एउटा पेचिलो बहस : ‘कण्डम निशूल्क हुँदा प्याड किन भएन मन्त्रीज्यू ?’

Srijana-Basnet
स्कूलमा महिनावारी हुँदा पढाइबीचमै छाडेर घर दौडिएको याद आयो । हामी केटी साथीहरु मात्र होइन, पढाउने म्याडमहरुको कथा पनि त्यही थियो । थियो के भनौं, अझै छ । आपत पर्दा प्याड ल्याइदेउ भन्दा लजाउँछन् ।
लाेकपाटी न्यूज

सिर्जना बस्नेत

आज बिहानदेखि तल्लो पेट दुखिरहेको छ । चिसो महिना लागेदेखि नै महिनावारी हुनु एकहप्ता अगाडिदेखि ढाड दुख्ने व्यथा बोनसमा पाएको छु । सधैंजस्तै यो महिना पनि कहिले महिनावारी हुने हो केही पत्तो छैन । महिनै पिच्छे तालिका बदलिन्छ । कहिले महिनाको सुरुमै त कहिले महिनाको अन्त्यमा। निश्चित समयमै महिनावारी नहुने यो समस्याले गर्दा पूर्व योजनाअनुसार केही तयारी गर्न पाउँदिनँ ।

अनि खुबै ढाड दुखेको छ । ब्यागमा प्याड बोक्नै भुलेछु । कार्यालयमा साथी भएको बेला त साथीलाई भनेर बेलैमा कोठा निस्कन नि पाइन्छ । साथी बिदामा भएको बेला एक्लै कार्यालयमा हुँदा धेरैपटक मलाई आपत आइलागेको छ । कार्यालय बन्द गर्न पनि नमिल्ने योनीबाट बगेको रगत रोक्न सकिने त कुरै भएन । आज मैले त्यही आपतको सामना गर्नुपर्ने निश्चित भएको छ । सहकर्मी साथी पुरुष हुन् । साह्रै गाह्रो भए मोटरसाइलमा राखेर घरसम्म पु¥याइदिन्छन् । तर, प्याड भने किनेर ल्याइदिन उनको पुरुषत्वले कहिल्यै दिँदैन ।

बिहान दश नबज्दै कार्यालयको ढोका अगाडि हतारिएका सेवाग्राही उभिएका थिए । उनीहरुको काम गर्दै गर्दा मेरो तल्लो पेटको दुखाइ पाठेघरबाट बढेर आन्द्राभुँडी नै गिजोल्न थालिसकेझैं भइसक्यो । प्याड साथमा नभएकाले मलाई दुखाइको पीडाभन्दा बढी बगेको रगत कसरी व्यवस्थापन गर्ने भन्नेमा चिन्ता थियो । कार्यालयमा एक्लै अनि सेवाग्राहीको भीड। न नजिकै प्याड पाइने पसल ।

दुखाइलाई बेवास्ता गर्दै सेवाग्राहीको काममा ध्यान लगाएँ । सेवाग्राहीको काम गर्दै गर्दा जतिपटक कलम चलाएँ यस्तो लाग्यो मैले कलमको मसी कम र बगेको रगतले बढी लेखिरहेको छु । हुन त हाम्रो अड्डा जिल्लाकै मुख्य कार्यालयको हाताभित्र छ । जिल्ला प्रशासनको सार्वजनिक शौैचालय प्रयोग गर्न पाएका छौँ । शौचालय अरु कार्यालयहरुको भन्दा सफा र पानीको पनि राम्रो व्यवस्था छ ।

तर, महिला शौचालयमा प्याडको व्यवस्था छैन । त्यसैले पटकपटक शौचालय गएँ, बगेको रगत पखालेर आएँ । रोक्नै त कहाँ सक्थें र ! केही दिनअघि एक अनलाइनमा आएको समाचारले भने मन फुरुङ्ग बनायो । स्कूलमा महिनावारी भए के गर्ने, ज्ञानोदयमा डर छैन, प्याड झर्ने मेसिन छ नि’ शीर्षकको समाचार पढें । स्कूलमा महिनावारी हुँदा पढाइबीचमै छाडेर घर दौडिएको याद आयो । हामी केटी साथीहरु मात्र होइन, पढाउने म्याडमहरुको कथा पनि त्यही थियो । थियो के भनौं, अझै छ । आपत पर्दा प्याड ल्याइदेउ भन्दा लजाउँछन् ।

मैले जुन असहजता भोगें, मेरी बहिनीले पनि त्यही कथाको पात्र बन्नुपरेको छ । स्कूल पढ्दादेखिको समस्या जागिर खाँदासम्म नि उस्तै छ । सार्वजनिक शौचालय प्रयोग गर्ने महिला सेवाग्राहीहरुका लागि प्याड मात्र व्यवस्था गर्नसके रगतको दाग लुकाउँदै कार्यालयको कोठा कोठा चहार्नुपर्ने थिएन । ज्ञानोदय स्कूलले जस्तै अन्य स्कूलमा प्याडको व्यबस्था गर्न सके मैले जसरी अरु बहिनीहरुले पढाइ बीचमै छाडेर आमाको मैलो टालो च्यात्नुपर्ने थिएन । भुकम्पपछि धेरै विद्यालयहरु बाल मैत्री बनाउनुपर्छ भनेर पहल गर्नेहरुले पनि शौचालय किशोरी मैत्री बनाउनुपर्छ भन्नेतर्फ ध्यान कमै मात्र दिइयो । अकस्मात चोट लागेर बगेको रगत रोक्ने ब्यान्डेज स्कूलमा छ । तर, अकस्मात महिनावारी भएर बगेको रगत रोक्ने प्याड सबै स्कूलमा छैन ।

