सरकारले पूर्णाङ्कभन्दा बढी अङ्क ल्याएको छ’ : प्रधानमन्त्री (अन्तर्वार्ता)

KP Sharma Oli
लाेकपाटी न्यूज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र समृद्धिको असाधारण जग बसालेको बताएका छन् । शुक्रबार एबिसी टेलिभिजनसँगको अन्तर्वार्तामा उनको समृद्धिका उपलब्धिको तथ्याङ्कसमेत गरेका छन् । उनले सरकारले संविधान कार्यान्वयनलाई गम्भिरतापूर्वक लिएको बताए । संविधान कार्यान्वयनको चरणमा रहेकाले प्रतिफल आउन समय लाग्ने प्रधानमन्त्रीको भनाइ छ । शुक्रबार पत्रकार शुभशंकर कंडेलले प्रधानमन्त्रीसँग लिएको अन्तर्वार्ता ।

प्रधानमन्त्रीज्यू यहाँलाई कार्यक्रममा विशेष स्वागत छ !

धन्यवाद !

मैले अघि भने जस्तै यहाँले यो एक वर्षलाई वर्तमान सरकारको एक वर्ष सङ्घीयता, सुशासन र समृद्धिको आधार वर्ष भन्नुभयो । के कारणले तपाईंले समृद्धिको आधार वर्ष भनेर पोइन्ट गर्नुभयो ?

यो आधार वर्ष भनिएको–सरकारको, संसदको यस कार्यकालका लागि मात्रै होइन । संविधान बन्यो । संविधान कार्यान्वयनका लागि कानुन थिएन । संविधानले संरचनाको कल्पना गर्‍याे। संरचना थिएनन् । निर्वाचन भयो । निर्वाचन भएपनि प्रतिनिधि सभा कता बस्ने, राष्ट्रिय सभा कता बस्नेदेखि लिएर….।

प्रदेश सभा कहाँ बस्ने, प्रदेश सरकार कहाँ बस्ने ?

केही पनि थिएन । २० वर्षदेखि स्थानीय निकायहरु रिक्त थिए । त्यस अवस्थामा संरचनागत पक्षको तयारी गर्नु आवश्यक थियो । कर्मचारीहरुको संमायोजन गर्नु जरुरी थियो । यो अभ्यास, विल्कुलै नयाँ अभ्यास । यो सङ्घीय शासन प्रणाली नेपालको इतिहासमा पहिलो, पृथक । यो असजिलो प्रणाली हो । अर्कोतिर कुनै अभ्यास नभएको । कुनै दृष्टान्त नभएको । कुनै उदाहरण नभएको । कुनै नजिर नभएको । त्यस्तो व्यवस्था हो । जो आफैंले नयाँ अभ्यासद्धारा नजिरहरु अनुभवका आधारमा स्थापीत गर्दै जानुपर्छ । अर्कोतिर लोकतन्त्र, मैले भन्ने गर्छु यो वेयस्टमिस्टरियल (पश्चिमा) प्रणाली हो । तर, यो संसदीय व्यवस्था ठ्याक्कै त्यस्तो होइन, किनकि यसमा यो जे कम्पोनेन्ट छ, त्यो पृथक छ । समानुपातिक प्रतिनिधित्वको प्रणाली, समावेशीताको प्रणाली । यस्ता कुराहरु यसभित्र छन् । जसले गर्दा यसलाई साधारण संसदीय प्रणालीभन्दा पृथक बनाएको छ । यो आफैंमा अभ्यास गर्न सजिलो कुरा होइन ।

अर्को हाम्रो जस्तो गरीब र पछौंटेजस्तो देशमा यो अभ्यास अझ जटिल कुरा हो । अर्कोतिर हामीले गणतन्त्र ल्याएका छौं, जो नेपालको इतिहासमा राज्यहरुको निर्माणपछि गणतन्त्रात्मक राज्य सुरुका कविलातन्त्र राज्यबाट जब रजौटातन्त्रमा गयो, त्यो हजारौं वर्षको इतिहास भयो । हामी किराँतवंशी, लिच्छवीवंशी हुँदैहुँदै र २४० वर्ष राजतन्त्रले शासन ग¥यो । भने यत्रो लामो हजारौं वर्षको लामो राजतन्त्रात्मक पृष्ठभूमि यसलाई हामीले गणतन्त्रमा लग्यौं । यस्तो स्थितिमा यो नयाँ अभ्यासका लागि संविधानअनुरुपका कानून निर्माण, नयाँ परिवेश, परिस्थितिअनुसारको कानून निर्माण, संरचनाहरुको तयारी । यी सबै कुराहरु यतिबेला नै गर्नुपर्‍याे, यही वर्षमा नै गर्नुपर्‍याे । र, हामीले गरेका पनि छौं । के–के गर्‍यौं भनेर फेहरिस्त गर्न पनि चाहन्नँ अहिले, त्यो जरुरी पनि छैन ।

अब अर्कोतिर विकासका निम्ति कसरी हाम्रा प्रयासलाई अगाडि बढाउने ? अब राजनीतिक पक्षहरु एउटा असाधारण ढंगले समाधान गर्‍यौं । द्धन्द्ध समाधान गर्‍यौं र द्धन्द्ध समाधान भइसक्यो । व्यवस्थापन भइसक्यो । अब त्यसका केही घाउँखत, असरहरु तिनीहरु बाँकी छन् । तिनीहरुलाई हामीले समाधान गर्नुछ । तर, द्धन्द्ध नै छैन अब । अर्कोतिर अब नयाँ ढंगले हामी अगाडि बढ्नुछ । हिजो त हामी आन्तरिक समस्यामा पिरोलिएका थियौं । अब आन्तरिक समस्या समाधान गरेर हामी सीमाभन्दा बाहिर पनि सहयोग, सम्बन्ध, सहकार्य, सद्भाव । यी सबैका लागि बाहिरसम्म निस्किएका छौं । र, अबका हाम्रा प्रस्तुतिहरु यदी म हिजो कुनै देशमा जान्थें भने जाँदा २०६५ भन्दा अगाडि म प्रधानमन्त्रीको हैसियतमा कुनै देश जान्थें भने एउटा राजाको रैती, प्रजा, जो कम्पाले प्रधानमन्त्री खाएको छ । त्यस्तो प्रधानमन्त्रीको हैसियतमा हिड्नुपर्ने थियो । त्यो कुनै मसँग स्वाभिमान र तागत छ भन्ने होइन ।

ईश्वरीय तागत लिएर बसेको छु भन्दा अर्को एउटा भ्रम दिएर बसेको छ । जनताको तागत पनि मसंगै राखेको छु भनेर उसले जनतालाई अरअर्याएर राखेको छ । न जनताबाट मलाई शक्ति चार्ज भएको छ, न कतैबाट । यस्तो अवस्थामा शक्तिहीन, चार्ज सकिएको ब्याट्री, जो पिलपिल गर्छ । त्यस प्रकारको स्थितिमा जानुपर्दथ्यो भने आज त जनताले बनाएको, सार्वभौमसत्ता सम्पन्न छन् जनता । तिनले बनाएको संविधान, संविधानले परिकल्पना गरेको प्रणाली र जनताबाट बहुमत प्राप्त सरकार । यो सहित म जाँदा एउटा रैती होइन । सार्वभौम जनताको प्रतिनिधि । सार्वभौम राष्ट्रको प्रतिनिधि । स्वाधीन राष्ट्रको, जो स्वाधीन हैसियतलाई सही ढंगले प्रयोग गर्न सक्छ । त्यो प्रधानमन्त्रीको रुपमा समस्याहरुको समाधान गर्न सकेको प्रणाली, व्यवस्था र दलको प्रतिनिधिको रुपमा र अनुभवका साथ, दृष्टिकोणका साथ आज बाहिर जान्छु भने बाहिर जाँदाको बेग्लै हुन्छ त्यो । जो दुनियाँले देखेको छ ।

देखियो एक वर्षमा पनि ?

