जमिन ७ भागमा वर्गीकरण, कुन जमिन कुन वर्गमा ?

Jagga01
लाेकपाटी न्यूज

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालयले जग्गाको नयाँ वर्गीकरण गर्ने भएको छ । मन्त्रालयका अनुसार प्रस्तावित भूउपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा जमिनलाई नौ भागमा वर्गीकरण गरिएको छ ।

कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यवसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी, खोला, ताल क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र र सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्रका रूपमा जमिन विभाजन गरिएको मन्त्रालयले जनाएको छ । यसअघि जग्गालाई जम्मा चार किसिमले वर्गीकरण गरिएको थियो । अब्बल, दोयम, सीम र चाहार गरी चार प्रकारको जग्गा प्रचलनमा थियो ।

भूमि उपयोग गर्ने उद्देश्यबाट यस्तो विभाजन गरिएको जानकारी दिँदै भूमिव्यवस्था तथा सहकारी मन्त्रालयका प्रवक्ता एवं सह–सचिव जनकराज जोशीले यसरी वर्गीकरण गरिएका जग्गा अर्को प्रयोजनका लागि उपयोग गर्न नपाइने बताए । उनका अनुसार जुन वर्गमा वर्गमा बाँडिएको छ, त्यही प्रयोजनको लागि उपयोग गर्नुपर्छ । अब कृषि क्षेत्रमा घर बनाउन नपाइने उनले बताए ।

भूउपयोग योजना तयार पर्न ग्रामीण र सहरी क्षेत्रको बेग्लाबेग्लै योजना तर्जुमा गर्ने ऐनमा व्यवस्था छ । औद्योगिक करिडोर, विशेष आर्थिक क्षेत्र, राष्ट्रिय परियोजना, अन्तरप्रदेश फैलिएका परियोजना, संरक्षणयोग्य राष्ट्रिय महत्वका प्राकृतिक तथा भौतिक सम्पदा देखिने गरी भूउपयोग योजना तयार पार्नु पर्ने पनि ऐनमा व्यवस्था छ ।

नयाँ व्यवस्थाका अनुसार कुनै स्थान वा बस्ती विपद वा प्राकृतिक प्रकोपको कारण असुरक्षित भएमा त्यस्तो क्षेत्रलाई असुरक्षित वा अव्यवस्थित स्थान घोषणा गरेर मात्रै भूउपयोग परिवर्तन गर्न सकिने छ ।

वर्गीकरण गरिएका क्षेत्रलाई विभिन्न उपक्षेत्रमा समेत विभाजन गर्न पनि सकिने छ । विधेयकमा संघीय भूउपयोग परिषद् गठनको व्यवस्था पनि छ ।

यीबाहेक अन्य कुनै भूउपयोग क्षेत्रको वर्गीकरण गर्न आवश्यक ठाने प्रदेश वा स्थानीय तहले संघीय भूउपयोग परिषद्मा लेखी पठाउनु पर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्