बिएण्डसी : अस्पताल नीजि, सेवा सामुदायिक

Durga parsai
  • 570
    Shares
लाेकपाटी न्यूज

बिर्तामोड, १ फागुन । बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटलले आफ्नो सेवालाई सर्वसुलभ बनाएको छ । झापाको बिर्तामोडमा रहेको उक्त हस्पिटलले आफ्नो सेवा सुविधा सामुदायिक अस्पताल सरहको बनाएको हो ।

नीजि मेडिकल कलेजभएपनि मेडिकल कलेज सञ्चालनको अनुमति पाउने वातावरण सिर्जना भए लगत्तै अस्पतालले बिहिबारबाट सेवा सर्वसुलभ बनाएको हो ।

बिहिबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालले काठमाण्डौं स्थित त्रिवि शिक्षण अस्पताल र धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान झैं आफ्नो सेवासुविधा बनाएको अस्पतालका प्रबन्ध निर्देशक दुर्गा प्रसाईले जानकारी दिए । उनले भने ‘आजकै मितिबाट लागू हुनेगरी अस्पतालले दिने सबै किसिमका सेवाको शुल्क सामुदायिक अस्पताल सरहको बनाएका छौँ ।’

निर्देशक प्रसाईले सबैखाले रोगी बिरामीहरुले अब थप सहजताका साथ स्वास्थ्य उपचार गर्न पाउने विश्वास लिएको बताए । उनका अनुसार अर्बौँ रुपैयाँ लगानी गरेर सञ्चालनमा आएको अस्पतालले चिकित्सा विधेयक पासभए लगत्तै मेडिकल कलेज खोल्ने वातावरण सिर्जना भएको हाे । उनले विगतमा भएको गल्तिप्रति क्षमा माग्दै यो अस्पताल अब मेची अञ्चलबासीको साझा सम्पत्ति भएको प्रष्ट पारेका छन् ।

यस्तै अस्पतालले फागुन १ गतेदेखि १५ दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अस्पतालको सामाजिक सेवा कार्यअन्र्तरगत सर्वसाधारणलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको प्रसाईको भनाई छ ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ ले बिएण्डसीलाई विधिवत रुपमा मेडिकल कलेजको बाटो खोलिदिएकाले आगामी शैक्षिक वर्षदेखि एमबीबीएस कक्षा सञ्चालन गरिने पनि प्रसाईले जानकारी दिए । बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटलमा एमबीबीएस अध्ययन गर्न आउने एकसय जना विद्यार्थीको कोटामा राज्यको नीतिअनुसार १० प्रतिशत आरक्षण गरिएको र सो पूर्णतः निशुल्क रहने उनको भनाइ छ ।

निर्देशक प्रसाईले अस्पताल सञ्चालनको दौडमा सहयोग गर्ने तथा असहयोग गर्ने सबैलाई धन्यवाद दिनुका साथै यो अस्पताललाई कुनै एक पार्टीका रुपमा प्रचार नगरि सबैको साझा सम्पत्तिको रुपमा हेरेर यसको संरक्षणमा जुट्न आग्रह समेत गरेका छन् ।

यस्तै अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बिएण्डसीले थप गर्न लागेको पूर्वाञ्चल क्यान्सर हस्पिटलको भौतिक संरचनाहरु निर्माण कार्य अन्तिम चरणमा रहेको र अबको केही महिनाभित्रै सञ्चालन गर्नेगरी मेसिन औजारहरुको खरिद प्रक्रिया सुरु गरिएको बताए ।

हस्पिटलले सेवासुविधा सर्वसुलभ बनाउनुका साथै ताप्लेजुङ, पाँँचथर र इलाममा २५–२५ शैयाको अस्पताल समेत सञ्चालन गरेको छ यस्तै छिट्टै झापाको दमकमा पनि ५० शैयाको अस्पताल सञ्चालनको तयारी सुरु गरेको बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्