प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसदको माग

Nepali congress
लाेकपाटी न्यूज

काठमाडौं, २९ माघ । राष्ट्रियसभामा प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।

राष्ट्रियसभाको मङ्गलबारको बैठकको विशेष समयमा भाग लिँदै सांसद राधेश्याम अधिकारीले सरकारलाई आयोगले बुझाएको अन्तरिम र मूल प्रतिवेदनमा समेटिएका मूलभूत विषयवस्तुबारे सदनलाई जानकारी गराउन माग गरे ।

सांसद अधिकारीले विद्यार्थी, अभिभावक, आम जनताको सरोकारको विषय रहेको शिक्षाको कुरालाई सरकारले गुमराहमा राख्नु आश्चर्यजनक भएको टिप्पणी गर्दै सरकार, शिक्षा मन्त्रालय र आयोगको मात्र विषयवस्तु नभएको हुँदा तत्काल सार्वजनिक गर्न माग गरे ।

सांसद अधिकारीले भने, ‘आयोगले जुन दिन प्रतिवेदन सरकारलाई बुझायो, त्यही दिन नै सार्वजनिक गर्नुपर्ने थियो । प्रतिवेदनबारे सदन बेखबर छ, त्यसमाथि किन छलफल चलाउन चासो लिइएन ? त्यसमा आधारित भएर अन्धकारमा बनाइएका विधेयक स्वीकार्य हुँदैन ।

बैठकमा सांसद शेरबहादुर कुँवरले हालैको वर्षासँगै अछाममा परेको चट्याङबाट मृत्यु भएका परिवारजन र घाइतेलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले सरकारले एक वर्षमा गरेका विकास र समृद्धिका कामको विवरण सार्वजनिक गर्नुपर्ने माग राखे । उनले भने, ‘कतिपय स्थानीय तहमा जनप्रतिनिधि नहुँदा जनताका काममा अप्ठ्यारो परेको छ, ती खाली ठाउँमा निर्वाचन आयोगले उपनिर्वाचनमार्फत जनप्रतिनिधिको चयन गरोस् ।’

सांसद प्रकाश स्नेहीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका विषयमा उठेका प्रश्नको न्यायिक छानबिन आवश्यक रहेको तथा डा. गोविन्द केसी १६ पटकसम्म अनशन बसेको समयमा उनको तलबभत्ता कसले बुझ्यो, त्यसको छानबिन गरी असुलउपर गर्न सरकारलाई सुझाव दिए ।

सांसद उदय शर्मा पौडेलले पछिल्लो समयमा राजधानीका जमल, भृकुटीमण्डपलगायतका स्थानमा सार्वजनिक यातायातका सवारी साधन रोक्ने व्यवस्था नहुँदा सर्वसाधारणलाई निकै दुःख, कष्ट भोग्नुपरेको हुँदा ती स्थानमा यात्रु चढ्ने र ओराल्ने व्यवस्थालाई सहज तुल्याउन सरकारसँग आग्रह गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्