‘मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउँछन्’

Baburam-Bhattarai-1
लाेकपाटी न्यूज

खोटाङ, २१ माघ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउने बताएका छन् ।

‘असल राजनीति र समावेशी विकासका लागि जन संवाद’ अभियानका क्रममा खोटाङ आएका डा.भट्टराईले यस्तो बताएका हुन् । उनले विकास जनताको लागि भएकाले विकास निर्माणका क्रममा जनतालाई उठिबास गराउन नहुने बताए ।

‘मध्यपहाडी लोकमार्गमा पर्ने सबै जग्गाधनीले मुआब्जा पाउनुपर्छ’, दिक्तेलस्थित रत्नपार्कमा आज आयोजना गरिएको जनतासँगको भेटघाट कार्यक्रमममा उनले भने, ‘जल, जमीन र जङ्गल स्थानीय जनताको अधीनमा रहने संविधानमै व्यवस्था छ । जनताको अधीनमा रहेको जग्गामा निर्माण गरिने सडकले मिच्ने जग्गाको मुआब्जा दिलाउन म आफैँ पहल गर्नेछु ।’

पहाडमै संवृद्धिको सम्भाव्यता अध्ययन र पहिचानका लागि गत माघ १५ गते चिवाभञ्ज्याङबाट जनसंवाद थालेका डा.भट्टराईले निर्माणाधीन अवस्थामा रहेको मध्यपहाडी लोकमार्गको कामलाई तीव्रता दिन र गुणस्तर निर्धारण गराउन आफ्नो अभियान रहेको बताए ।

मध्यपहाडी लोकमार्गमा सबै जातजातिको बसोबास रहेकाले उनीहरूको आर्थिक विकासका लागि शहरीकरण, उद्योग तथा कलकारखाना स्थापना लगायतका कामलाई सरकारले तीव्र गतिमा अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

उनले वि.सं २०६५ मा आफ्नै सरकारको पालामा विनियोजित बजेटबाट काम थालिएको एक हजार ८ सय ७९ किलोमिटर लामो मध्यपहाडी लोकमार्ग केही ठाउँमा ढिलो भएको पाइएकाले ठेकेदारलाई भेटेर तोकिएको समयमा सम्पन्न गर्न निर्देशन दिएको प्रष्ट पारे ।

आगामी फागुन १५ गते पश्चिमको झुलाघाट पुगेर सम्पन्न हुने यात्राका क्रममा सबै ठाउँमा भइरहेको कामको प्रगति निरीक्षण गरिने उनको भनाइ छ । अभियान लिएर हिँडेको सातौँ दिनमा दिक्तेल आइपुग्नुभएका डा.भट्टराईले अहिलेको सरकारले जनताले चाहेअनुसारको विकास गर्न नसकेको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्