देखिएको छ एक वर्षमा । यसको प्रस्तुति नै फरक छ । हामी एउटा स्वाधीन राष्ट्रको हिसाबले । कहिले कहिले अभ्यासवश् कुनै देशले नेपालले यसो गर्नुपर्‍याे भन्ने गर्‍याे भने म भन्ने गर्छु, नेपाल एउटा स्वाधीन देश हो । सबैभन्दा ठूलो गर्व गर्ने कुरा यही छ कि हाम्रो उहीलेदेखि पूर्खाको पालादेखि दुनियाँ उपनिवेशको चक्रब्युहमा जकडिँदा पनि यो स्वाधीन रहेको मुलुक र स्वाधीनताका साथ अगाडि बढेको देश, त्यस स्वाधीनताको सगौरव यसले उपयोग गर्दछ । कुनै दवाव पर्दैन र स्वाधीनताको सौदावाजी गर्दैन । कुनै यो लाभ, त्यो लाभसँग स्वाधीनतालाई साट्दैन । यो त्यस्तो देश हो । त्यस देशले आफ्ना आन्तरिक नीति वा बाह्य नीतिहरु स्वतन्त्र ढंगले निर्धारण गर्छ र अगाडि बढ्छ भन्छु ।

आज हामी त्यस विन्दुमा छौं र विकासको अब हामीले एउटा नयाँ संकल्प कृषिको सम्बन्धमा–कृषिको आधुनिकीकरण, उद्योगको–उद्योगको निम्ति आन्तरिक र बाह्य पूँजी परिचालन गर्न आकर्षक, ऐन, कानून बनाउनेदेखि लिएर वातावरण बनाउनेदेखि लिएर, एकद्धार बनाउनेदेखि लिएर, प्रशासनिक उल्झन्, झन्झटहरु समाप्त पार्नेदेखि लिएर यी सबै कामहरु गरिएका छन् । र, नीतिहरु तय गरिएको छ अब । कृषि मात्र भनिएको छैन । कृषिको आधुनिकीकरण कसरी गर्ने ? त्यस सम्बन्धमा हामीले, म जुन देशमा जान्छु त्यहाँ कृषिको, जुन देशमा जान्छु त्यहाँ आधुनिकीकरणको, जुन देशमा जान्छु त्यहाँ प्रविधिको । ती चिजहरुलाई कसरी हाम्रो विकासमा जोड्न सकिन्छ वा ल्याउन सकिन्छ । ती कुराहरु म गरिराखेको छु ।

यसरी मेरो नेतृत्वको यस सरकारले काम गरेको छ । कतिपय साथीहरुमा अलिकति असन्तुष्टि पनि छ, स्वाभाविक पनि हो । त्यो असन्तुष्टि आफ्नो ठाउँमा होला । तर, हामी एउटा नयाँ ढंगले, नयाँ तरंग आएको त यसै बुझ्न सकिन्छ । बाहिर जानेको संख्या घटेको छ, कामदारहरुको । रेमिटयान्स बढेको छ । नियमित गरिएको छ । नियमन गरिएको छ । बाहिर जाने आवश्यकता घटेको छ । ठूलो संख्यामा ३९ प्रतिशत संख्या घट्नु भनेको सानो कुरा होइन । ३१ प्रतिशत आम्दानी बढ्नु, त्यसबाट रेमिट्यान्स बढ्नु यो पनि ….। ३९ प्रतिशत घटेपछि त ३९ प्रतिशत घट्नुपर्ने थियो । ३१ प्रतिशत बृद्धि भएको छ । यथार्थ नियमन भएको छ र बाहिर जाने आवश्यकता न्यून भएको छ ।

भनेको यहाँले, यसलाई भन्न खोज्दै हुनुहुन्छ कि आर्थिक सुशासनको सबैभन्दा महत्वपूर्ण काम भएको छ ?

भएको छ र भ्रष्ट तत्वहरु कारवाहीको डरले राजीनामा दिएर भाग्ने स्थितिमा छन् कतिपय । कतिपय राजनीमा दिएर भाग्दैछन् । कतिपय अरु भाग्छन् । भाग्दैनन् भने कारवाहीमा पर्छन् । म के भन्छु भने सरकार चुप लागेर बसेको छैन । अनुगमनमाथि अनुगमन भइराखेको छ । हरेकमाथि लेन्स लगाएर हेरेको छु मैले, अथवा मेरो संयन्त्रले । सरकार यत्तिकै चुप्प लागेर बसेको छैन । सरकारी तवरबाट भ्रष्टचार कहाँ हुन्छ भन्दा सरकारी संयन्त्रसँग मिलेर नै भ्रष्टाचार भएको होला । तर सँगसँगै त्यहाँ भ्रष्टाचार नियन्त्रक निकायहरु पनि त्यहाँ फेरि मसिनो गरी माइस्क्रोप्सले हेरिराखेका छन् । दुरबिन लगाएर हेरिराखेका छन् ।

यहाँले शास्त्रार्थको कुरा भन्ने, चाणक्य (कौटिल्य) को नीति भन्ने गरेको कारणले मैले यहाँलाई सम्झाउँ, कि एक ठाउँमा कौटिल्य भन्छन्, सागर वा नदीमा मसली कित्ना पानी पिताहे, किसीको पतानाइ, प्रशासनमा कित्ने हततक भ्रष्टाचार होताय उसकोवी पतानाई । लेकिन विद्यि हे । इसिलिए यैसा गर्न पड्ताए । भनेपछि यहाँले बुझिहाल्नु भयो । त्यो काम इमानका साथ गरेको छुँ भन्न सक्नु हुन्छ आज ?

गजवले ! मज्जाले ! अहिले म तपाईंतिर हेरिरहेको छु र यो टेलिभिनमा प्रशारण हुँदा तपाईंतिर हेरेकोजस्तो देखिन्छ । म क्यामेरा तिर हेरेर भन्न चाहन्छु, जुन दर्शकतिर हेरेको देखिन्छ – म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ । अरुलाई पनि गर्न दिन्नँ ।

अहिले भएको छ कि छैन ?

मैले गरेको छैन । भ्रष्टहरुलाई कारवाही गर्छु ।

भ्रष्टहरुलाई चिन्ने गर्नुभएको छ ?

कारवाही भइराखेको छ त । एउटा त्यो भयो, अझ मैले अघि माछाको भनेजस्तो गर्दा त्यसको विद्यि छ । त्यसको विद्यि भन्दा यहाँले सम्झि हाल्नु भयो । मान्छे भागिरहेका छन् । तपाईंले यो अन्तवार्ता प्रशारण गर्दासम्म यसका छनकहरु पाउनु हुनेछ ।

ए !

मान्छेहरु भाग्दैछन् । जो क्रप्सनमा निलिप्प थिए, हो, भाग्दैछन् । अझ भाग्छन् । तर भागे पनि छोड्दिनँ ।

यसका लागि यहाँलाई धेरैधेरै धन्यवाद ! संयन्त्र छ ?

छ ।

तर आज चाहिँ आर्थिक क्षेत्रमा एकथरिले एकदमै उत्पातै पार्दियो, बिगारिदियो, सिध्याइदियो । जुन यहाँले भनेको भाग्दै गरेकाहरुको स्वर होला भन्ने म ठान्छु र आर्थिक रुपमा चाहिँ हामीले जनतालाई बुझ्ने यो समृद्धिको आधार वर्ष बनाउनका लागि ठ्याक्कै यो यो गर्‍यौं भनेर के–के भन्न सक्नुहुन्छ ?

