नेपाल प्रहरी : कस्तो छ अन्तर्राष्ट्रिय छवि ?

Manahari Timilsina
उनले अन्तर्राष्ट्रिय स्तरमा अमेरिका वासिङ्टन डीसी, युएइको दुबई लगायतका स्थानबाट पनि सम्मान र प्रशंसा प्राप्त गरे । यी सबै कुराले सर्वेन्द्रलाई स्वदेश तथा विदेश सबैतिर अनुसन्धानमा पोख्त, ब्यवस्थापनमा चुस्त, ब्यक्तिगत रुपमा योग्य र ब्यवसायिकतामा निपूर्ण प्रहरी अधिकृत प्रमाणित गर्दछ ।
लाेकपाटी न्यूज

– मनहरि तिमिल्सिना

नेपालको अग्रपङ्तिको सुरक्षा निकाय र मुख्य कानून कार्यान्वयन इकाई नेपाल प्रहरी हो । प्रहरीका नेपालभित्रको क्रियाकलापलाई जनताले हरेक दिन नियालिरहेकै छन् । तर, मुलुक बाहिर सरदर कस्तो प्रभाव होला ? छिमेकी देशहरु र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल प्रहरीको कस्तो प्रतिष्ठा होला ? हरेक राष्ट्रप्रेमी जनताको चासोंको विषय हो ।

विगतमा अन्तर्राष्ट्रिय रुपमा भारतमा बढी केन्द्रित नेपाल प्रहरी बिस्तारै त्यसबाहिर प्रवेश गर्‍याे । वि.सं. २०२४ कोशेढुङ्गा बन्यो । कारण थियो, नेपाल प्रहरी इन्टरपोलको सयौँ सदस्य राष्ट्रको रुपमा प्रवेश । बिस्तारै प्रहरीले अन्तर्राष्ट्रिय जगतमा दरिलो पाइला चाल्दै आएको छ । हाल संयुक्त राष्ट्र सङ्घमा फौज पठाउने मुलुकको पाँचौ ठूलो देश नेपालको प्रहरीले २०४८ फाल्गुण २९ देखि सेवा प्रदान गर्दै आएको छ । हालसम्म प्रहरीले विश्वका २० देशमा संयुक्त राष्ट्र सङ्घमार्फत् सेवा प्रदान गरेको छ । बिभिन्न कालखण्डमा प्रहरीका बिभिन्न अधिकृतहरुले अन्तर्राष्ट्रिय जगतमा प्रहरीको प्रतिष्ठा बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरका छन् । आइजीपी सर्वेन्द्रको पनि यसमा विशिष्ट योगदान छ ।

सर्वेन्द्रको बाह्य भूमिका र छवि

सर्वेन्द्रले इन्सपेक्टरदेखि नै विशेष र सम्वेदनशील भूमिका निर्वाह गरे । उनी तराईमा लामो समय बसे । सर्वेन्द्रले सफाया गरेका कुख्यात डाँकाहरु, उडाएका अपहरणकारीहरु, सीमापारबाट ल्याएका अपराधिक तत्वहरू र भारतमा अपराध गरी नेपालमा लुकेका अपराधीहरुलाई तह लगाएकोमा सर्वेन्द्र मित्रराष्ट भारतका छिमेकी क्षेत्र र भारतीय सुरक्षाकर्मीमाझ चर्चित रहे ।

