फागुन १ गते रोजगार कार्यक्रम घोषणा हुन्छ : मन्त्री विष्ट

gokarna-bista
लाेकपाटी न्यूज

काठमाडौं, २३ माघ । फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा हुने भएको छ । बेरोजगारलाई न्यूनतम रोजगार दिने र रोजगार दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने उद्देश्यले सरकारले यो कार्यक्रम घोषणा गर्ने भएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्ने गरी सबै तयारी पुरा भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले फागुन १ गते कार्यक्रम घोषणा गर्ने गरी युद्धस्तरमा तयारी भइरहेको जानकारी दिए ।

‘फागुन १ गते कार्यक्रम घोषणा गर्ने गरी मन्त्रालयले युद्धस्तरमा तयारी भइरहेको छ । प्रधानमन्त्रीबाटै कार्यक्रमको शुभारम्भ हुने कार्यतालिका तयार पारेका छौँ । आवश्यक ऐन कानुन तर्जुमाको काम करिब–करिब सकिएको छ,’ मन्त्री बिष्टले भने ।

सरकारले कार्यक्रमका लागि आवश्यक ऐन तथा नियमावली तयार गरिसकेको छ । गत १९ पुसको मन्त्रिपरिषद्ले पारित गरेको रोजगारीको हकसम्बन्धी नियमावलीले संघीय सरकार, सातवटै प्रदेश सरकार र ७५३ स्थानीय तहले न्यूनतम रोजगार प्रदान गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छ । सोहीअनुसार सार्वजनिक विकास निर्माणका कार्यक्रम तथा आयोजनाहरूमा सिर्जना हुन सक्ने रोजगारी आकलन गर्ने, रोजगारी बढाउने कार्यक्रम तयार पारी कार्यान्वयन गर्न लागिएको हो ।

निजी तथा गैरसकारी क्षेत्रसँग समन्वय गर्ने, स्थानीय स्तरमा उत्पादित वस्तुको खपत बढाउन अभियान सञ्चालन गर्ने, गरिबी निवारण र रोजगारसम्बन्धी कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गरिने बताइएको छ । प्रत्येक स्थानीय तहमा रहने रोजागर सेवा केन्द्रले बेरोजगारको सूची तयार पार्नेछ । सोही सेवा केन्द्रबाटै सूचिकृत बेरोजगारलाई परिचयपत्र दिने, उपलब्ध रोजगारीको पहिचान तथा त्यसको सूचना प्रवाह गरिनेछ ।

सरकारले सूचीकृत बेरोजगारलाई न्यूनतम रोजगारी दिन नसके एक सय दिनबराबरको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम निर्वाह भत्ताका रूपमा उपलब्ध गराउनेछ । सरकारले मजदुरको न्यूनतम पारिश्रमिक दैनिक ३ सय २५ रुपैयाँ आधारभूत तथा १ सय ९२ रुपैयाँ महँगी भत्ता गरी ५ सय १७ रुपैयाँ तोकेको छ ।