नेपाल प्रहरीलाई टेलिकमको सम्मान

Nepal police
लाेकपाटी न्यूज

काठमाडौं, २२ माघ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरीलाई उत्कृष्ट कर्पोरेट युजर्स ग्रुप (सियुजी) सेवाका लागि सम्मान गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल प्रहरीको तर्फबाट प्रहरी प्रधान कार्यालय, सञ्चार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डा. राजिव सुब्बालाई मंगलबार आयोजित कार्यक्रममा सम्मान गरेका हुन् ।

उक्त सम्मान करिब ३५ हजार प्रयोगकर्ता रहेको नेपाल प्रहरीको कर्पोरेट युजर्स ग्रुप (सियुजी) ले संस्थागत समूहतर्फ गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै नेपाल प्रहरीलाई प्रदान गरिएको हो । प्रहरी कर्मचारीहरु तथा प्रहरी कार्यालयहरुका लागि सस्तो, सर्वसुलभ तथा सरल ढङ्गले टेलिफोन सेवा प्रवाह गर्ने गराउने उद्धेश्यअनुरुप २०६८ आश्विन १० गते नेपाल टेलिकम र नेपाल प्रहरीबीच सम्झौता भई नेपाल प्रहरीमा २०६८ सालदेखि सियुजी सेवा आरम्भ गरि सञ्चालनमा ल्याइएको हो ।

यो सेवा प्रारम्भिक चरणमा पोष्टपेड सिममा मात्र सीमित गरिएको थियो । सेवा बिस्तारको क्रमसँगै हाल नेपाल प्रहरीका प्रिपेड प्रयोगकर्ता, पूर्वप्रहरी र प्रहरीका आफन्तलाई पनि यो सेवामा आवद्ध गराइएको छ । यो क्रम दिनानुदिन बढ्दो क्रममा रहेको र आगामी दिनमा सबै प्रहरीलाई समेत आवद्ध गराउने लक्ष्य लिइएको छ ।

सियुजी सेवाबाट नेपाल प्रहरीमा सांगठनिक क्रियाकलाप, सूचना आदिमा सर्वसुलभ पहुँच भएको छ । जसबाट संगठनमा सूचना पारदर्शिता समेत हुन गएको छ । यसले प्रहरीलाई एकआपसमा, ५ जना साथीभाइ तथा परिवारका सदस्यसँग सस्तो शुल्कमा सञ्चार सुविधा उपलब्ध भएको छ । सेवामा आवद्ध प्रयोगकर्ताहरुलाई प्रत्येक महिना निस्शुल्क १ सय एमबी डाटा उपलब्ध गराई ईन्टरनेट सेवाको सुविधामा समेत पहुँच बढाइएको छ ।

नेपाल प्रहरीले सम्मानित गरेकोमा टेलिकमलाई धन्यवाद दिँदै आगामी दिनमा नेपाल प्रहरीले यो सेवाको विस्तारलाई अझ बढी प्रभावकारी ढंगबाट निरन्तरता दिने उक्त निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्