नेपालमै उनले गरेका केही कामहरू अन्तर्राष्ट्रिय जगतमा पनि चर्चाका विषय बने, ती थिए फुटबलको म्याच फिक्सिङ र हुण्डी कारोबारी र हुण्डीका मतियारलाई ध्वस्त पार्नु । फुटबलको म्याच फिक्सिङ अनुसन्धान गरेवापत एसियन फुटबल फेडेरेशन (एएफसी) बाट उनले २०७४ असोज २७ गते विशेष सम्मान पाए । मलेसियाको क्वालालम्पुरमा आयोजित समारोहमा एएफसीका महासचिव ‘डाडो विन्डसोरजोन’ले म्याच फिक्सिङ पत्ता लगाएर एसियाली फुटबल जगतलाई अनुशासित राख्न योगदान गरेकोमा नेपाल प्रहरीकै प्रशंसा गरेका थिए । नेपाल प्रहरीले गरेजस्तो ‘म्याच फिक्सिङ अनुसन्धान’ अन्य देशमा पनि भएमा अन्तर्राष्ट्रिय खेल जगतको मुख्य विकृति सुधारिने चर्चा चल्यो ।

सर्वेन्द्रले इटालीमा सन् २०१४ मा भएको ‘सिभिल, पुलिस र मिलिटरी हाइलेवल ट्रेनिङ’मा प्रथम स्थान हासिल गरे । अमेरिकाको हवाइमा सञ्चालित ‘एड्भान्स सेक्युरिटी कोअपरेशन कोर्ष’मा पनि उनी प्रथम भएका थिए । यसैगरी, अमेरिकाको ‘न्यु मेक्सिको’मा सन् २००२ मा सञ्चालित ‘भिआइपी प्रोटेक्सन कोर्स’मा उत्कृष्ट नतिजा ल्याएपछि उनलाई त्यहाँका मेयर ‘लारी डेलगाडो’ले ‘अनररी सिटिजन’को सम्मानसमेत प्रदान गरेका थिए ।

‘ग्लोबल कम्पिटेन्सी’को आधारमा छनोट भई संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा काम गर्ने हालसम्मका दुईचार जना नेपाल प्रहरीमा सर्वेन्द्र पर्दछन् । उनले त्यहाँ ‘पुलिस डिभिजन’मा काम गरे । ‘दक्षिण सुडान’मा नयाँ मिसन स्थापना गर्न जाने ह्युमेनिटरियन ‘मार्क क्रोकर’को नेतृत्वको पाँच सदस्यीय समितिमा एक उनी थिए । यसैगरी, डार्फर मिसन ‘लिक्विडेट’ गर्ने महत्वपूर्ण जिम्मेवारीसमेत उनले निभाएका थिए । सन् २००१ मा संयुक्त राष्ट्रसङ्घको ‘बोस्निया हर्ज गोभिना’मा कार्यरत रहेका बखत ‘इन्डक्सन सेक्सन’का सर्वेन्द्र युएन कर्मचारीको छनोटका लागि बाह्य देशमा जाने गर्थे । पाकिस्तानका लागि ‘युएन पिस किपर’ छनौट गर्ने उनै थिए ।

सर्वेन्द्रलाई अनुमान हुनै नसक्ने संख्यामा प्रशंसा र सम्मान प्राप्त भएका छन् । उनले काठमाडौं, वीरगञ्ज, बारा, धनुषा लगायतका बिभिन्न स्थानमा सम्मान र पुरस्कार पाएका छन् । वीरगञ्जबाट फर्किने बेला उनलाई भव्य सम्मान गरिएको थियो । नेपाल सरकार र प्रहरीबाट उनलाई दिइएका बिभिन्न बिभुषण, पदक, अलङ्कार र ब्यवसायिक पुरस्कारका अतिरिक्त २०७४ मा आयोजित ११ औ महानगरीय प्रहरी दिवसको अवसरमा तत्कालिन प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालबाट उनी सम्मानित भए । उत्कृष्ट अपराध अनुसन्धान गरेबापत उनी पुरस्कृत भएका हुन् । लायन्स क्लव अफ इन्टरनेशनल ‘३ सय २५ बि एक’ नेपालको तेस्रो क्याविनेटबाट पनि उनलाई सम्मान गरिएको थियो । अनुसन्धान र साहसमा अब्बल भएकाले उनले यी सम्मान प्राप्त गरेका थिए ।

