‘सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा गर्नुहोस्’

kp oli
लाेकपाटी न्यूज

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई ब्याजदर लचिलो गर्न आग्रह गरेका छन् । उनले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि बैंकलाई ब्याजदरमा लचिलो हुन आग्रह गरेका हुन् ।

शनिबार नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिसँगको भेटमा उनले बैंकलाई ब्याजदरमा लचिलो हुन आग्रह गरेका हुन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा आज महासङ्घका प्रतिनिधिहरूसँग भेट गरेका थिए ।

उनले बैंकलाई उत्पादनमूलक, रोजगारीका अवसर सिर्जना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरूमा लगानी गर्न सुझाव समेत दिएका छन् ।

“लगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी बढाउनुहोस् र त्यस्ता क्षेत्रमा गरेको लगानीको ब्याजमा पनि लचिलो हुनुहोस्”, उनले भने, “सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा गर्नुहोस् र सबैभन्दा कम ब्याज उठाउनुहोस् । ”

बिलासिताका वस्तुमा लगानी कम गर्न आग्रह गर्दै ओलीले व्यवसायीहरुको गुनासोका बारेमा बैंकहरूसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री डा युवराज खतिवडा र राष्ट्र बैंकका गर्भनरलाई समेत निर्देशन दिए । ओलीले भने, ‘बैंकहरूले एउटा शर्तमा ऋण दिने र आफूखुशी ब्याज बढाउँदै लैजाने कुरा उपयुक्त हुँदैन । यसमा सरकारले नियमन गर्छ ।’

सरकारले सबै क्षेत्रको एकाधिकार तोड्न खुला प्रतिष्पर्धाको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले सरकार उद्योगी व्यवसायीका समस्या समाधान गर्न सधैँ सकारात्मक रहेको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्