अतिरिक्त परनिर्भर अर्थतन्त्र, अपेक्षाकृत आत्मनिर्भर अर्थतन्त्रमा फेरिन्छ कि फेरिँदैन ? भूमिसम्बन्धि स्पष्ट नीति विना कसरी कृषिजन्य वस्तु र औधोगिक कच्चापदार्थ उत्पादन हुन्छ ?

श्रम र श्रमिकको इज्ज्यत गर्ने संरचनात्मक संस्कारको विकास नगरेसम्म न त औधोगिककरण हुन्छ न त युवा जनशक्ति पलायन नै रोकिन्छ । उत्पादक शक्ति (श्रम, श्रमका औजार र श्रमको वस्तु) फेरिएपछि मात्रै युगमा आमुल परिवर्तन आउँछ भन्ने वैज्ञानिक निष्कर्ष नै माक्र्सवाद हो । उत्पादन सम्बन्ध वा आर्थिक दिशाका आधारमा माक्र्सले समाजिक इतिहासलाई तपसिलका पाँच युगमा बाँड्नुभएको छ ।

१. आदिम साम्यवादी युग : पृथ्वीमा जीव अनुकुल प्राकृतिक वातावरण तयार भएपछि पुराजीवक कालमा (बेसिक ब्रेन) भएको एककोषीय जीवको उत्पत्ति र विकास भएको हो भने एककोषीय जीवहरूले लाखौं वर्ष प्राकृतिक र जैविक संङ्घर्ष पार गरेपछि बहुकोषीय जीवधारी आदिम मानव जातिको विकास भएको तथ्य जीव विज्ञानले पृष्टि गरेको छ । प्रारम्भिक मानव जाति कनिया, नरवानर र अश्योलहरू प्राकृतिक नियमद्वारा निर्देशित थिए । निरन्तर प्राकृतिक श्रम सङ्घर्ष जनावरहरूसंगको संघर्षको क्रममा प्रारम्भिक चेतना (मिडब्रेन) को विकास भएको हो ।

आदिम मानवजातिको जीवन निर्वाहका लागि उत्पादनका स्रोत जंगली कन्दमूल र घाँसपात थिए । अहिलेका आधुनिक मानिसको शरिरमा हुने (एपेन्डिक्स) घाँस पाचन प्रणालीले पनि यो कुराको पुष्टि हुन्छ । निरन्तरको श्रम सङ्घर्षले आदिम मानवजातिको चेतना पनि विकसित हुँदै जाने क्रममा ढुंगे औजार र आगो पत्ता लगाए । यो नै आदिम मानव जातिको पहिलो ऐतिहासिक श्रमका औजार क्रान्ति थियो । यो क्रान्तिले आदिम मानवजातिको जीवनस्तरमा ठूलो हेरफेर ल्याइदियो ।

यस क्रान्तिपछि नै आदिम मानवहरू पाषणकालिन युगबाट धातु युग हुँदै परिवारदल वा कविलाई समाजमा रूपान्तरण भएका थिए । यहाँका परिवार दलहरू सामुहिक रूपमा कन्दमूल उत्पादन, सिकार र पशुपान गर्दथे भने वितरण पनि सामुहिक रूपमै गर्दथे । प्रकृतिका हरेक वस्तु र ढुंगे औजार इत्यादिमा सबैको बराबर अधिकार थियो । ढुंगे औजार परिस्कृत नहुने भएकाले आदिम साम्यवादी उत्पादन पद्वतिमा लामो समय वस्तु सञ्चित पनि नहुने भएकोले सामान्य वस्तु विनिमय मात्रै हुन्थ्यो । यस कारण यहाँ निजी स्वामित्व थिएन, धनी र गरिब वर्ग पनि थिएन । मानव मानवबीच लडाइँ झगडा थिएन । त्यसैले राजनीतिक पार्टी र राज्यसता पनि थिएन, सेना वा पुलिस पनि थिएन भन्दा पनि आवश्यकता नै पर्दैन थियो । यो युग स्वछन्द आदिम तर एक ऐतिहासिक आदर्श साम्यवादी समाज थियो ।

