धुर्मुस-सुन्तलीको पहल सकारात्मक : मन्त्री विश्वकर्मा

jagat-bahadur BK
लाेकपाटी न्यूज

चितवन, २७ माघ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले धुर्मुस-सुन्तली फाउण्डेसनको पहलमा बन्न लागेको अन्तर्राष्ट्रिय रङ्गशाला एउटा सकारात्मक कदम भएको बताएका छन् ।

चितवनमा आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री विश्वकर्माले भरतपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका विषयमा सरकारले सकारात्मक रुपमा हेरिरहेको बताएका हुन् । उनले भने, ‘सरकारी, निजी र गैरसरकारी क्षेत्रमा भएका स्रोत साधनको परिचालन गरेर संरचना निर्माण गर्ने कुरालाई सकारात्मक ढङ्गबाट लिनुपर्छ ।’

खेल क्षेत्रलाई स्वस्थ र मर्यादित नबनाएसम्म खेल क्षेत्रको अपेक्षाकृत विकास र विस्तार हुन नसक्ने उनले बताए । उनले खेल क्षेत्रलाई मर्यादित नगरेसम्म नेपाली समाजको गरिमा र प्रतिष्ठानसँगै देशको गरिमा र प्रतिष्ठा जोगाउन गाह्रो हुने धारणा राखे ।

खेल क्षेत्रमा अहिले जुन ऐतिहासिक विरासत हासिल भएको छ त्यसलाई जोगाउनका लागि पनि खेल क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउन आवश्यक रहेको उनको भनाइ छ । खेल सङ्घमा विवाद र समस्या रहेकाले ती विकृतिलाई नष्ट गरेर खेल क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउन कार्य प्रारम्भ गरेको बताए ।

विवादमा रहेका सङ्घलाई राष्ट्रिय प्रतियोगितामा सहभागी नगराउने नीति मन्त्रालयले लिएको बताउँदै उनले सङ्घमा भएका विवाद समाधान गरेर खेल क्षेत्रको विकास गरिनेछ भने ।