राजदूत शाक्यले गरिन् ओहोदाको प्रमाणपत्र पेश

aanjana
लाेकपाटी न्यूज

इजरायल, ३ फागुन । इजरायलका लागि नवनियुक्त नेपाली राजदूत डा. अन्जना शाक्यले ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् ।

नवनियुक्त राजदूत शाक्यले इजरायली राष्ट्रपति रेउभेन रिभ्लिन समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी हुन् ।

इजरायली राष्ट्रपति कार्यालयद्वारा आयोजित समारोहमा नेपाली राजदूत शाक्यलाई अति विशिष्ट सम्मान दिइएको थियो । त्यस अवसरमा राजदूत डा. शाक्यलाई विशिष्ट सम्मान ‘गार्ड अफ अनर’ समेत प्रदान गरिएको थियो ।

डाक्टर शाक्यले राष्ट्रपति रिभ्लिन समक्ष नेपालका सातवटै प्रदेशमा इजरायलको सेन्टर अफ एक्सिलेन्सी अर्थात इजरायली प्रविधिको तालिम केन्द्र खोल्न प्रस्ताव गरिन ।

राजदूत डा.शाक्यले इजरायली उच्च प्रविधिको कृषि, सूचना–प्रविधि, कम्प्युटर इञ्जिनियरिङ, मेडिकल, शिक्षा तथा एडभान्स टेक्नोलोजीको सेन्टर अफ एक्सिलेन्सी खोलेर नेपाललाई सहयोग गर्न गरेको अनुरोधलाई राष्ट्रपति रिभ्लिनले सकारात्मक रुपमा लिएका थिए । समारोहमा राजदूत डा. शाक्य र इजरायली राष्ट्रपति रेउभेन रिभ्लिनबीच आधा घण्टा भेटवार्ता भएको थियो ।

राजदूत डा. शाक्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको शुभेच्छा सन्देश र नेपाल भ्रमणको निम्तो पनि राष्ट्रपति रिभ्लिन समक्ष पेश गरिन । सो अवसरमा उनले दुई पक्षीय भ्रमणबाट नेपाल र इजरायल बीचको दौत्य सम्बन्ध अझ बलियो हुने बताईन ।

राजदूत शाक्यले नेपालमा हुन गइरहेका लगानी सम्मेलनमा भाग लिन तथा नेपालमा लगानी गर्न इजरायली उद्योगपति तथा व्यापारीहरुलाई आह्वान समेत गरिन । उनको आह्वानसँगै त्यहाँका आधा दर्जनभन्दा बढी प्रतिष्ठित उद्योगपति तथा व्यापारीहरु सकारात्मक बनेका छन्। उनीहरुले नेपालमा हुन गइरहेको लगानी सम्मेलनमा भाग लिएर नेपालमा लगानी गर्न इच्छा समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्