उनले अन्तर्राष्ट्रिय स्तरमा अमेरिका वासिङ्टन डीसी, युएइको दुबई लगायतका स्थानबाट पनि सम्मान र प्रशंसा प्राप्त गरे । यी सबै कुराले सर्वेन्द्रलाई स्वदेश तथा विदेश सबैतिर अनुसन्धानमा पोख्त, ब्यवस्थापनमा चुस्त, ब्यक्तिगत रुपमा योग्य र ब्यवसायिकतामा निपूर्ण प्रहरी अधिकृत प्रमाणित गर्दछ ।

प्रहरीको बाह्य छवि र सम्मान

सर्वेन्द्र आइजीपी भएपछि प्रहरी संगठनको प्रतिष्ठा बढ्दैछ । गत असारमा संयुक्त राष्ट्रसङ्घले न्युयोर्कमा आयोजना गरेको ‘चिफ अफ पुलिस समिट’मा नेपाल प्रहरीको प्रस्तुतिकरण र सिफारिश बेजोड रह्यो। सम्वद्ध पदाधिकारीलाई सम्पर्क गरी राष्ट्रसङ्घमा प्रहरीको भूमिका बढाउन ‘माइलस्टोन’ सावित भयो । गत मंसीरको पहिलो साता युएइमा आयोजित इन्टरपोलको ८७ औं महासभामा उनले चीन, मलेसिया, युएई, कतार लगायतका नेपालसँग राष्ट्रिय स्वार्थ र अपराधिक सञ्जाल जोडिएका मुलुकका बिभिन्न प्रहरी प्रमुखहरुसँग छुट्टाछुट्टै भेटघाट गरी द्विपक्षीय हित तथा सहयोग आदानप्रदानका विषयमा नयाँ दिशा कोरेका थिए । यसै समयमा इन्टरपोलको सहयोगले नेपालका दर्जनौं अपराधी समातिए । बिभिन्न १३ वटा खुङ्खार अपराधीलाई ‘रेड–नोटिस’ जारी हुने सफलता मिल्यो । विभिन्न ११ जना व्यक्तिविरुद्द ‘डिफ्युजन नोटिस’ जारी भएको छ । थुप्रै कुख्यात अपराधी नेपाल ल्याइएको छ । विभिन्न ८ प्रकारका नोटिस जारी गरी अन्तर्राष्ट्रिय रुपमै अभियुक्तको खोजी भएको छ ।

भर्खरै कतारसँग सुरक्षा सहयोग सम्झौतापत्र (एमओयु) भएको छ । यसै समयमा पहिलो अन्तर्राष्ट्रिय ‘डाटा प्रविधि तथा प्रहरी आधुनिकीकरण फोरम’मा नेपाल सहभागी हुन सक्यो । मित्रराष्ट्र चीनको ग्वान्जाओमा भएको पहिलो अन्तर्राष्ट्रिय फोरममा प्रहरीले आधुनिकीकरण तथा बिग डाटा प्रविधि प्रयोग गर्ने सम्बन्धमा प्रस्तुतीकरण गर्‍याे। इन्टरपोलको आयोजनामा हालै एसिया र प्यासिफिक क्षेत्रमा सेना र प्रहरीको संयुक्त तालिम सञ्चालन भयो । यस बीचमा देशमा बिमस्टेक, एसिया प्यासिफिक समिटजस्ता अन्तर्राष्ट्रिय सम्मेलन र इन्टरपोलका महत्वपूर्ण कार्यक्रम सफलतापूर्वक सम्पन्न भए । महिला एवं मानव तस्करी रोक्न र अनुसन्धान गर्न देश र विदेशबाट सहज सूचनाका लागि प्रहरी प्रधान कार्यालयमा ११७७ नम्वरको निशुल्क टोलफ्री फोन स्थापना गरिएको छ । सयौं पीडितलाई भारत र तेश्रो मुलूकबाट उद्धार गरी दोषीमाथि कार्वाही भएको छ ।