२. दास युग : जब धातुका औजारहरू (धातुको बाण, भाला, बन्चरो, कोदालो, खुर्पा, इत्यादि) को आविष्कार भयो, तब कृषि उत्पादन र पशुपालन तिव्र रूपमा भयो । आदिम मानवहरू शिकार छोडेर व्यवस्थित कृषि र पशुपालनतिर लाग्न थाल्यो । स्थायी बसोबासले कृषि भूमिमा भूस्वामित्वको प्रथा सुरू भयो । कृषिबाट अनाज र पशुपालनबाट पशुधन सञ्चय तिव्र गतिमा भयो ।

श्रम विभाजनले विनिमयको क्षेत्र पनि व्यापक विस्तार भयो । अनि निजी सम्पत्तिको उदय भयो । निजी सम्पत्तिको उदयले आदिम गोत्र–गोत्रबीच झैझगडाको शुरूवात भयो । धातुका हतियायार हुने गणहरूले ढुंगे हतियारमै रहेका गणहरूलाई लडाइँमा जितेपछि हरुवाहरूलाई विजेताहरूले दास बनाएर कृषि र पशुधन उत्पादन कार्यमा लदाउन थाल्यो । यसरी वर्गहीन आदिम मानव समाज दास–मालिक र भू–दास वर्गीय समाजमा विभाजन भयोे । अनि आदिम साम्यवादी युग दास युगमा फेरियो ।

प्लेटो र अरस्तुले प्राचीन ग्रिसको अर्थव्यवस्था दासप्रथामा आधारित भएको व्याख्या गरेका छन् । यो तथ्यले के पुष्टि गर्यो भने उत्पादक शक्ति (मानव श्रम, श्रमको औजार र श्रमको वस्तु) फेरिएपछि संङ्गै युग पनि फेरिँदो रहेछ । माक्र्सका अनुसार दास युगमा भूदासहरूले दासमालिकका शोषणका बिरूद्व ठूलाठूला दासविद्रोह गरेका थिए, जस्तै ‘पार्टाकसको दास विद्रोह’ आदि ।

३. सामन्ती युग : दास युगपछि उदय भएको यस सामन्ती युगमा अर्थव्यवस्थाको विकासले गुणात्मक फड्को मार्यो र उत्पादनको प्रमुख साधन कृषि भूमि बन्यो । यही युगबाट बृहत सामन्ती राज्यसत्ताको विकास भयो । दर्शन, सिद्वान्तहरू, धर्म, भाषा, र संस्कृतिका विकास यसै युगदेखि भएको थियो । राज्यसत्ताका प्रमुख राजाहरू भूमिको स्वामी भए । दास युगका दासमालिकहरू सामन्त बने भने भूदासहरू अर्धदास किसान बने । राजाले आफना अधिनका सामन्तहरूलाई जग्गाजमिन बकस, वा बिर्ताका रूपमा बाँड्न थाले । सामन्तहरूले किसानहरूलाई मोही, या अँधिया–बटैयामार्फत अतिरिक्त उत्पादनको शोषण गर्दथे । लगानको रूपमा उत्पादित वस्तहरू लिन्थे । अहिले पनि यो प्रथा हाम्रो नेपालमा चलिरहेको छ ।

नेपालमा सामन्तवादको अन्त्य भएपनि धेरै नेपाली भूमिमाथि सामन्तहरूकै स्वामित्व भएको र हाल सामन्तहरूले यी जमिनहरू विभिन्न कम्पनीको नाममा वित्तीय बैंकमा धितो राखेका कारण क्रान्तिकारी भूमिसुधारको कार्यक्रम चुनौती बनिरहेको छ ।

४. पूँजीवादी युग : सन् १६४९ मा बेलायतमा क्रम्बेलले स्टुअट बंशका राजा चाल्र्स प्रथमको टाउको गिँडेपछि संसदीय पूँजीवादको उदय भएको थियो । सामन्ती राज्यसत्ताकै गर्भबाट जन्मिएको घरेलु पूँजीवाद, ब्यापारिक पूँजीवाद हुँदै (नवउदारवादी) एकाधिकारी वित्तीय पूँँजीवादको रूपमा कायमै छ । ०४८ मा कांग्रेसी सरकारले उदारवादी आर्थिक मोडेलको नक्कल गर्दा नेपालको आर्थिक अवस्था अधिक परनिर्भर हुनपुग्यो । राज्यका ठूलाठूला कलकारखानाहरू निजी व्यापारीहरूलाई कौडीको भाउमा बेचियो । कृषि औजार कारखाना र औंषधी उधोगहरू निजीकरणको नाममा दलालसंग कमिसन लिएर नस्ट गरियो । यतिसम्म कि स्वास्थ्य र शिक्षा समेत निजी व्यापारीलाई बेचियो ।