थुप्रो भन्न सकिन्छ, एउटा हामीले स्वास्थ्य क्षेत्रमा स्वास्थ्य जीवन बीमा । सामाजिक सुरक्षाको प्रबन्ध, योगदानमा आधारित र अनौपचारिक क्षेत्रलाई पनि औपचारिक क्षेत्र सरह व्यवस्थापन गर्ने । यो एउटा युगान्तकारी, साच्चै यो नयाँ युगको सुरुवात हो । लोककल्याणकारी राज्यको महत्वपूर्ण पार्ट हो । अर्को हामीले अस्तिका दिन एउटा कार्यक्रम अगाडि बढायौं, रोजगार सम्बन्धी र अब यति ठूलो ऐतिहासिक मात्रै होइन, महत्वकांक्षी, असाधारण । बेरोजगार देशमा रोजगार दिन नसके दण्ड तिर्छु, पैसा तिर्छु भन्ने राज्य …।

तयार गर्नु भयो ?

हो, यो त लिस डेभलप, अविकसित देश । बेरोजगार भएको यस्तो देश । यस्ता देशमा यो सानो तिनो आँट र हिम्मतले गरिने कुरा होइन ।

अर्को वर्ष हामीले कुरा गर्दा त्यो गल्ती गरिएछ कि क्या हो भन्ने पर्ला ?

पर्दैन ।

यो सपना हो कि व्यवहार हो ?

सपना, जसलाई हामी सपना भनिराखेका छौं, त्यो सपना व्यवहारमा रुपान्तरण गर्नका लागि हो । हामी यसलाई आधार वर्षका रुपमा यस कारण भनिराखेका छौं कि यसले एउटा नयाँ चीज । अब रोजगार सम्बन्धी यसका विभिन्न पाटाहरु, अनेक आयामहरु छन् । ती आयामहरु, अवयवहरु सबै परिचालन गछौं । यो एउटा महाअभियान हो । जुन महाअभियान एकाध, एकलिएका प्रयासबाट होइन कि यो महाअभियानका रुपमा जान्छ । अर्को अब हाइड्रोपावर सेक्टरमा लगानीको कुरा । हिजो हामीले सुरुवात गर्‍यौं, नेपालको पानी जनताको लगानी । नाम जेहोस् । नाम जेहोस् तर आम जनता सहभागी हुने र आयआर्जनको सबैभन्दा महत्वपूर्ण सुरक्षित… ? घर–घरमा बिजुली हुन्छ र जनताको त्यसमा लगानी हुन्छ, सेयर हुन्छ ।

राज्य ग्यारेन्टर छ ?

राज्य ग्यारेन्टर छ । यसरी एउटा नयाँ अभियान । हामीसँग स्रोत छ, हामीसँग पूँजी छ । एकै ठाउँमा नहोला, तर छ । तर छरिएको पूँजी एकठाउँ गरेर । स–सानो पूँजी पनि छ । एकजुट गरेर एकठाउँ लग्यौं भने हामी देख्छौं केही पनि नभएको ठाउँमा एकजुट गर्दाखेरि करोडौं रुपैया त्यहाँ उठ्छ । धान्याञ्चल यज्ञ भन्छन्, त्यहाँ हजारौं टन धान तयार हुन्छ । त्यो कसरी हुन्छ भन्दा एकै जनाले दिएको हुँदैन । छरिएको चीजलाई जम्मा गरेर हुन्छ । त्यसै गरेर हामी स–सानो पूँजी पनि जनतासँग दिदीबहिनीहरुले थैलीमा राखेको फुली बनाउने, अर्को वर्ष बनाउने । पाँच वर्षपछि बनाउने फुली । अलि ठूलो ढुङ्री बनाउने । त्यो पैसा त्यहाँबाट आउँछ । यो फुली ढुङ्रीको पैसा बोकेर आउँछ । त्यो फुली ठूलो पैसा बोकेर आउँछ ।

त्यसकारण लगानी गर्नु जरुरी छ । त्यसबाट स्वामित्वबोध, एन्टरपनरसीप भन्छौं नि हामी, लगानीको प्रवृति । यसबाट अनेक कुराहरु आम्दानी हुन्छन् । फाइदा हुन्छन् । यसबाट रोजगारीका अवसरहरु सिर्जना हुन्छन् । त्यसै गरेर हामीले यो मात्रै सेक्टर गरेका छैनौं । कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा थुप्रो कुराहरु अगाडि बढाएका छौं । त्यसको सामूहिक अनेक पक्ष उठाएका छौं । अहिले वैदेशीक मुद्राको सञ्चितिमा कमी आयो भन्ने कुराको हकमा हामीले उत्पादन बृद्धि गर्ने खालका सामग्रीहरु, औजारहरु बढी खरीद गरेका छौं । जसको परिणाम भोलि देखिन्छ । कि पैसा थुपारेर मात्रै त केही हुने होइन नि । वैदेशिक मुद्राको सञ्चिति अनावश्यक रुपमा सञ्चिति बढी हुनु भनेको, त्यो राम्रो लक्षण होइन । काम लगाइएन त्यसलाई । पैसा भनेको काम लगाउने चीज हो । त्यसकारण हामीले पैसा काम लगाएका छौं कि छैन ।

सात आठ महिनाका लागि मात्र अब डलरको सञ्चिति छ हामीसँग, दश आठ महिना मात्रै धान्ने खालको लागि भनेर । त्यो दश आठ महिनाका लागि धान्ने भनेको अर्थ दश आठ महिना आम्दानी सुखा हुने त्यो त होइन नि । त्यो त आइरहन्छ । त्यो आठ महिनाका लागि छ भने अर्को आठ दश महिनाका लागि हुन्छ । अब हामीसँग दश महिनाका लागि मात्रै छ भन्यो भने वर्ष दिनका लागि भइसकेको हुन्छ । त्योभन्दा बढी अहिले हामी विकासमा भइरहेका हुनाले, विकासको कामहरु टुङ्गिएका, रिसर्चओर्कहरुमा मात्र लगाएका र साधारणतर्फ मात्र खर्च गरिरहेका, विकासका सीमान्त स्थितिमा पुगेका देशहरुका लागि मात्रै सञ्चित रकम गोदामका गोदाम राख्नु एउटा कुरा होला । हामी गोदामका गोदाम पैसा राख्ने अवस्थामा होइनौं । हामी त खर्च गरेर बारीमा हाल्छौं, खेतमा हाल्छौं, खोलामा हाल्छौं, औजारमा हाल्छौं ।

अघिल्लो वर्षको कुनै आर्थिक सूचाङ्कसँग यो आर्थिक वर्षको सूचाङ्कको तुलना गर्नु सर्वथा अनुचित छ । अघिल्लो वर्ष निर्वाचन थियो । निर्वाचनका लागि अनेक खालको वैदेशिक सहयोग थियो । तर, यो वर्षको खर्च भनेको विकासमा खर्च वा प्रशासनिक खर्च र आगडि यहाँले भनेजस्तै आधार बनाउनका लागि खर्च । त्यसकारण अघिल्ला वर्षका ती हिसाब, गणित । अघिल्लो वर्षको गणित र अहिलेको गणित यहाँकै भाषामा भन्ने हो भने गणित बदलियो भनियो भने सही हुन्छ, होइन ?

