पर्वतमा लोप हुँदै घुमाउने घर

लाेकपाटी न्यूज

पर्वत, ६ भदौ । ग्रामीण भेगका बासिन्दाले परम्परागत रुपमा बनाएका खरले छाएका घुमाउने घर विस्तारै लोप हुँदै गएका छन् ।

घुमाउने घरभित्र अँध्यारा, धेरै कोठा नहुने र छानो छाउन वर्षेपिच्छे झन्झट हुने भएकाले घुमाउने घरप्रतिको आकर्षण घट्दै गएको हो । त्यसो त ग्रामिण क्षेत्रमा समेत आधुनिक सुविधासम्पन्न घर बनाउने चलन बढेकोले परम्परागत घर लोप हुँदै गएको बताइन्छ । केही वर्ष अघिसम्म पर्वतका विभिन्न गाउँमा बाक्लै देखिने घुमाउने घर अहिले एकाध देखिन्छ । हरेक गाउँका बासिन्दा शहर बजारतर्फ आकर्षित हुन थालेपछि र गाउँ–गाउँमा यातायात सुविधा पुगेपछि अहिले आधुनिक घर बन्न थालेका छन् ।

केही वर्ष अघिसम्म गाउँमा अधिकांश घुमाउने घर थिए । तर अहिले सबैले ती घर भत्काएर फरक प्रकृतिका बनाउन थालेका छन् । घुमाउने घर बस्न न्यानो र स्वास्थ्यको दृष्टिले लाभदायक हुने भए पनि पछिल्लो समयमा धेरै कोठा भएको आधुनिक घर बनाउने प्रचलन आएपछि लोप हुँदै गएको बताउँछन् कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका बासिन्दा हेमराज सापकोटा । “सय वर्ष पहिलेका घर अहिले लोप भइसकेका छन्, भएका केही घर पनि उपयोगमा छैनन्, जीर्ण भइसकेका छन्,” सापकोटा भन्छन् ।

मानिस उज्यालो, फराकिला र आरामदायी घरमा बस्न रुचाउन थालेकाले घुमाउने घर लोप हुँदै गएको स्थानीय रामकृष्ण सापकोटाले बताए । जस्तापाताको व्यापक प्रयोग, सुलभरुपमा पाइने र एकपटक छाएपछि बीसौँ वर्ष रहने हुनाले पुराना घर उपयोगविहीन हुन थालेको उनले बताए ।

डेढ दशकअघिसम्म पर्वतका विभिन्न ठाउँमा सयौँ घुमाउने घर थिए । अहिले औलामा गन्न सकिने छन् स्थानीय वृद्ध चिन्तामणि सुवेदीले भने । सवै क्षेत्रमा यातायातको सुविधा पुगेपछि सिमेन्ट, बालुवा र रड सजिलै उपलब्ध हुने भएकाले गाउँमा पक्की घर निर्माण गर्ने प्रचलन बढेको छ ।

पर्यटकको पर्खाईमा ऐतिहासिक पैँयुकोट दरबार

ऐतिहासिक महत्वको चौबिसे पैंयुराज्यको दरबार ओझेलमा परेको छ । महाशिला गाउँपालिका–१ होस्राङ्गदीस्थित सो दरबार उचित संरक्षण र प्रचारको अभावमा ओझेलमा परेको हो । सो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रयास थालिएको छ ।

धार्मिक रुपमा पनि महत्वपूर्ण पैँयुकोटमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटकीय क्षेत्रका रुपमा विकास थालिएको हो । पाँच सय वर्ष पुरानो दरबार र कालिका मन्दिरलाई पैँयुक्षेत्रको ऐतिहासिक सामग्रीसहितको सङ्ग्रहालय बनाउने र पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने उद्देश्यले अभियान थालिएको हो । एक वर्षभित्रमा सङ्ग्रहालयका लागि भवन निर्माणको काम थालिने पैँयुकोट संरक्षण समितिका पूर्वअध्यक्ष टीकाराम भुसालले जानकारी दिए ।

“ऐतिहासिक र धार्मिक तथा पर्यटकीय महत्वको क्षेत्र भएकाले यसको विकास र प्रर्वद्धनको काम थालिएको छ,” उनले भने । यसलाई मध्य दक्षिण पर्वतको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य छ ।

पाँच सय वर्ष पहिले सेन राजाले बनाएको मन्दिर र अग्लो डाँडा रहेकाले दृश्यावलोकन तथा घरबास क्षेत्रका रुपमा विकास गरी शालिग्रामशिलादेखि पैँयुकोट हुँदै गोर्लाङको लेकसम्म पदयात्रा मार्ग बनाउन सकिन्छ । यसलाई दक्षिण एशियाकै पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुवारी तथा डहरे, पञ्चासे हुँदै पोखरासम्मको पदयात्रा मार्ग बनान सकिन्छ । पर्वतको पर्यटन गुरुयोजनामा समेत पञ्चासेदेखि पैँयुकोट हुँदै सेतीवेणीसम्मको सो बाटो प्रस्तावित छ ।

यो पदयात्रा मार्गमा पर्ने शालिग्रामको छापाको मगर बस्ती, त्रिवेणीको चिन्नेखर्कको मगरबस्ती, उरामको गेप्ताङको मगरबस्ती, होस्राङ्दीको जम्मपुरको मगरबस्ती र भोक्सिङको गुरुङबस्तीमा घरबास सेवा शुरु भइसकेको छ । पदयात्रामा आउने पर्यटकलाई खान र बस्न सुविधा पु-याउन घरबास सेवा शुरु गरिएको जम्पुर होमस्टेकी अध्यक्ष नैनकला रानाले बताइन् ।

पैँयुकोटमा १५०२ देखि छ जना सेन राजाले राज्य गरे । राजा रामसिंह सेनले राज्यभिषेक गरेपछि लाभसिंह, चामसिंह, दागम्बरसिंह, सङ्ग्रामसिंह, भूपभैरव र अकबरसिंह सेनले राज्य गरेको पाइन्छ । राजा अकबर सिंह सेनलाई नेपाल एकीकरणको समयमा आक्रमण गरेपछि उनले आफ्नै बारुदखानामा आगो लगाएर आत्महत्या गरेपछि पैँयुकोट राज्य नेपालमा गाँभिएको थियो । त्यसअघि मगर जातिका आले, राना, थापा र चितौरेले पालैपालो गरी राज्य सञ्चालन गर्दै आएका थिए ।

मगरका बीचमा राज्य सञ्चालनमा विवाद भएपछि भारतको बाँसीघार भन्ने ठाउँबाट सेन राजालाई ल्याएको सेन राजाका सन्तान कर्णप्रताप सेनले जानकारी दिए । सेन राजाको राज्य रहेको क्षेत्र भएकाले अहिले यसको संरक्षणमा जुटेको उनको भनाइ छ । अहिले पैँयुकोट र हुवासमा रहेको फूलबारी दरबार संरक्षणका लागि जिल्ला विकास समिति र संस्कृति तथा पर्यटन मन्त्रालयले काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्