हाल नेपाल प्रहरीले दुई अभूतपूर्व अन्तराष्ट्रिय सम्मान प्राप्त गरेको छ । गत कार्तिक २८ गते नेपाल प्रहरीले सूचना प्रविधिको अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सरकारी संस्थालाई जापानको ‘एसियन ओसिनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेशन’ले प्रदान गर्ने ‘डिजिटल गभर्मेन्स अवार्ड’ यस वर्ष नेपालले प्राप्त गरेको छ । जापानको टोकियोमा गत कात्तिक २२ गते आयोजित संस्थाको सम्मेलनमा कम्प्युटर एशोसिएसन अफ नेपालका कार्यकारी सदस्य डा. अभिजितमार्फत् उक्त अवार्ड नेपाल प्रहरीलाई दिइएको हो । सो अवार्ड सर्वेन्द्र आफैंले प्राप्त गरेका थिए । प्रहरीले सूचना प्रविधिको उच्चतम प्रयोग गरेको आधारमा उक्त अवार्ड प्राप्त भएको हो ।

यसैगरी, मंसीर ६ गते नेपाल प्रहरीले संयुक्त राष्ट्रसङ्घको वातावरणीय कार्यक्रमअन्तर्गत ‘एसिया इन्भारनमेन्ट इन्फोर्समेन्ट अवार्ड, २०१८’ प्राप्त गर्‍याे । थाइल्याण्डको बैंककमा भएको संयुक्त राष्ट्रसङ्घको सम्मेलनबाट ‘इन्टेग्रिटी’ विधामा प्रदान उक्त पुरस्कार नेपाल प्रहरीको ‘केन्द्रीय अनुसन्धान ब्युरो’ले प्राप्त गरेको हो । एसियामा अन्तरदेशीय वातावरणीय अपराधको विरुद्धमा कार्य गर्ने सरकारी कार्यालय, संस्था, व्यक्ति तथा समूहलाई सार्वजनिक रुपमा बितरण गरिने उक्त पुरस्कार सन् २०१५ र २०१७ गरी दुईपटक वितरण भइसकेको छ । तेस्रोपटक हालको पुरस्कार नेपाल प्रहरीले पायो । नेपाल प्रहरीले वातावरणीय तथा वन्यजन्तु अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले उक्त पुरस्कार प्रदान गरिएको हो । ‘दक्षिण एसिया’का प्रहरीलाई यी दुवै पदक पहिलोपटक प्राप्त भएका हुन् । यी विषयहरू नेपाल र नेपालीका लागि गौरवका विषय हुन् ।

अन्तमा, बिगतमा आफ्नो योग्यता प्रदर्शन गरेका आइजीपी सर्वेन्द्रको प्रयासले छोटो समयमै प्रहरीको प्रभाव अन्तर्राष्ट्रिय क्षेत्रमा अभूतपूर्व रूपमा फैलिदो छ । तर, दुखको कुरा यसै बीचमा ‘निर्मला पन्त’को एउटा केशमा भने सफलता प्राप्त भएको छैन । १४ सय ५९ मध्येको एउटा यो मुद्दालाई इंगित गर्दै केही तत्व आइजीपी सर्वेन्द्रको राष्ट्रिय, अन्तर्राष्ट्रिय छवि, समग्र कार्य सम्पादन र प्रतिष्ठामा धक्का पुर्‍याउने चेष्टा गरिरहेका छन् । आवश्यक समयमा यो मुद्धामा पनि सफलता प्राप्त हुने नै छ । प्रहरीलाई स्वतन्त्र रुपमा काम गर्न दिउँ, अनुसन्धानमा धैर्यता राखौं । आशा गरौं, स्वदेश तथा विदेशमा अब्बल छवि बनाएका सर्वेन्द्रले इतिहासलाई साक्षी राख्दै निर्मला प्रकरणमा पनि सफलता प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्