पहिले पहिले स–साना फुसका छाप्राहरु सयौं बनाइए, हजारौं बनाइए । अहिले कमसेकम अहिले एउटा फ्याट्मा चारओटा भाग भएको विशाल फल्याटहरु भएको । बीसाैं तले घरको मजबुत जग हालियो । यो मजबुत जग, बलिया खम्बाहरु । अहिले यो भने त्यो सय ओटा फसका छाप्रामा त्यो ५० रुपैयाको पराल र १५० रुपैयाको बास खर्च भएको छ । त्यस्ता छाप्राको सम्पूर्ण खर्च कति भयो भन्दा सय ओटाको तीन सयका दरले भन्ने हो भने केही खर्च भएको छ । तीन हजार खर्च होला, तीस हजार खर्च होला । तर, यसमा यसभित्र चाहिँ लगभग तीन अरबको खर्च भइसकेको हुन्छ यो जग हाल्दाखेरि । भन्नेले भन्न सक्छ पराक्रमीले पोहोर सय ओटा घर बनाएको थियो भनेर । अहिले एउटा जग बनाएर समय बर्वाद गरिदियो । खर्च बरवाद गरेको छ, भन्न सक्छन् । तर, यो जग हो । मजबुत जग हो । मजबुत पिलर हो । त्यसकारण अहिलेको जुन खर्च गरिराखेका छौं, हामीले यो दीगो विकास । छाप्रा होइन । हामी दीगो विकासतर्फ, दीगो रोजगारीतर्फ, यथार्थ उत्पादनतर्फ, यथार्थ आम्दानीतर्फ छौं ।

मैले हिजो बोल्दा एउटा कुरा भनेको थिए कि श्रम बिनाको पारिश्रमिक, परिश्रम बिनाको फल । बिना परिश्रमको पारिश्रमिक र बिना कामको ज्याला । यस प्रकारको रोजगारी बिनाको रोजगारी, परिश्रम बिनाको पारिश्रमिक, काम बिनाको ज्याला । वालाहरु जो छन् कहीँ न कतै यस्तो रोजगारी छ, जो रोजगारी होइन । जो परिश्रम होइन । तर, त्यहाँ पारिश्रमिक छ । जो राष्ट्र निर्माणमा समर्पित छैन, त्यस्तो काम, त्यस्तो धन्दा भइराखेको छ । त्यस प्रकारका तत्वहरु यो अभियानलाई यसको अलिकति महत्ता घटाउन, यसलाई बदनाम गर्न सक्रिय छन् । मेरो विचारमा कुनै तर्क गर्नुपर्छ जस्तो लाग्दैन । भिन्नता हेर्नलाई, भिन्नता बुझ्नलाई गत वर्षको सरकार र अहिलेको सरकार, गत वर्षको परिवेश र अहिलेको परिवेश । त्यो त एउटा कलाकार स्टेजमा उभिने बित्तिकै थाहा हुन्छ । कि त्यसको डान्स कत्तिको चल्छ, कत्तिको डान्स गर्छ भनेर ।

अब यो त तुलना गर्न मिल्छ जस्तै लाग्दैन, सरकार सञ्चालनका सन्दर्भमा, केहीमा । त्यसकारण यो आधार वर्ष भविष्यसम्मका लागि जोडिएको छ । र, हामीले रेलका कुरा, पानी जहाजका कुरा मात्र गरिराखेका छैनौं । यी सपना मात्र देखाइराखेका छैनाैं । यसका निम्ति कार्यालय खोलेर हामी काम अगाडि बढाइसकेका छौं । र, अब केही समयभित्र त हामी जलमार्गको बाटोबाट, नेपालबाट जलमार्ग हुदै समुन्द्रमा जान्छौं । यो परिकल्पित कुरा थिएन, पोहोरका सालसम्म । पोहोरको साल मैले भारत जानुभन्दा अगाडि भारतीय पक्षलाई सूचना गरें, जलमार्गबाट, नेपालबाट हामी समुन्द्रसम्म जान चाहन्छौं । त्यसमा भारत सहयोगी हुनुपर्‍याे। त्यो कुरा प्रधानमन्त्रीको भ्रमणमा प्रधानमन्त्रीले गर्नेवाला छ र त्यसको तयारी होस् । मैले त्यो खबर पठाएँ र म जाँदा मैले त्यो पनि गरें र सार्वजनिक पनि गरें । र, अहिलेसम्ममा एक वर्षभन्दा छोटो अवधिमा यसले खास आकार लिँदैछ । मूर्त रुप लिदै छ । यसबाट भारत पनि उत्साहित भएको छ ।

भारतले पनि गण्डकीको त्रिवेणीसम्म पानीजहाज ल्याउने कुरा गरिसक्यो र हामी अब भित्र एउटा हामीलाई त्यो जहाज राख्ने ठाउँ निर्माण गर्दा पुग्छ । किनभने त्यहाँसम्म त आइसक्यो । त्यहाँबाट यता आउनको लागि हामीलाई एउटा सी पोर्ट चाहिने । त्यति गरेदेखि पुग्छ र यहाँबाट हामी बे अफबङाल, त्यहाँ गएर ठूलो जहाजमा सिफ्ट गर्नुपर्ला, जहाज टु जहाज ।

भनेको यो डेभलपमेन्टको हिस्टोरिकल डिपार्चर हो ?

रेलका सम्बन्धमा हामी त्यही गरेका छौ । पूर्व पश्चिम, बाटोको बिस्तार, बाटोको सञ्जाल, बाटोको बिस्तार, बाटो चौडा गर्ने कुरा र रोजगारीका अवसरहरु सिर्जना गर्ने कुराहरु । तपाई दिनदिनै हेरिरहनुभएको छ, कसरी कृषिलाई आधुनिकीकरण गर्दैछन् हाम्रा युवाहरु, हाम्रा जानकारहरु, प्राविधिकहरु, कसरी यसलाई काम गर्दैछन् । नयाँ–नयाँ इन्नोभेशनहरु कसरी हुदैछन, रिसर्च विभिन्न ठाउँहरुमा कसरी हुदैछ, पशुपालनको सेक्टरमा केके नयाँ–नयाँ कामहरु हुदैछन्, मत्स्यपालनको क्षेत्रमा के–के कामहरू हुँदैछन्, पोल्टीको सेक्टरमा के–के हुँदैछ ।

अस्तिको दिनमा मात्र मैले एउटा कारखाना उद्घघाटन गरे । अब नेपालमा भ्याक्सिन आफै निर्माण हुन्छ, र १० प्रतिशत हामी यहाँ खपत गर्न सकौंला । ९० प्रतिशत भ्याक्सिन बाहिर एक्स्पोर्ट गर्छौं । अथवा यो बेसिक्ली, एक्स्पोर्ट इन्ड्रस्ट्री भयो । किनकी हामी यति धेरै खपत गर्न सक्दैनौं । त्यसकारण हामीलाई पुगेर अहिले त हामीले पुगेर १० प्रतिशत खपत गरेका छांै, जब यसको भोलुम बढ्छ उत्पादनको तब, हामीले हाम्रो खपतको मात्र चाँहि घट्दै जान्छ प्रतिशतमा । विदेशमा निर्यातको प्रतिशत बढ्दै जान्छ, । किनभने त्यो भोलुम बढ्छ, त्यस भोलुममा हामी प्रतिशत चाहिँ हामी त्यति खर्च गर्दैनौं । यो एक ठाउँमा मात्र हैन, हामीले हरेक ठाउँमा ।

यत्तिकै शिक्षाका लागि, विद्यार्थी भर्नाका लागि अथवा एउटा रमाइलोका लागि दुर्गम पुगेका छैनौँ । यो आउँदो वर्षमा हामी टुङ्याउँछौ । राष्ट्रपति महिला सशक्तिकरण कार्यक्रम, त्यसमा हामीले सत्ताइस वटा जिल्लामा सञ्चालत गरेका छौ । जुन जिल्ला पछाडि परेका छन्, छाउपडी जति कराए पनि महिलाहरु आफैँ बस्न गइरहेका छन् । पाप लाग्छ हँुदैन, छाउपडी त अलग्गै बस्नुपर्छ भन्ने, छाप्रामा बस्नुपर्छ भन्ने । छाउगोठमा बस्नुपर्छ भन्ने, घरमा बस्न मिल्दैन, छुन मिल्दैन, महिलाहरु आफैँ भन्छन मलाई पाप लाग्छ, म कसरी बस्न सक्छु त्यो, त्यस्तो अवस्था छ त्यहाँ । त्यो बलजफ्ती हामी गर्न सक्दैनौं । त्यसलाई शिक्षाद्वारा, चेतनाबाट निर्मुल पार्नुपर्छ । त्यसकारण हामीले यस्ता कुराहरुका लागि महिला सचेतना तथा सशक्तिकरण कार्यक्रम २७ वटा पछाडी परेका जिल्लाहरुलाई समावेश गरी यस वर्र्ष सुरु गरेका छौं । आगामी वर्ष अरु जिल्लाहरुमा लिएर जान्छौं । यस ढंगले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भइहाल्यो, अरु …।

राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग प्रधानमन्त्री मातहत ल्याइए, ठूलो बद्मासी भएको छ भन्ने अनुगमनका लागि त्यो आवश्यक थियो ? तपाईको अभिलाषा समृद्धिको आधारलाई अगाडि बढाउन हो वा शक्तिको श्रोत सबै ल्याउन र पदमा अजम्वरी बन्नका लागि हो ?