यसरी उदारवादी अर्थराजनीतिले सार्वजनिक आवश्यक वस्तुहरू उत्पादन गरिरहेका राज्यका सम्पूर्ण उत्पादनका साधनहरू निजीकरणको नाममा नियन्त्रण गरेपछि बजार पूर्ण रूपमा नवउदारवादी वित्तीय दलाल व्यवसायीको नियन्त्रणमा गयो । सरकार सार्वजनिक दायित्वबाट मुक्त भएर नियमनकारी भुमिकामा खुम्चिनु पुग्यो । सुरूमा त आयात गरिएका वस्तुहरू सस्तोमा उपभोग गर्न पाउँदा हामी पनि दङ्ग पर्यौं । अनि बिस्तारै–बिस्तारै हाम्रा खेतबारीहरू बाँझै राख्न थाल्यौं र, राष्ट्रिय पूँजीपतिहरूको उद्योग र कलकारखानाहरू बिस्तारै खण्डहर हुँदै गयो ।

सरकारी स्कुलहरूका शैक्षिक गुणस्तर पनि खस्कँदै जान थाल्यो । सरकारी मेडिकल कलेज, हस्पिटल र स्वास्थ्य चौकीहरू सेवासुविधाहीन गरिब किसानको करेसामा ठडिएको पाइखानाजस्तो हुँदै गए । मलाई लाग्छ यो २७ वर्षको अन्तरालमा यस्तो खालको संसारको निर्माण गर्यौं, जहाँ दलाल अर्थतन्त्र, राजनीतिक र राजकीय निकायहरूमा पहुँच भएकाहरूको लागि स्कुल, क्याम्पस, अस्पताल, गाडी र पत्रपत्रिका आदि भिन्दै छ । राज्यका सार्वजनिक उद्योग, स्कुल, कलेज, हस्पिटलहरू डुबाएर अर्बपति, करोडपति र लखपति बनेका यस्ता (क्रोनी क्यापिटलिस्ट) हरूको निजी वा व्यवसायिक शैक्षिक, मेडिकल, हस्पिटल, वित्तीय बैंकहरूको विशाल भौतिक संरचना र उनीहरूको महंगो गाडी कुदाउने पिच बाटोलाई नै हामी आजसम्म पनि महान परिवर्तन र विकास मान्न बाध्य छौं ।

यी नै दलाल पूँजीपतिहरूको प्रति ब्यक्ति आय र अतिरिक्त माल उत्पादन वृद्वि गर्ने क्षमताको आधारमा कांग्रेस वा कम्युनिष्ट सरकारको सफलता र असफलताको मापन गरिन्छ । जीडिपी ७.५ को तथ्यांक देखाइदिँदा एकताका यो पंक्तिकार पनि निकै हौसिएर उफ्रिँदै गर्दा पोखराको एक हस्पिटल अगाडि एकजना अवला महिला, जो हस्पिटलमा मृत्यु भएकी छोरीको लास निकाल्न उपचार शुल्क तिर्नका लागि चन्दा उठाउँदै गरेको हृदय विदारक दृश्य देखेँ । मन खिन्न भयो र मनमनै तथ्यहरू केलाउन थाले । आर्थिक वृद्विदरले मापन गर्दा ती अवला महिला र बिनोद चौधरी वा सुमार्गीबीच केही फरक देखिन । तर जब जीवन स्तरबाट मापन गरेँ, तब आकाश र जमिनको फरक स्तर देखेँ । ती महिला त बहुसंख्यक जनताको प्रतिनिधि पात्र मात्र हुन् । ७५ प्रतिशत नेपालीको त भोगाई छ नै यस्तै छ । नवउदारवादी आर्थिक प्रणाली भनेकै (इकोनोमिक डार्वेनिजम अर्थात् शक्तिशाली मात्रै बाँच्ने आर्थिक व्यवस्था हो ।

