प्रहरीको अभियान : विद्यार्थीलाई ट्राफिक कक्षा

traffic police
लाेकपाटी न्यूज

चितवन २५ माघ । जिल्लाका मन्टेश्वरी शिक्षा लिइरहेका बालबालिकालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ट्राफिक नियम सिकाउन थालेको छ ।

निजी तथा सामुदायिक विद्यालय र कलेजमा अध्ययनरत विद्यार्थीलाई ट्राफिक नियमबारे शिक्षा दिँदै आएको ट्राफिकले मन्टेश्वरीका बालबालिकालाई पनि ट्राफिक शिक्षा दिन थालेको हो ।

‘ट्राफिक शिक्षा’ कार्यक्रममार्फत बालबालिकालाई ट्राफिक नियमका बारेमा सिकाउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख बेदप्रसाद गौतमले जानकारी दिए । पहिलो दिन भरतपुरको मदर प्राइड मन्टेश्वरीका करिब ६० जना बालबालिकालाई ट्राफिक शिक्षा दिइएको छ ।

गौतमले प्रत्यक साता कम्तिमा एक दिन एउटा मन्टेश्वरीमा ट्राफिक शिक्षा दिने योजना बनाएको बताए । उनले भने, “चितवनका सबै मन्टेश्वरी, विद्यालयमा र कलेजमा पुग्ने हाम्रो लक्ष्यसंगै जानकारीमूलक भिडियो र बालबालिकासँग अन्तरक्रिया गरेर उनीहरुलाई ट्राफिक शिक्षा दिइएको छ ।”

गौतमका अनुसार भविष्यका सडक प्रयोगकर्तालाई अहिले सिकाउँदा भविष्यमा समेत सडक सुरक्षित हुनेछ । बालबालिकाले आफूले सिकेका कुरा व्यवहारमा उतार्नुका साथै अभिभावकलाई समेत सिकाउँछन् ।

कार्यालयले शिक्षकमार्फत समेत बालबालिकालाई सिकाउने योजना बनाएको छ । अहिले विद्यालयको पाठ्यपुस्तकमा सडक नियम र अपनाउनुपर्ने सावधानीका विषय समेटिएको छैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्