यसभित्र दुईवटा पक्ष छन् । एउटा त यो प्रधानमन्त्रीय प्रणालीमा, प्रधानमन्त्रीमा सम्पूर्ण कार्यकारी अधिकारहरु केन्द्रित हुन्छन् । सबै मन्त्रालय मेरै मातहत छन् । कसलाई भ्रम पर्‍याे कि यति मात्र ल्यायो, अरु छोड्यो भन्ने । सबै मन्त्रालय मेरै मातहतमा छन् । सबै मन्त्रीहरु पनि मेरै मातहतमा हुनुहुन्छ । सबै विभागहरु, जुन–जुन मन्त्रालयका हुन्, ती कार्यकारी प्रमुखकै मातहत छन् । तसर्थ यो शक्तिशाली हुनका लागि ल्यायो । हैन, जस–अपजस, दोष अर्काले टाउकोमा छोडीदिएर काम गरे भइहाल्यो नि । तर, प्रश्न जस–अपजसको होइन, अहिले मैले जुन केही दृष्टान्त भनें, यी संस्थाहरु सतर्कता केन्द्र, राजश्व अनुसन्धान । यिनीहरु आफ्नो मातहतमा ल्याएँ । त्यसको अर्थ हो – मैले सोझै भ्रस्टाचार नियन्त्रणका लागि, हुन नदिनका लागि, आफैले हेर्ने, आफैले त्यसको निगरानी गर्ने र नजिकबाट तीव्र र लगातारको निगरानी गर्ने । यस कामका लागि र यसो गरिरहँदा शक्ति केन्द्रित हुने भन्ने कुरा बेतुकको कुरा हो ।

लोकतन्त्रमा शक्ति पृथकीकरणको सिद्धान्त छ । संसदको आफ्नो अधिकार छ, व्यवस्थापिका छ, कार्यपालिका छ र न्यायपालिका छ । राज्यका तिन अङ्ग छन् र यी स्वतन्त्र छन् आफ्ना आफ्ना ढंगले । फेरि पनि संविधानबाट बाँधिएका, एउटा राष्ट्रका, एउटा देशका, एउटा सरकारका अंगहरु हुन् । यी सबै नेपाल, नेपाली शासनका, नेपाली राज्य सत्ताका अंगहरु र तिनको कामको निश्पक्षता, प्रभावकारिता, सन्तुलन, नियन्त्रण आदिका लागि शक्ति पृथकीकरण गरिएको हुन्छ । पृथक–पृथक अंगलाई पृथक–पृथक शक्ति प्रदान गरिएको हुन्छ संविधानबाट । संविधानले संसदबाट या संविधान सभाबाट शक्ति प्राप्त गरेको हुन्छ । त्यो शक्ति ती जनप्रतिनिधिले जसले संविधान बनाए वा जसले संविधानको संशोधनको हक राख्दछन् । तिनले जनताबाट अधिकार प्राप्त गरेका हुन्छन् । जनताबाट दिइएको अधिकार प्रयोग गर्न उनीहरुले संविधान निर्माण गर्छन् ।

एउटा पुस्तकमा जनताका सम्पूर्ण अधिकारहरु, आकांक्षाहरु, तिनीहरु चाहिँ त्यहाँ संगठित गर्‍याे हुन्छ । अनि त्यस किताबले सबै चलाउँछ । न्यायालयलाई पनि त्यसैले चलाउँछ, सरकारलाई पनि चलाउँछ र सरकारलाई निदृष्ट गरेर उसले जनताले त्यस पुस्तकमार्फत अधिकार तोकेर दिएको छ, यो–यो अधिकार भनेर। यसरी सरकारका आफ्ना काम, कर्तव्य छन् र प्रधानमन्त्रीका आफ्ना काम, कर्तव्य छन् । कुन लिएर, कुन छोडेर, कसो गरेर भन्ने कुरा होइन । अहिलेको प्रधानमन्त्री जसले एउटा मन्त्रालय राख्दैन । कुनै मन्त्रालय राख्या छ र ? कसैले रक्षा आफूलाई चाहिन्छ भन्छ । कसैले अर्थ चाहिन्छ भन्छ । कसैले परराष्ट्र चाहिन्छ भन्छ । कसैले के चाहिन्छ भन्छ । अनि पावर केन्द्रित गर्नका लागि कोही कोही देशमा १० वटा विना विभागीय मन्त्री प्रधानमन्त्री कार्यालयमा राखिएको हुन्छ । ताकि सम्पूर्ण कुरालाई त्यहाँबाट कन्ट्रोल गरियोस् । तर, यहाँ त्यो पनि गरिएको छैन ।

तर यसो केही गर्नु पर्र्दैन । केही नगरे पनि संधिवानले प्रधानमन्त्रीलाई अधिकार दिएको छ । संविधानले दिएको छ र संविधानले दिएको त्यो अधिकार प्रयोग गर्ने जिम्मा प्रधानमन्त्रीको जिम्मा, त्यो चाहिँ पार्लामेन्टले मलाई दिएको छ । संविधानले मलाई दिएको छैन, प्रधानमन्त्रीलाई दिएको छ । प्रधानमन्त्रीको अधिकार प्रयोग गर्न संसदले मलाई जिम्मा दिएको छ । त्यसकारण मैले प्रधानमन्त्रीका अधिकारहरु प्रयोग गर्छु । कर्तव्यहरुको पालना गर्छु । जिम्मेवारी पूरा गर्छु । अनि संविधानले भनेका प्रधानमन्त्रीका अधिकारहरु, अत्यन्त खुकुलो ढंगले बीना विभागीय मन्त्रीहरुको थुप्रो नलगाएर अथवा मन्त्रालयहरु आफूमा नराखेर, कुनै मन्त्रालय नलिएर, कतिवटा हेर्न पर्ने ती पछि कहिले कसलाई पर्ला थाहा छैन । अहिले संक्रमणकालीन स्थिति नै छ ।

हामी मुलत सक्रमण टुङ्गायौँ । तर, गरीब देशलाई धनी बनाउनु छ । अव्यवस्थितलाई व्यवस्थित बनाउनु छ । पछाडी परेकालाई आधुनिक नेपाल बनाउनु छ । ट्याक छोडेकोलाई ट्याकमा ल्याउनुछ र बेथिति आदि, ईत्यादीलाई बदल्नु छ । यस्तो अवस्थामा चाहिँ केही समयका लागि कुन चीज कतिबेला कहाँनेर राख्नुपर्छ भन्ने कुरा व्यवस्थित गर्नुछ । अब चेस खेल्दा यो यहाँनेर चाहिने यो मन्त्री चलाइदियो, घोडा चलाई दिएर मैले हारें । मैले चाहिँ यो हात्ती चाहिँ चलाइदियो र हारें । यस्तो खालको कुरा चाहिँ उचित होइन । यो जतिबेर जुन जसरी चलाउन पर्ने हो, त्यसैगरि चलाउने हो । अहिले भ्रष्टाचार रोक्ने हो । नियन्त्रण गर्ने हो । उन्मुलन गर्ने हो । अहिले सुशासन दिने हो । अहिले शान्ति सुरक्षा कायम गर्ने हो । अहिले कहाँ कहाँ के–के भइराखेको छ भन्ने कुरा थाहा पाएर त्यसलाई अनुचित हुन नदिने र रोक्ने हो । त्यस कामका लागि जे–जे गर्नुपर्छ, त्यो गर्ने हो ।

यो सरकार मिडिया फ्रेन्डली छैन वा प्रेस स्वतन्त्रताको पक्षमा छैन । यहाँ डावोसमा यहाँ जाँदा पनि त्यहाका विश्वप्रसिद्ध न्यू योर्क टाइम्सका पब्लिसरले पनि यहाँलाई त्यही प्रश्न सोध्नुभो । के यो सरकार वा कम्युनिष्ट पार्टीको सरकार प्रेस विरोधी छ ?