५. समाजवादी युग : समाजवादी व्यवस्था नै मानव समाजको उत्कृष्ट सामाजिक व्यवस्था हो । दास व्यवस्था, सामन्ती व्यावस्था र पूँजीवादी व्यवस्थाभन्दा फरक गुणस्तर भएको कारणले समाजवादी व्यवस्था भनिएको हो । सन् १९१७ मा रूसमा लेनिनको नेतृत्वमा सम्पन्न महान अक्टुबर क्रान्तिबाट उदय भएको समाजवादी व्यवस्थाले दोस्रो विश्वयुद्वमा फाँसीवादी हिटलर र मुसोलेनीलाई चिहानमा गाडेर संसारलाई जोगाएको थियो । यदि समाजवादी सोभियत संघ नहुँदो हो त आज पूँजीवादीहरू हिटलरको चेम्बरमा हुन्थे या त जर्मनीको गुलाम बनिरहेका हुन्थे ।

यसरी विश्वलाई साम्राज्यवादी उपनिवेशबाट मुक्त गर्दै २० औं र २१ औं शताब्दीमा समाजवादी मुलुकले गरेको सार्वजनिक उत्पादन, सामुहिक शिक्षा र स्वास्थ्यको ४० वर्षे अभ्यासले तीन सय वर्षको निजी पूँजीवादी विकासलाई पछााडि पारिदिएको थियो । आजको क्यूवा, भियतनाम र चीनले पनि भूमि, शिक्षा, स्वास्थ्य आदिमा संरचनात्मक सुधार गरेर नै समाजवादी समृद्वि हासिल गरिरहेका छन् । निश्चय पनि अहिले विश्वव्यापी एकाधिकारी पूँजीवादको आर्थिक, सांंस्कृतिक र सामरिक हतियारले संसारलाई आतङकित पारिरहेको छ । शोषण, दोहन, नरसंहार, अनैतिक भल्गर सांस्कृतिक माहोलले जताततै बलत्कार हत्या, महिला हिंसा, बेचबिखन र अपहरणजस्ता घट्नाले दुनियाँलाई मात्रै होइन, नेपाललाई पनि ग्रसित बनाइरहेको छ ।

तर नेपालको एउटा सुखद पक्ष छ, त्यो के भने बेलायत र अमेरिका जस्तो पूँजीवादको जन्म भएका मुलुकमा अहिले समाजवादी विकल्पमा बहस भइरहेको बेलामा नेपालमा भने नेकपाको समाजवादी विकासलाई जनताको दुई तिहाई विशाल जनमतले अनुमोदन गरिदिएको छ । यद्यपि हाम्रो समाजवादको वर्गीय चरित्र कस्तो हुन्छ ? मुख्य सवाल यही हो जस्तो लाग्छ । अहिले समाजवादी फेटा सबैको टाउकोमा फिट हुने ‘रबरको फिता’जस्तै बनाएको छ ।

आर्थिक वृद्विमा मात्रै जोड दिने आर्थिक मोडेलको समाजवाद कि आयआर्जनमा जोड दिने वितरणमुखी आर्थिक मोडेलको समाजवाद ? यदि आर्थिक वृद्विमा मात्र जोड दिने हो भने त नेपाली कांग्रेसको लोकतान्त्रिक समाजवाद नै काफी थियो र विकल्प अझै बाँकी छ । होइन आमजनताको जीवनस्तर उकासिने वितरणमुखी आर्थिक मोडेलको समाजवाद छनोट हाम्रो लक्ष्य हो भने बेलायती र अमेरिकन जनताहरू चकित बन्न पनि सक्छन् । डोनाल्ड ट्रम्प निराश बन्न पनि सक्छ । तर समृद्व नेपाल विश्वकै मोडल बन्न सक्छ र विश्वलाई स्वर्णिम युग साम्यवादी सभ्यतामा बदल्ने मार्गदर्शक सिद्वान्त बन्न सक्छ ।