रङ्गशाला निर्माणका लागि कति भयाे अार्थिक सङ्कलन ?

dhurmus suntali
लाेकपाटी न्यूज

काठमाडौँ, १ फागुन । गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्र बनाएको छ ।

चितवनमा गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका अभियान्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अहिले विश्वका विभिन्न देशमा कार्यक्रमको आयोजना गर्दै रकम सङ्कलन गरिरहेका छन् । उनीहरुले यसै साता क्रिकेट मैदान निर्माणका लागि मलेसियाका तीनवटा शहरमा ‘धुर्मुस सुन्तली साँझ’ कार्यक्रमको आयोजना गरी रु ३५ लाख सङ्कलन गरेका छन् ।

मलेसियाको तीनवटा शहर क्वालालाम्पुर, जोहोरबाहु र पेनाङमा भएको मनोरञ्जनात्मक कार्यक्रममार्फत रु ३५ लाखभन्दा बढी रकम सङ्कलन भएको फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

रङ्गशाला निर्माणको घोषणापछि सहयोग जुटाउन उनीहरु मलेसिया पुगेका थिए । कट्टेलका अनुसार नेपाली समुदायबाट रु २० लाख ७१ हजार र कार्यक्रम आयोजक सिटी एक्सप्रेसबाट रु १५ लाख गरी रु ३५ लाख ७१ हजार रकम सङ्कलन भएको हो ।

रङ्गशाला निर्माणको सहयोगार्थ सिटी एक्सप्रेसले ‘धुर्मुस सुन्तली साँझ’को आयोजना गरेको थियो । साे साँझमा अभियान्ता कट्टेलले मलेसियामा रहेका नेपालीले देखाएको उत्साह र सहयोगले निकै हौसला मिलेको बताएका छन् ।

कट्टेले मलेसियापछि अन्य मुलुकमा पनि यस्तै कार्यक्रम गर्नेबारे छलफल भइरहेको बताएका छन् । साथै उनले रङ्गशाला निर्माणका लागि आवश्यक दुई अर्ब रकम फाउण्डेशन आफैँले मात्र जुटाउन कठिन हुने भन्दै सबैसँग सहयोगको आग्रहसमेत गरेका छन् । ‘रङ्गशाला निर्माणको सहयोगार्थ जुन उद्देश्य लिएर हामी मलेसिया आएका थियौँ । मलेसियामा रहनुभएका नेपाली दिदीबहिनी र दाजुभाइबाट हामीले सोचेभन्दा पनि राम्रो साथ सहयोग र सद्भाव पाएका छाै‌ँ,’ उनले भने ।

फाउण्डेशनले नेपालमा पहिलो अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला चितवनको भरतपुर महानगरपालिका–१६ स्थित रामपुर विश्वविद्यालयको स्वामित्वमा रहेको २० बिघा जग्गामा निर्माण प्रक्रिया शुरु गरेको हो । हाल रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको काम भइरहेको छ । डिपिआर तयार भैसकेपछि दुई वर्षभित्र रङ्गशाला निर्माण गरिसक्ने लक्ष्य राखिएको फाउण्डेशनले जनाएको छ ।

तीन महीनाअघि भरतपुर महानगरलाई सो स्थानमा रङ्गशाला बनाउनका लागि धुर्मुस–सुन्तली फाउण्डेशनले प्रस्तावपत्र पेश गरेको थियो ।

दुई साताअघि मात्र काठमाडौंमा भव्य कार्यक्रमको आयोजना गरी रङ्गशाला निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा चितवनको भरतपुर महानगरपालिका र फाउण्डेशनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्