मैले अघि तपाईसँग भनेको थिए । परिश्रम बिनाको पारिश्रमिक, काम बिनाको रोजगारी, आम्दानी । यस्तोमा सक्रिय रहेका मान्छेहरु सक्रिय छन् । त्यसको प्रभाव त्यहाँसम्म पनि पुर्‍याइएको रहेछ । त्यो पुर्‍याइएको मलाई पहिले नै जानकारी थियो । त्यो राम्रै भयो, मैले त्यहाँ स्पष्ट गर्ने मौका पाएँ । मैले कुनै कुरा त्यहाँ घुमाई फिराई लुकाएर, या लोकचार पारेर या अलिक ढाकछोप गरेर त्यसरी गर्नुपर्ने पनि थिएन । मैले खुलस्त आफ्ना कुराहरु राखेको छु । मैले भने स्वतन्त्रताका हकहरुका लागि, मानव अधिकारका लागि र प्रेसको स्वतन्त्रताका लागि मैले ५० वर्षभन्दा बढी लडाई लडें । त्यस कारण म लोकतन्त्रका हरेक मुल्य मान्यताहरुको रक्षाको पक्षमा जीवन दिन तयार भएर आएको मान्छे हुँ । म जीवनपर्यन्त त्यस पक्षमा रहन्छु । लोकतन्त्र, लोकतान्त्रिक मूल्य मान्यता जसभित्र वाक् प्रकाशन स्वतन्त्रता पर्छ । प्रेस स्वतन्त्रता पर्छ । त्यसको पक्षमा म हुन्छु नै ।

यसभित्र but and if को कुरै छैन । यसमा कुनै बाहानाबाजीको पनि कुरा छैन । फेरि अर्को कुरा, अर्को कुरा म के भन्न चाहन्छु भने मेरो बोल्ने हक छ, वाक् स्वतन्त्रता मसँग छ । तर मैले तपाईलाई अपमान गर्न मिल्छ ? तपाईको आत्म सम्मानको पनि हक छ । त्यो पनि हक छ नि । अनि यो हकको प्रयोग गर्दा त्यो हक थिचोमिचो गर्न हुन्छ कि हुदैन ? मसँग बोल्ने हक छ, मैले तपाईप्रति झुटा आरोप लान्छनाहरु लगाउन मिल्छ कि मिल्दैन ? तपाईप्रति अमर्यादित, अश्लिल, स्तरहिन कुराहरु बोल्न हुन्छ कि हुदैन ? यस्तो हुँदैन है भन्यो भने प्रेस स्वतन्त्रता समाप्त भयो, प्रेस स्वतन्त्रता विरोधी कुरा भो भन्नु कति वान्छनीय हुन्छ ? कतिवटा सामाजिक सञ्जालमा यस्ता कुराहरु आएका हुन्छन् । ती कुराहरु यति तल्लो स्तरका छन् । यति समाजलाई हानिकारक छन् । यति नयाँ पीडिलाई बिगार्ने खालका छन्, हानि गर्ने छन् ।

ति कुराहरु, ती कुराहरुको पक्षपोषण गर्न मिल्छ ?

अस्ति मलाई आश्चर्य लाग्यो, सदाचार नीतिको विरोधमा मच्चियो र वक्तव्यबाजी अनेक भए । सदाचार त्यो कही पास भएको पनि छैन, कही केही भएको छैन । यस्तो तहल्का कसरी मच्चिएको छ के भएको हो । नेपालजस्तो देशमा पनि सदाचारको कुरा गर्ने ? सदाचार भन्ने ? भन्न पाइन्छ ? चलिरहेको धन्दा बन्द गर्दिने ? यस प्रकारको कुरो रहेछ । कुन कुन देशमा सदाचार भन्न पाइने ? कुन कुन देशमा कानून अन्तरर्गत चल्नुपर्ने, कुन कुन देशमा कानून नमाने पनि हुने ? कुन कुन देशमा बेथिति हुनुपर्ने ? कुन कुन देशमा प्रदर्शन स्थल तोकिन पाउने ? कुन कुन देशमा जहाँ पनि प्रदर्शन स्थल हुने ? सद्धे र पागल छुट्टिन नपर्ने ? नाङ्गै मान्छे, एक्लो मान्छे, नाङ्गै के सनकले माग के हो थाहा छैन । कहिले कसैलाई केही बताएको छैन । माग केही बताएको छैन ।

अश्लितापूर्वक अब मानव समाजमा नाङ्गिनु पनि अश्लिता होइन, सार्वजनिक ठाउँमा भने त, होइन भने केही माग मागेको छैन । केही कुरा भनेको छैन । केही कुरा, केमा असन्तुष्टि त्यो पनि थाहा छैन । अचानक मान्छे निश्किन्छ नाङ्गै । के हो भन्दाखेरि मेरो विरोध । के को विरोध ? सरकारको विरोध । किन विरोधभन्दा सरकार मन परेन । अव यो कुरालाई पनि यस्तो त राम्रो भएन भन्दाखेरि यहाँ फ्रिडम अलिक इस्कुजिङ्ग भइराख्या छ । स्वाधीनता, स्वतन्त्रताका हकहरु खुम्चिँदो छ भन्ने त्यही कुरा पुर्‍याएका रहेछन् डावोसमा पनि, न्यूयोर्क टाइम्सका पब्लिसर, सम्पादक जे हुन्, त्यस स्तरका मान्छेले त्यस्ता हल्लाबाटै राम्रो कुरा नबुझिकन नेपालको बुझ्न त गाह्रो छैन नि । नेपाल राम्ररी नबुझिकन मण्डलामा नाँच्न पाइएन, उफ्रिन पाइएन भनेर भन्छ नि स्वतन्त्रता, प्रजातन्त्र त सकिए छ त नेपालमा त ।

मण्डलामा उफ्रिन नपाएपछि त खोई प्रजातन्त्र ? यस्तै सुनाएका हुँदा हुन् । तर, यो सही कुरा होइन । प्रजातन्त्र मण्डलामा उफ्रिनु र प्रजातन्त्रका बीचको सम्बन्ध कुनै छैन । मण्डला विरोध प्रर्दशनको ठाउँ पनि होइन र पूजनीय ठाउँ हो र त्यो आम सभा गर्ने ठाउँमा पनि होइन । विरोध प्रर्दशन गर्ने, उफ्रिने, कट्टु पेटिकोटवाला ठाउँ पनि होइन त्यो । जसलाई जे–जे लगाउन मन छ लगाए भयो । तर, कुन ठाउँको प्रयोग कसरी गर्ने ? कसलाई प्रसिद्ध हुन मन लाग्छ, कसलाई अखबारमा आउन मन लाग्छ, कसलाई मिडियामा छाउन मन लाग्छ, कसलाई सेलिवे्रटी हुन मन लाग्छ, गरे भो । यहाँ त के भर्खरका जवान मात्र होइन । पूर्व प्रधानन्यायाधीश भइसकेकासम्म पनि सेलिब्रेटी अचम्म लाग्छ ।

तमासा, मैले कहिले विद्धताको दावी गर्‍या छु र ? मैले इमानको मात्र दावी गर्‍या छु । इमान मात्र मसँग पूर्णत छ । मसँग पूर्ण विद्धता छ, पूर्ण ज्ञान छ भैले भन्या छैन । ज्ञान पूर्ण हुनै सक्दैन । मैले आफूलाई विद्धान भनेको पनि छैन । पढाई लेखाई नभएको मूर्ख भन्न मण्डला किन पुग्नपर्छ र ? घरैबाट भने पनि हुन्छ, त्यति गरे पनि हुन्छ । फेरि मैले दावी नै गरेको छैन म विद्धान हुँ, होइन, म विद्धान होइन । म इमान्दार मात्रै हो । म इमान्दार मात्र हुँ । मैले भनेको छु, म विद्धान होइन । अनि विद्धान होइन भनेर गाली गरिरहनुपर्ने के छ र ?

