दैनिक ३ करोड लिटर पानी काठमाडौं आउँदै, महरा र बिनाले गरे शुभारम्भ

लाेकपाटी न्यूज

काठमाडौं, भदौ २ । मेलम्ची खानेपानी आउनु अघि नै काठमाडौंबासीले दैनिक थप तीन करोड लिटर पानी पाउने भएका छन् ।

खानेपानी मन्त्री बीना मगरको निर्देशनमा आयोजना कार्यान्वयन निर्देशनालयले सुन्दरीजलमा प्रशोधन प्लाण्ट स्थापित गरी बागमतिको पानी काठमाडौं ल्याउने भएको हो ।

शनिबार एक औपचारिक कार्यक्रमका बीच सभामुख कृष्णबहादुर महराले महाकालस्थित थोक वितरण केन्द्रमा चाँबी घुमाएर राजधानीमा थप पानी वितरणको शुभारम्भ गरे ।

योसँगै अब उपत्यकाको महाकाल थोक वितरण केन्द्रबाट जोरपाटी हुँदै बागबजार सम्मका धाराहरुमा पानी वितरण नियमित हुने छ । यो थप पानीले काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट जडान भएका दुई लाख १६ हजार धाराहरुमध्ये करिब ७० हजार धारामा थप पानीको आपूर्ति हुने छ । यो पानी हप्तामा पाँच दिन दैनिक दुई घण्टाको दरले राजधानीबासीले पाउने भएका छन् ।

यो पानीबाट महाकालस्थित पानीपोखरीको सेवा क्षेत्र कपन, सरस्वतीनगर, बौद्ध, जोरपाटी, चावाहिल, हाँडीगाउँ, ज्ञानेश्वर, नक्साल, बानेश्वर, अनामनगर, पुतलीसडक, डिल्लीबजार, बागबजार, माइतीघर, त्रिपुरेश्वर र नयाँ सडक क्षेत्रका ८ लाख ४० हजार जनता प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

अपरान्ह सुन्दरीजल पुगेको सभामुख महरा र खानेपानी मन्त्री बीना मगरले मेलम्ची सुरुङ र प्लाण्टको निरीक्षण गरेका थिए । आयोजना कार्यान्वयन निर्देशनालयका कर्मचारीहरुले पानी प्रशोधन प्रणालीका बारेमा सभामुख र मन्त्रीलाई बिस्तृत जानकारी गराएका थिए ।

क्षेत्रगत निरीक्षणपछि महाकालमा आयोजित औपचारिक कार्यक्रममा सभामुख महराले पानी वितरणको उदघाटन गरे । कार्यक्रममा बोल्दै सभामुख कृष्ण बहादुर महराले उपत्यकाबासीका लागि खानेपानीको समस्या रहँदै आएकोमा राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई समयमा नै सम्पन्न गर्न खानेपानी मन्त्रालयको अग्रसरताका लागि धन्यवाद दिए ।

“मेलम्चीको पानी आउनुअघि उपत्यकाबासीहरूलाई तत्काल राहत दिने उद्देश्यले वाग्मतीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पूर्ण प्रशोधन गरेर प्रतिदिन थप ३ करोड लिटर प्रशोधित पानी घरघरमा पु¥याउने कार्यको विधिवत शुभारम्भ गर्न पाउँदा मलाई ज्यादै खुशी लागेको छ ।”

महराले भने, “यो उपलब्धि प्राप्तिका लागि खानेपानी मन्त्रीज्यू, मन्त्रालयका पदाधिकारीहरू र मन्त्रालय मातहतका निकायहरूका पदाधिकारीहरूले गर्नुभएको अथक प्रयास र जनताको निरन्तर खबरदारी सार्थक भएको छ । मलाइ आशा छ, दशैँअघि नै मेलम्चीको प्रशोधित पानी उपत्यकाका घर–घरमा पु¥याउने दिशामा यो एउटा कोशेढुङ्गा साबित हुनेछ ।”

खानेपानी मन्त्री बीना मगरसहित सभामुख महराले सुन्दरीजलस्थित प्लान्ट्को निरीक्षण गरेपछि महाकालमा औपचारिक कार्यक्रममार्फत मन्त्री मगरले उपत्यकावासीको पानीको सपनामा एक चरण उपलब्धि प्राप्त गरेको बताइन् ।

खानेपानी मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा पानी ल्याउने कार्य करीब अन्तिम चरणमा पुगे पनि त्यसअघि नै सुन्दरीजलबाट वागमतिको पानी अहिलेको व्यवस्थाबाट राजधानीका ७० हजारभन्दा बढी धारामा साताको पाँच दिन प्रशोधित पानी आउने वितरण गरिने बताइन् ।

जनताको आधारभूत अधिकारको रूपमा रहेको खानेपानीमा पहूँचको विषयलाई मन्त्रालय र आफूले गम्भीरतापूर्वक लिएको बताउँदै मन्त्री मगरले अबको केही समयपछि मेलम्चीको पानीसमेत यसै प्रणालीमार्फत् भित्रिने जानकारी दिइन् ।

अहिले बाग्मतीको पानीलाई अथक प्रयायपछि ल्याउन सफल भएको बताउँदै मन्त्री मगरले हप्तामा अझै बढी पानी थप्न सकिने सम्भावाना हेर्न समेत मातहतका निकायलाई निर्देशन दिइन् ।

बाग्मतीको पानी राजधानी पुर्याउन निकै ठूला चुनौतीसँग जुध्नु परेको बताउँदै मन्त्री मगरले डेढ महिना निरन्तर पाइप पखाल्ने काम गरेपछि वितरण सम्भव भएको जानकारी दिइन् ।

खानेपानी मन्त्रालयको पहिलो प्राथमिकता सबै जनतालाई आधारभूत खानेपानीमा पहुँच पु-याउने रहेको बताउँदै मन्त्री मगरले विश्व बजारको सम्भावनालाई समेत हेरेर हिमालको पानी बिक्री गरी राजश्वमा योगदान पुर्याउने समेत लक्ष्य भएको बताइन् । “अहिले मन्त्रालय मातहतका निकायले यसबारेमा अध्ययन गरिरहेका छन् ।” मन्त्री मगरले भनिन्, ‘जलश्रोतको धनी देश नेपालले जलश्रोतको व्यापारबाट जनताका आधारभूत आवश्यकता पुरा गर्न उल्लेख्य श्रोत जुटाउने सम्भावना प्रचुर छ । यसलाई सकारात्मक रुपमा हेरिनुपर्दछ ।”

कार्यक्रममा आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक तिरेश खत्रीले आयोजनाको प्रगति विवरण प्रस्तुत गरेका थिए । निर्देशनालयले थोक वितरण प्रणाली अन्तर्गतको ११।०५ किमी लामो सुन्दरीजल–धोबीखोला (धोबीखोला पुल) खण्डको फ्लसिङ गर्ने कार्य सम्पन्न गरिसकेको उनले जानकारी दिए ।

“मेलम्चीको पानी प्रशोधन गर्ने कुल ८।५ करोड लिटर प्रतिदिन प्रशोधन क्षमता भएको सुन्दरीजलस्थित प्रशोधन केन्द्र तयारी अवस्थामा छ” उनले भने ।