‘प्रधानमन्त्रीज्यू, देश समृद्ध भयो त ?’ : डा. प्रकाशशरण महत

Prakash-Sharan-Mahat
लाेकपाटी न्यूज

काठमाडौं, ३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह-महामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्ष पूरै असफल भएको आरोप लगाएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले यो एक वर्षमा सरकारले जनतालाई पुरै निराश तुल्याएको आरोप लगाएका हुन् । उनले भने, ‘सरकारले सुखी नेपाली र समृद्ध नेपाल भनेर अत्यन्तै राम्रो नारा ल्यायो । तर, यो एक वर्षमा जनता पुरै निराश भए । देश समृद्ध भयो त ? भएन ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले मुल्यवृद्धि आकाशिएको, व्यापार घाटा बढेको र लगानी घटेको दृष्टान्त पेश गरे । उनले भने, ‘अहिले ५० प्रतिशत लगानी घट्यो । कर बढिरहेको छ । बैंकको व्याजदर बढिरहेको छ ।’

त्यस्तै उनले संस्थागत भ्रष्टाचार बढिरहेको पनि आरोप लगाए । महतले ‘इज अफ डुइङ बिजनेश’ पनि राम्रो नभएको टिप्पणी गरे । महतले भने, ‘सुशासनको त कुरै नगरौं । सुनकाण्ड त्यो अब पृष्ठभूमिमा गइसक्यो । चिनी काण्ड त्यस्तै । वाइडबडी काण्ड अब अख्तियारले हेर्ने भनिएको छ, हामी सुक्ष्म रुपमा हेरिरहेका छौं ।’

मेलम्ची खानेपानी आयोजना अनिश्चित बनेको पनि उनको आरोप छ । उनले थपे, ‘उता बुढीगण्डकीको कथा पनि त्यस्तै छ । एनसेलको कर छलीमा अदालतले कर उठाउन भनेको छ, हामी हेरिरहेका छौं ।’

महतले सरकारले सुशासन कायम गर्न नसकेको गम्भिर आरोप लगाए । उनले भने, ‘समृद्धि त अहिले सत्तामा बस्नेहरुका लागि मात्रै आएको होला । तर, जनताले समृद्धिको कुनै अनुभूति गर्न पाएका छैनन् ।’