मैले पहिलो पटक कान्तिपुर मिडिया हाउसको महिला शौचालयमा निःशुल्क प्रयोग गर्नका लागि राखिएको प्याड देख्दा अचम्मित भएको थिएँ । महिला मात्रै काम गर्ने धेरै कार्यालयहरुमा समेत उनीहरुले प्रयोग गर्ने शौचालयमा प्याड राख्न ध्यान नजानुले स्पस्ट देखाउँछ कि हामी अफै खुलेर महिनावारीको कुरा गर्न सक्दैनौं ।

महिला स्वास्थ्यकर्मीसँग कण्डम किन्न नहिचकिचाउने मेरो पुरुष मित्रहरु आपत पर्दा प्याड ल्याइदेउ भन्दा लजाउँछन् । सरकारले निःशुल्क कण्डम वितरण गर्न थालेको लामो समय भइसकेको छ । त्यसैले गाउँघर तिर पनि कण्डमको प्रयोगबारे मानिसहरु खुलेर कुरा गर्दछन् । सरकारले महिनावारी हुँदा लाग्ने प्याड निःशुल्क वितरण गरिदिए महिलालाई धेरै राहत हुने थियो । सरकारमा धेरै मन्त्रीहरु फेरिए । तर, महिनावारीको बाध्यतामा प्रयोग गर्ने प्याडलाई निःशुल्क तथा सहुलियत दरमा वितरण गर्नेतर्फ भने ध्यान नै दिएनन् ।

उनीहरुलाई लाग्दो हो जाबो महिनावारीको कुरा पनि मन्त्रीले गर्ने हो र ! तर, मन्त्री ज्यू स्कुलमा प्याड नहुँदा छोरीले कत्ति समस्या भोग्नुपरेको थियो फुर्सद निकालेर सोध्नु होला । त्यसपछि तपाईंले बुझ्नुहोला प्याड सहज नहुँदाको पीडा । आफ्नै कार्यालयमा काम गर्ने महिला दिदीबहिनीलाई पनि सोध्नुहोला सार्वजनिक शौचालयमा प्याड नहुँदा रगत चुहाउँदै जागिरमा आएको पीडा । प्रत्येक आमालाई सोध्नु पुरानो हुँदै जाँदा उनको धोति फरिया र पोटुका किन च्यातिँदै गयो भनेर ।

उनले सहजै उत्तर दिनेछिन्, ‘छोरीको महिना महिनामा बग्ने रगतले बगाएर लग्यो’ भनेर । सत्तरी रुपैयाँ भए भटमासको आधा लिटर तेल आउने थियो भन्ने काकीले कहिल्यै प्याड किन्ने आँट गर्नै सक्दिनन् । सामान्यतया १३ वर्षबाट महिनावारी भएका छोरीहरु ४५ वर्षसम्म महिनाको एक पटक रगतमा डुबेकै हुन्छन् । अझै पनि गाउँका मेरै उमेरका महिलाहरुले प्याडको प्रयोग गर्न सिकेकै छैनन् । उनीहरु अझै मैलो टालो योनिमा घँुसारेर रगत बग्न रोक्न बाध्य छन् । प्याडको बारेमा जानकार र किन्ने आँट हुनेहरुलाई समेत मंहगो भार परेको छ ।

बजारमा पाइने गुणस्तर सेनेटरी प्याडको मूल्य १ सय ३० रुपैयाँ पर्दछ । महिनामा दुई प्याकेट नभई ५ दिन कटाउन सकिँदैन । एक महिनामा २ सय ६० रुपैयाँ प्याड किन्नै खर्चिनुपर्दछ । यही हिसाबमा पनि वर्षमा ३ हजार १ सय २० रुपैयाँ महिनावारीकै लागि जोगाउन आवश्यक हुन्छ । आफ्नो जीवनको ३२ वर्ष (१३ वर्षदेखि ४५ वर्ष) एउटी महिला महिनावारीकै चक्रसँग घुमिरहेकी हुन्छे । ३२ वर्ष सम्ममा त ९९ हजार ८ सय ४० रुपैयाँ त रगत रोक्ने प्याड किन्न खर्च गर्नुपर्छ ।

कण्डम निःशुल्क बाँड्नाले यौन रोग र जनसंख्या वृद्धि रोक्न मद्दत त पुगेको होला । कण्डमको प्रयोग र मानिसको रोजाइको बीचमा विकल्प पनि छ । तर, महिनावारीलाई रोक्ने अन्य विकल्पको प्रयोग गर्न सम्भव छैन । किनकी यो प्रजनन् क्षमताको लागि सक्षम हरेक महिलाको प्राकृतिक प्रक्रिया हो । हुर्किदै गरेका किशोरीहरुले कुनै हिचकिचाहट सार्वजनिक शौचालय अनि सरकारी स्वास्थ्थ चौकीबाट निःशुल्क प्याड प्रयोग गर्ने दिन आउला त स्वास्थ्य मन्त्रीज्यू ?

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्