सरकारको समीक्षा गर्न कांग्रेसको पत्रकार सम्मेलन

लाेकपाटी न्यूज

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षमा गरेका काम र कमजोरीहरुको समीक्षाबारे जानकारी गराउन कांग्रेसले शनिबार पत्रकार सम्मेलन गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मूख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबारको पत्रकार सम्मेलनमा सरकारका कामसम्बन्धि कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गरिने छ । कांग्रेसका नेताहरुले सरकारको एक वर्षे कार्यकालबारे व्यक्तिगत टिप्पणी भने गरिसकेका छन् ।

पत्रकारहरुलाई पठाइएको निमन्त्रणामा भनिएको छ, ‘सरकारको एक वर्ष ः प्रतिपक्षको विस्तृत समीक्षा’ का सन्दर्भमा नेपाली कांग्रेसले २०७५ फागुन ५ गते आइतबार अपरान्ह ठिक ३ः१५ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरेको हुँदा समाचार संकलन, प्रसारण र प्रकाशनार्थ उपस्थितिका लागि निमन्त्रणा गरिन्छ ।’

कांग्रेसले एक वर्षे कार्यकालमा सरकार पूर्णतः असफल भएको अभिव्यक्ति दिँदै आएको छ । यता सरकारले भने संविधान कार्यान्वयन, दीर्घकालीन विकासको जग र कानून निर्माणमा क्षेत्रमा सरकारले असाधारण सफलता प्राप्त गरेको दावी गर्दै आएको छ ।