प्रधानमन्त्रीज्यू, अन्तमा तपाईले आधार वर्ष घोषणा गर्नुभयो, दुईटा पार्टी एउटा बनाउनु भयो, त्यसको एउटा ऐतिहासिक महत्व छ । नेपाल राजनीतिक स्थितरता बाटोमा गएको छ । अर्को चाहिँ मिडियाको सन्दर्भमा के अपेक्षा छ ?

तपाईले मलाई सोध्नुभएको प्रश्नमा नि, मिडिया, मिडियाको सन्दर्भमा यो मिडिया फ्रेन्डली म छैन भन्ने पनि होइन । मलाई त्यस्तो लाग्दैन । मिडिया मेरो विरुद्धमा छ भन्ने पनि लाग्दैन । मैले मिडियाबाट पुराका पुरा सहयोग पाएको छु । मलाई मेरा साथीहरुले आलोचना गरिराख्या छन् । टिप्पणी पनि गर्छन् । साथ पनि दिन्छन नि त । साथ पनि दिइराख्या छन् । त्यस कारण हाम्रो लोकतन्त्र, लोकतान्त्रिक प्रणाली कलिलो–कलिलै छ । कहाँ आलोचना गर्ने ? कहाँ टिप्पणी गर्ने ? कहाँ नगर्ने ? कहिले कहिले छुटिदैन । तलमाथि पर्न सक्छ, त्यति मात्र हो । सञ्चार माध्यमले पनि कहिले कहिले अब यो सञ्चार माध्यमले पनि कति भयो । उमेर नै कति भो ? मोटामोटी १०, १५ वर्ष २० वर्ष भयो होला । यस बीचमा एकदम परिपक्कता आउनुपर्छ भन्ने केही छैन ।

यो परिपक्कता लोकतान्त्रिक अभ्यासमा पनि नआएको हुन सक्छ । सञ्चार माध्यममा पनि नआएको हुन सक्छ । यस्ता कुराहरुप्रति, सानातिना कुराहरु, सानातिना चुकहरुप्रति अथवा कहिले कहिले मान्छे हो कुनै कुनै सम्पादकलाई, कुनै कुनै रिर्पाेटरलाई, कुनै कुनै पब्लिसरलाई कसलाई केमा झोक चल्ला, अलिकति केही लेख्ला । यसको अर्थ मिडिया मेरो विरुद्धमा गयो, सरकारको विरुद्धमा गयो भन्ने होइन । म त्यस रुपमा बुझ्दिनँ । यति फ्रेन्डली छ, अत्यन्तै आत्मीय । मेरो मन नपरेको कुरा पनि मिडियाले भनिहाल्छ । मिडियाको मन नपरेको कुरा पनि मैले भनिहाल्छु । यति खुलस्त, यति आत्मीय छ नि । मिडिया पनि मसँग डराउदैन । विश्वास छ ममाथि यो मिडिया फ्रेन्डली छ । यसले दुश्मनी गर्दैन भनेपछि डराउँदैन ।

म पनि मिडियसँग डराउँदिनँ । किन भने मिडिया मेरो आत्मीय छ । त्यस कारण त्यो सम्बन्धलाई पनि कसै कसैले बुझ्दैन् । कहिले कहिले मैले अलिकति टिप्पणी गरे भने लौँ मिडियाको सम्बन्धमा बोल्यो । अब यसलाई मिडियाले थिचथाच, किचकाच बनाएर अचार बनाउछन् होला जस्तो ठान्छन् कतिले । अरुलाई भए मिडियाले थिचथाच गर्ला, मलाई गर्दैन । यो जे गरेको छ यसले अनेस्टली गर्‍या छ भन्ने थाहा छ सबैलाई ।

सरकारका बारेमा तपाईको सन्तुष्टिमा यदि १० नम्वरमा राखियो भने आधार वर्ष वनाउनका लागि १० नम्वर यसको पूर्णाङ्क थियो भने १० मा राखियो भने यो आधार वर्ष अर्थात् पहिलो वर्षलाई कति नम्वर दिन उचित होला ?

यसका केही पक्षहरु छन् । यदि तपाईले यो नयाँ सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक प्रणाली र संविधान कार्यान्वयन र हाम्रो अगाडि बढ्ने बाटोको आधार जग तयार गर्ने र समुचित गर्ने पक्षमा हेर्नुभो भने पूर्णाङ्क १० तर तपाईले दिनुहुन्छ १५, पूर्णाङ्कभन्दा डेढ बढी… ।

तर म कन्जुस्याई नगरी तपाईले भनेकै विषयमा डिस्टिङ्सन दिन्छु ।

अझै अझै यसमा के छ भने, यो १ वर्षमा जे भो नयाँ प्रणालीमा अनेक खचपच हुन्छन्, उतार चढाव हुन्छन्, झमेला आउँछन्, समस्या हुन्छन्, अनेक चीज हुन्छन् । यस्तो परिस्थितीको यो कच्चापनको फेजायल सिचुयशन हो नि नयाँ । यसलाई प्रयोग गर्न अनेक तत्वहरु पनि सक्रिय पनि भए । त्यो सक्रिय हुँदाखेरि जुन यो १ वर्षभित्रै सफलताका साथ यी काम सम्पन्न गर्‍याे नि, यो पूर्णाङ्कभित्र दिएर पुग्दैन । त्योभन्दा बढी दिनुपर्छ, इन्टरनेशनल प्राक्टिस हो एउटा । अर्को डेलिभरिको पाटोमा, सुशासनको पाटोमा प्रोगेस छ । प्रोगेस, पासभन्दा माथि भन्नुपर्छ यसलाई । किन भने यो प्रोगेस छ । यसमा सुशासनको पाटोमा र अरु आर्थिक उन्नतिको मार्ग चित्र यसले जो प्रस्तुत गर्‍याे । यो मार्ग चित्रसँग संक्रमणकाल जसरी टुङ्गयार मार्ग चित्र प्रस्तुत गर्‍याे। त्यससँग दुनिया आश्चर्य चकित छ । त्यसमा पनि राम्रो पर्फमेन्स गरेको छ ।

अब जनताको जीवनस्तरमा परिवर्तन ल्याउने कुरामा यति छिटो सम्भव हुँदैन थियो पनि । केही केही यो कम्लिकेशन, जटिलताहरु त्यसको बीचमा भन्दा पनि यो प्रदेशको अधिकार भित्र हो कि ? केन्द्रको अधिकार हो कि ? स्थानीय तहको हो कि ? जस्ता अन्योलले केही केही जनतामा इरिटेशन पैदा हुने, केही केही असन्तुष्टि पैदा हुने र डेलिभरि नहुने । अर्को केही केही सच्याउनुपर्ने कुराहरु जस्तो सेवा केन्द्र त हामीले तोक्यौँ । तर जिल्लामा भएका कार्यालयहरु अब ४।५ वटा जिल्लाको एक ठाउँ । एउटा जिल्लामा जाँदा त्यसले समस्या पैदा गरेको छ केही । यसलाई पुनर्विचार गर्नुपर्ने हो कि ? यो एउटा चिन्तनीय पक्ष छँदैछ । यी पक्षमा जसले जनतामा इरिटेशन बढाएको छ, अलिक असन्तुष्टि बढाएको छ । यी पक्षहरुलाई हेर्दाखेरि १० भन्दा अलिकति कम दिनुपर्छ ।

पार्टीमा २ जना क्याप्टेन हुनुहुन्छ यसमा छुट्टै कुरा गरौँला अर्को क्याप्टेन सँगै । तपाईलाई नै सबै थोपर्ने, किन थोपर्ने ? तपाई यो सरकारको क्याप्टेनका हिसावले, टिम लिडरका हिसावले, टिम वर्कको पर्फमेन्स, त्यो टिमप्रतिको तपाईको आशालाई तपाईले नम्वरमा वा त्यसको आसयमा, कसरी बताउने, कति, कसरी अभिव्यक्त गर्न चाहनुहुन्छ ?

