नेता अधिकारीको स्वास्थ्यमा सुधार नआएपछि ह्याम्स सारियो

varatmohan
लाेकपाटी न्यूज

काठमाडौं, २५ माघ । मेडिसिटी हस्पिटल, नख्खुमा उपचार पूर्व अर्थमन्त्री तथा नेकपा नेता भरतमोहन अधिकारीलाई ह्याम्स अस्पताल, धुम्बराहीमा सारिएको छ ।

एक महिनादेखि बिरामी उनको मेडिसिटी हस्पिटलको उपचारबाट अपेक्षित लाभ नमिलेपछि ह्याम्स सारिएको नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए । उनले मेडिसिटीमा अधिकारीको उपचारमा लापरबाही भएको आरोप समेत लगाए ।

नेता थापाले अधिकारीलाई ह्याम्स सारिएको जानकारी दिँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बितेको एक महिनाको अवधिलाई विचार गर्दा मेडिसिटीले उहाँको उपचारमा घोर लापरबाही र गैरजिम्मेवार रवैया प्रदर्शन गरेको अनुभूति जो कोहीलाई भएको छ ।’

८२ वर्षीय वरिष्ठ राजनीतिज्ञ र जनप्रिय पूर्व अर्थमन्त्रीको उपचारबारे आवधिक रूपमा जनतालाई नै जानकारी गराउनुपर्नेमा परिवारजनलाई नै गुमराहमा राख्ने अस्पतालको जवाफदेहीताबारे बुझ्न समेत मुस्किल परेको थापाले उल्लेख गरेका छन् ।