‘नेपाल ‘फेलियर-स्टेट’ हुने खतरा छ’

Kishor Pradhan
लाेकपाटी न्यूज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बैंकको व्याजदर नघटे उद्योगी–व्यवसायीहरु यसैलाई ईस्यु बनाएर आन्दोलित हुनुपर्ने अवस्था आउनसक्नेतर्फ सरकारको ध्यानाकार्षण गराएका छन् ।

रिपोर्टर्स् क्लबमा आयोजित कार्यक्रममा उनले भने, ‘विराटनगरबाट सुरु भएको असन्तुष्टि अहिले देशको सबै ठाउँमा देखिएको छ । उद्योगी तथा व्यवसायीहरु आन्दोलित हुने अवस्था सिर्जना भएको छ । भर्खरै हामीले विराटनगरमा उद्योगमन्त्री मातृका यादव र प्रदेश नम्बर १ का मन्त्री र एक नम्बर प्रदेशका १६ वटै जिल्लाका उद्योग व्यवसायीहरुको उपस्थितिमा छलफल गर्यौं । माघ मसान्तभित्र सहमतिको वातावरण बनाउने भनिएको छ । अब सरकारले छिट्टै यो समस्या समाधान गर्न पहल गरोस् ।’

प्रधानले मुलुकमा व्यापार घाटा आकाशिएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘नेपाललाई चाहिने विस्कुट र चाउचाउ देशकै उत्पादनले पुग्छ, तर, बाहिरबाट आयात भइरहेको छ । घरेलु र स्वदेशी उद्योगलाई प्रर्वद्धन गर्नुपर्छ । यतातर्फ सरकारले सोच्नुपर्छ ।’

देशको आर्थिक अवस्था यस्तै रहि रहे नेपाल असफल राष्ट्र बन्ने पनि उनले खतरा औंल्याए । उनले भने, ‘आर्थिक अवस्था यस्तै रहिरहे नेपाल ‘फेलियर–स्टेट’ हुन्छ । त्यतातर्फ सबैले ध्यान दिन जरुरी छ ।’ उनले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनुपर्ने सवालमा नेपाल सरकारकै मन्त्रीहरुवीच कुरा बाझिएकोप्रति टिप्पणी गर्दै भने, ‘कुन मन्त्रीले के बोल्ने ? भन्ने कुरा पोलिसी लेभलमै राख्नुपर्छ ।’

मार्चमा लगानी सम्मेलन हुन लागिरहेको सुनाउँदै उनले योभन्दा अघि भएको लगानी सम्मेलनको प्रतिफल के आयो ? भन्नेबारे पनि फलो–अप गर्नुपर्ने बताए । उनले भने, ‘विदेशी लगानी भित्र्याउनु राम्रो कुरा हो । त्यसका लागि नेपालमै लगानीको वातावरण बनाउनुपर्छ । यहाँकै उद्योगीहरुलाई प्रोत्साहित गर्नुपर्छ ।’

उनले नेपालमा औषधी उत्पादन प्रशस्त भएको सुनाए । प्रधानले थपे, ‘नेपालमा अधिक औषधी उत्पादन भएका छन् । तर, अण्डर टेबल रिलेशनका कारण स्वदेशी उत्पादन खपत हुन सकिरहेको छैन ।’ नेपाल कृषि प्रधान देश भनिए पनि १०० अर्बभन्दा बढिको भारतबाट कृषिका वस्तुहरु नेपाल आयात हुने गरेको उनको भनाइ थियो । उनले आफ्नो मुलुकमा साना तथा मझौला उद्योग (एसएमई) हरूको विकास र तिनको प्रवर्द्धनका लागि ध्यान दिनुपर्ने सुझाव दिए ।

प्रधानले सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने धारणा राखे । उनले भने, ‘अनि मात्रै आर्थिक विकास हुन्छ । समृद्धिको सपना पूरा हुन्छ । दुवै पक्षबीच विश्वासको वातावरण बनाउनुपर्छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्