‘सरकारका राम्रा काम पनि देख्नुस्, लेख्नुस्’ : मन्त्री अर्याल

Padma Aryal-12
लाेकपाटी न्यूज

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले सरकारले गरेको राम्रो कामसँग आत्तिएर सरकारका विरुद्धमा अनावश्यक प्रचार गरिएको बताएकी छिन् ।

तुलसीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको पवर्तित लेखबेंशी भीरकोट, तम्कीकोट गल्याङ, कारीकोट कालिगण्डकी, आलमदेवी कालिगण्डकी साना किसान कृषि सहकारी संस्थाहरुको शनिबार गल्याङमा व्यवस्थापन हस्तान्तरण गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

सरकारलाई अप्ठ्यारोमा पार्न केही समूह लागिरहेको भन्दै मन्त्री अर्यालले सरकारले सबै कुराको सामना गरेरै भए पनि ‘सुखी नेपाली समृद्ध नेपाल’को अभियानलाई पुरा गरेरै छाड्ने बताइन् । उनले भनिन्, ‘सरकारले गरेका हरेक कामको विरोध गर्नुको कुनै अर्थ छैन। के विकासका योजना ल्याउनु नाजायज हो ?’ उनको प्रश्न थियो ।

समाज नकारात्मक दिशातर्फ अगाडि बढेकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री अर्यालले सरकारले गरेको राम्रो कामको पनि विरोध गर्नु दुःखद भएको बताइन् । सरकार भू–उपयोग नीति ल्याउने तयारीमा रहेको बताउँदै मन्त्री अर्यालले भू–उपयोग सम्बन्धी स्पष्ट नीति नहुँदा खेतीयोग्य जमिन मासिदै गएको र गाउँघरमा जमिन बाँझो हुने क्रम बढेको बताइन् ।

जनताको स्वामित्वमा भएको जमीन सके सरकार आफैले भाडामा लिएर काम गर्ने र अरु कसैले चाहे भाडामा दिएर भएपनि खेतीयोग्य जमीनको सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो। आफूले जमीन बाँझो राख्न नपाउने कुरा गर्दा अनावश्यक रुपमा सामाजिक सञ्जालमा टिकाटिप्पणी भएकोसमेत उनले बताइन् । ‘कसैले परिश्रम गरिरहे पनि गरीब भइरहने र केही व्यक्ति बिना परिश्रम धनी हुने कुराको अन्त्य हुनुपर्छ। यसका निम्ति तपाईं हामी उत्पादनमा लाग्नैपर्छ’ मन्त्री अर्यालले भनिन् ।

देशको विकासका लागि छिमेकीको मूख ताक्नुपर्ने अवस्था आउनु दुःखद भएको बताउँदै उनले देशको विकासको लागि सबै एकै ठाउँमा आउनुपर्ने बताइन् । अर्को प्रसङ्गमा मन्त्री अर्यालले सरकारले कुनै पनि अपराधीलाई संरक्षण नगर्ने बताउँदै निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न व्यक्तिलाई कुनै पनि हालतमा सरकारले कारबाही नगर्ने बताए। सरकारले अपराधीलाई जसरी भएपनि कारबाही गरेरै छाड्ने बताउँदै अपराधमा संलग्न कसैले उन्मुक्ति नपाउने उनको भनाइ थियो।

यसैगरी मन्त्री अर्यालले किसानले उत्पादन गरेका वस्तुको बजारीकरणको जिम्मा सरकारले लिने बताइन् । देशमा बढ्दो बेरोजगारी समस्या र गरिबी न्यूनीकरणका लागि सबै जनतालाई उत्पादनसँग जोड्नुपर्नेमा जोड दिँदै मन्त्री अर्यालले स्रोत साधनको सही सदुपयोग गर्न नसके आत्मनिर्भर बन्न नसकिने बताइन् । यसका लागि गाउँ–गाउँबाट अभियान थाल्नुपर्ने उनको भनाइ थियो।

किसानले उत्पादन गर्ने र किसानले उत्पादन गरेको वस्तुको बजारीकरणमा सरकारले सहयोग गर्ने उनले बताइन् । त्यसका निम्ति मन्त्रालयले कार्यक्रमको तयारी गरिरहेको उनले बताइन् । साना किसान सहकारीले अब ठूला उद्योग र हाइड्रो पावरमा लगानी गर्नेतर्फ लाग्न मन्त्री अर्यालले आग्रह गरिन् । सहकारी गरिबी निवारणको प्रमूख माध्यम भएको भन्दै मन्त्री अर्यालले आजका दिनमा रहेका साना किसान निकट भविष्यै ठूला किसान बन्ने गरी काम गर्न आग्रह गरिन् ।

कार्यक्रममा बोल्दै साना किसान कृषि सहकारी संघका अध्यक्ष खिमबहादुर पाठकले देशैभरिका साना किसानलाई समेटेर आर्थिक रकम कम भएका किसानलाई यस अभियानमा जोडेर उत्पादनका क्षेत्रमा लगाउने बताएकी थिइन् ।