मेलम्ची बोर्ड र सीएमसीका प्रतिनिधिबीच सिंगापुरमा वार्ता

Melamchi01
लाेकपाटी न्यूज

काठमाडौं, २३ माघ । मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउने उद्देश्यले मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीका प्रतिनिधिहरुसँग सिंगापुरमा वार्ता भइरहेको छ ।

सीएमसी कम्पनीले राखेका केही मागहरुका विषयमा छलफल भइरहेको छ । मेलम्चीको काम छिटो भन्दा छिटो सक्न सकेसम्म यही ठेकेदार कम्पनीबाट काम गराउने नभए विकल्पका रुपमा अन्य कदम चाल्ने विषयमा खानेपानी मन्त्रालयले गृहकार्य गरिहेको छ ।

आयोजना समाप्त नहुँदै काम छाडेर भागेको इटालियन कम्पनी सीएमसीलाई ठेक्का खारेजी किन नगर्ने भन्दै त्यसको कारण भए १४ दिनभित्र जवाफ पठाउन सरकारले गत माघ ६ गते पत्राचार गरेको थियो । भोलिसम्म थप छलफल गर्न सिएमसीसँग वार्ता भइरहेको छ । निकास निकाल्न सिएमसीसँग सिंगापुरमा पहिलो चरणको वार्ता भइरहेको हो ।

यसअघि औपचारिक र अनौपचारिक रुपले सीएमसीका प्रतिनिधिहरुसँग छलफल भइरहेको थियो । दिल्लीस्थित नेपाली र इटालीका राजदूतबीच यस विषयमा छलफलसमेत भएको थियो ।

यसअघि सीएमसीलाई पठाइएको पत्रमा मेलम्ची खानेपानी समितिलाई कुनै जानकारी नदिई आयोजनास्थल छाडेर भागेको उल्लेख गर्दै यसका कारणसहित जवाफ दिन भनिएको थियो । त्यसैगरी आर्थिक रूपमा टाट पल्टेको भन्दै खारेजीका लागि इटाली सरकारलाई सीएमसीले निवेदन दिएको विषयमा स्पष्ट पार्न पनि उल्लेख गरिएको थियो ।

ठेकेदार कम्पनी सीएमसीसँग कुनै सहमति नभए सरकारले कानूनी व्यवधान नआउने गरी औपचारिक रुपमा ठेक्का सम्झौता तोड्ने छ ।