काठमाडौं लागुऔषधसम्बन्धी सचेतना अभियान शुरु

lagu01
लाेकपाटी न्यूज

काठमाडौँ, १ फागुन । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा लागुऔषध नियन्त्रणसम्बन्धी सचेतना अभियान शुरु भएको छ । चन्द्रागिरि नगरपालिका र जागरण महिला विकास समाज नेपाललगायत विभिन्न सङ्घसंस्थाले लागुऔषध दुरुपयोग नियन्त्रणका लागि उक्त अभियान शुरु गरेका हुन् ।

पछिल्लो समय नेपालमा लागुऔषध प्रयोगकर्ताहरुको सङ्ख्या बढ्दै गएको छ । जसलाई न्युनीकरण गर्न यस्तो सचेतना कार्यक्रम थालिएको चन्द्रागिरि नगरपालिकाका प्रमूख घनश्याम गिरीले जानकारी दिए । सोही अभियानअन्तर्गत मङ्गलबार विद्यार्थीलाई सचेतना दिने उद्देश्यले चन्द्रागिरिमा लागुऔषध नियन्त्रणसम्बन्धी अन्तर माध्यामिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता समेत गरिएको थियो ।

१६ विद्यालय सहभागी सो प्रतियोगितामा ज्ञानसुधा एकेडेमी, रिम्स स्कूल, न्यू होराइजन स्कूल र मातृ अरविन्द स्कूलका विद्यार्थी क्रमशः प्रथम, द्धितीय र तृतीय हुन सफल भएका छन् । प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई क्रमशः नगद रु सात हजार, पाँच हजार र तीन हजार पुरस्कार प्रदान गरिएको जागरण महिला विकास समाज नेपालकी अध्यक्ष सुगन्धा सुवेदीले जानकारी दिइन् ।

सो कार्यक्रममा विभिन्न सचेतनामूलक कार्यक्रमसहित गृहमन्त्रालयबाट प्राप्त चेतनामूलक सामाग्रीसमेत वितरण गरिएको थियो ।

विसं २०६९ को एक अध्ययनअनुसार नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या ९१ हजार ५३४ रहेको पाइएको छ । अहिले अध्ययनको क्रममा रहेकाले नयाँ तथ्याङ्क नआए पनि सो सङ्ख्या बढेर झण्डै एक लाख ५६ हजार नाघेको अनुमान गरिएको छ । वार्षिक ११ दशमलव ३६ प्रतिशतले सङ्ख्या वृद्धि भएको अध्ययनमा पाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारी खड्ग श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्