२७ कैदीको मृत्यु

death
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, २९ माघ । विभिन्न रोगका कारण चालू आर्थिक वर्ष २०७५÷७६ मा २७ कैदीको मृत्यु भएको छ । मुलुकभरका कारागारबाट २७ कैदीको मृत्यु हुनेमा सबैभन्दा बढी केन्द्रीय कारागार जगन्नाथदेवलका कैदी रहेका छन् ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले अधिकांश कैदीको बुढ्यौलीका कारण मृत्यु भएको बताए । उने भने, “रुघा, खोकी, दम, ज्वरो, टाइफाइड तथा विभिन्न सरुवा रोगका कारण कैदीको मृत्यु भएको हो । ”

सरकारले कैदीको उपचारका लागि केन्द्रीय कारागारभित्र ३० श्ययाको अस्पतालसमेत निर्माण गरेर सेवा दिइरहेको छ । कारागार अस्पतालमा उपचार हुन नसकेका बिरामीलाई रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवन शिक्षण अस्पताल, मानसिक अस्पताल र गङ्गालाल अस्पतालमा पठाउने गरिएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेण्ट डा. भगतलाल श्रेष्ठले बताए ।

हाल देशभर झण्डै २१ हजार कैदी छन् । करीब तीन हजार कैदी केन्द्रीय कारागारमा छन् । कारागार अस्पतालमा चालू आर्थिक वर्षमा मात्रै झण्डै पाँच हजार नयाँ तथा पुराना कैदीको उपचार गरिएको छ ।

आ व २०७४÷७५ मा ३२ हजार नयाँ तथा पुराना कैदीको सो अस्पतालमा उपचार गरिएको थियो । मुलुकभर हाल ७२ जिल्लामा ७४ कारागार छन् । चौबीसै घण्टा कैदीको स्वास्थ्यसम्बन्धी सेवा दिँदै आएको कारागार अस्पतालले केन्द्रीय कारागारका बिरामीबाहेक देशभरका बिरामीको रोगको प्रकृति हेरेर उपचार गर्दै आएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्