तपाई भने जस्तो यदि पूर्णाङ्क १० नै राख्ने हो भने, एउटा त यो नयाँ प्रणाली, अर्को नयाँ मान्छे । अहिलेको प्रणाली र परिस्थितिले माग गरेको विलकुल रचनात्मक नयाँ सोच र नयाँ तरिका । मन्त्री भइसकेका भए पनि पहिलेको मन्त्रीजस्तो होइन । अहिले फरक मन्त्री नभइसकेका लागि नयाँ मन्त्री हुनुको अनुभव नयाँ अभ्यास । अर्को अझ नयाँ तरिकाले काम गर्नुपर्ने परिस्थिति । यस परिस्थितिलाई अलिकति म्याच गर्न नसकेको हो कि । यसमा म नियतको खोट देख्दिनँ । तर यो म्याच गर्ने कुरामा अभ्यासको कमि राम्रै नियत भएको मान्छेलाई १० किलोमिटर दौडायो भने कोही कोही नसकेर छोड्दिने, कोही कोही चाहिने अलिक पर पुगेपछि धेरै स्लो मात्रै दौडनसक्ने त्यस्तो हुन सक्छ । कसैले जान्न सक्दैन । त्यो इमानले मात्रै हुँदैन नि । त्यहाँ फोक्सोको पनि कुरा चाहियो, त्यहाँ मसलको पनि कुरा चाहियो, त्यहाँ ब्रेन पनि त्यतिकै चल्न पर्‍याे । यो सबै चिज मिल्दाखेरि मसल, मुटु, फोक्सो सन्तुलन । त्यो चाहिँ कसैको अब मुटु अलि राम्ररी काम नगरेको । कसैको फोक्सोले अलि साथ नदिएको स्वाँ–स्वाँ बढी भएको, कसैको मसल थाकेको यस्ता कुराहरु हुन्छन् । जसले अलिकति अपेक्षा अनुसारको काम कतिपय ठाउँमा नभएको जस्तो देखिन्छ ।

र, अन्तिममा प्रधानमन्त्रीज्यू, एक वर्ष पूरा भयो । मुटु, फोक्सो, कलेजो, त्यसको मृगौला, त्यसका हात, त्यसको खुट्टा तिनीहरु ठिक ठिक ठाँउमा परे वा परेनन भनेर रिभियू गर्ने बेला भयो ? अथवा गर्न थाल्नु भयो ?

होइन, यो त मैले जतिबेला मन्त्री नियुक्त गर्नुपर्ने हो, नियुक्तिको सिफारिस गर्छु र नियुक्ति भएर काममा आइसकेपछि काम मैले हेरिरहेको हुन्छु । कामको इभाइलुशन गरिरहेको हुन्छु । इभाइलुशन त मैले हरदम गर्ने हो, गरिरहेको छु । त्यस कारण मैले भनेको अलिकति जनताको अपेक्षाअनुसार, समयको मागअनुसार कतिपय साथीहरुले अलि गर्न नसकेको हो कि जस्तो खालको सुनिन्छ । त्यसमा केही सत्यता पनि छ । त्यसको अर्थ कतै इमानमा खोट इत्यादि म देख्दिनँ, मैले अघि नै भनें । मूल्याकन भइरहने कुरा हो र भइइरहको छ । जति बेला सरकारलाई प्रभावकारी बनाउन कुनै कदम चाल्नुपर्छ नीतिगत वा व्यवहारिक । ती त चाल्नै पर्छ । तर, अहिले मैले त्यस्तो खालको व्यवहारिक कदम आवश्यकता त्यति महशुस गरेको छैन ।

त्यति धेरै गर्नु भएको छैन ?

त्यस्तो अहिले मैले आवश्यकता महशुस गरेको छैन । यस कारण कि हामी भर्खर भर्खर यो संघीयतामा प्रवेश गरेका छौं । हिजोको मन्त्रालय जस्तो होइन । मन्त्रालयहरु अधिकारहरु सीमित छन् । अब प्रदेशसँग कति मिलेर काम गर्ने, कति कति प्रेदशका कुरा सुन्ने, कति आफूले लिने, कति तल पठाउने, कति स्थानीयमा पठाउने आदि कुराहरुको सन्दर्भमा अझै स्पष्टता नभएको अवस्थामा बजेट कँहानेर उता पठाइयो भनेको छ, उता भएन भनेको छ । उसले नबुझेर आफ्नै योजना बनाएको छ । चालु योजनाहरु अलपत्र परेका छन् । जस्ता खालका कुराहरु त्यो अस्पष्टताले भएका कुराहरु हुन् । त्यसलाई व्यक्तिलाई दोषी बनाउनु पनि हुँदैन । यस्ता खालका पक्षहरु पनि छन् । त्यस कारण यो अहिले संक्रमणकालीन अवस्थामा नै त्यति धेरै निष्कर्ष निकाल्नु हुन्छ जस्तो मलाई लाग्दैन ।

दुईवटा पार्टी एक भएको तर पार्टीका तलदेखि माथिसम्म सेट तयार नभएको । त्यसमा पनि धेरै समय अल्झिनु परेको इन्टरनर रिफ्ले पनि सरकारको प्रगतिमा असर परेको हो ?

त्यसमा असर त पार्छ नै । किनभने कतिपय मान्छेहरु सरकारको पक्षमा, पार्टीको पक्षमा बोलेको नसुनिनु, सरकारको पक्षमा बोलेको नसुनिनु, बरु बिपक्षमा बोलेको सुनिनुजस्ता खालका कुराहरुले अलिकति जनतामा अन्यौल पार्ने र कार्यकर्ताको विश्वासमा कम ल्याउने । त्यसमा पनि पार्टी एकीकरण भयो तर एकीकृत पार्टीका संगठनात्मक एकतामा बिलम्ब हुनुजस्ता कुराले संगठित गतिविधि हुन नसक्नु, त्यसले संगठित गतिविधि त हुने भएन । यस्ता खालका कुराहरुका असरहरु स्वभाविक रुपमा केही पर्छन र आलोचना, विरोधका, असहयोगका पक्षहरु जुनसुकै कारणले जसरी प्रकट भएका छन् । त्यसका केही नकारात्मक असरहरु त भइहाल्छन् ।

अन्तिममा, यो एक वर्षमा जानेर त तपाईबाट हुने कुरा भएन अञ्जानवस् आफैबाट ठ्याक्कै यही नभने पनि यही पक्षमा मेरो पक्षबाट पनि चुक भयो कि भन्ने यहाँलाई केही लागेको छ ?

एउटा अलिकति लागेको छ । मैले समयलाई अधिकतम प्रयोग गरेको छु । अधिकतम काम गर्छु । तर, त्यसको व्यवस्थापन अलि उचित हुन सकेन कि । जसले गर्दा सम्पर्क गरिनुपर्ने व्यक्तिहरुसँग सम्पर्क गरिनुपर्ने तहमा कमी रह्यो कि । त्यसले पनि असन्तुष्टि बढेको हो कि । त्यो चाहिँ मलाई अलिकति मलाई लागेको छ । सायद त्यसमा चाहिँ अलिकति ध्यान दिनु र सच्याउनु जरुरी छ कि । त्यो मैले महसुश गरेको कुरा हो ।

हस् यहाँलाई धेरै धेरै धन्यवाद !

हस्, धन्यवाद !