नेकपाको सर्कुलर : ‘जनयुद्ध दिवस भव्य रुपमा मनाऔं’

Communist_Party_of_Nepal
लाेकपाटी न्यूज

काठमाडौं, २८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले फागुन १ गते जनयुद्ध दिवस मनाउने भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएपछि एकीकृत पार्टीले जनयुद्ध दिवस मनाउँछ कि मनाउँदैन भन्ने चासों देखिएको थियो ।

आइतबार बुटवलको कार्यक्रममा बोल्दै नेकपाका महासचिव विष्णु पौडेलले जनयुद्ध दिवस मनाउन पार्टीका सबै तहलाई आग्रह गरेका थिए । पौडेलको आग्रहपछि सबै जिल्ला र प्रदेश कमिटीले जनयुद्ध दिवस मनाउने तयारी थालेका छन् । जिल्ला–जिल्लामा जनयुद्ध दिवसको तयारी भइरहेको नेकपा स्रोतले बतायो ।

सत्तारुढ नेकपानिकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले फागुन १ गतेको जनयुद्ध दिवसलाई भव्य रुपमा मनाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । अनेरास्ववियुका अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी) ले संयुक्त विज्ञप्ति जारी गरी महान् जनयुद्ध र जनआन्दोलन दिवस भव्य रुपमा मनाउने निर्णय गरेका हुन् ।

त्यसैगरि नेकपाको गण्डकी प्रदेशले पनि जनयुद्ध दिवसमा सार्वजनिक समारोह आयोजना गर्ने भएको छ । कार्यक्रममा गण्डकी प्रदेशका मूख्यमन्त्री एवं नेकपाका प्रदेश ईन्चार्ज पृथ्वीसुब्बा गुरुङले सम्बोधन गर्नेछन् ।

नेकपाको सांस्कृतिक मोर्चा जनसांस्कृतिक महासंघ, नेपालले पनि जनयुद्ध दिवस विविध कार्यक्रमका साथ सम्पन्न गर्दैछ । महासंघले जनयुद्ध दिवसका दिन काठमाडौंमा प्रवचनका साथै सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमलाई नेकपाका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

पार्टी महासचिवको सर्कुलरपछि नेकपाका सबै भातृ संगठन र जिल्ला कमिटीहरु पनि जनयुद्ध दिवसको तयारीमा जुटेका छन् । पार्टी एकता अन्तिम टुंगोमा पुग्न नसकेको बेला नेकपाले जनयुद्धलाई व्यवहारिक रुपमै स्वीकार गरेको छ । यसले पार्टी एकतामा थप बल मिल्ने नेताहरु बताउँछन् ।