कांग्रेसको विरोध हारको पीडा मात्रै हो : मन्त्री अर्याल

padma-aryal-syanja
लाेकपाटी न्यूज

स्याङ्जा, ४ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले काम शुरु गर्दा विपक्षीलाई छट्पटी चलेको बताएकी छिन् । स्याङ्जामा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारले विकास र समृद्धिका काम गर्दा केही पक्ष अत्तालिएको बताइन् ।

वालिङ नगरपालिका १२ स्थित सिर्सेकोट महिला बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले अहिले केही नेताहरूले सरकारलाई लक्षित गरी दिइएको अभिव्यक्ति त्यसैको उपज भएको बताइन् । मन्त्री अर्यालले संघ, प्रदेश र स्थानीय सरकारबीचमा विभिन्न कुरा गरेर फाटो ल्याउने कोशिससमेत भइरहेको बताइन् ।

‘प्रदेशलाई केन्द्रले अधिकार दिएन भनेर फाटो ल्याउन खोज्ने, स्थानीयले काम गर्न सकेनन् भनेर ह्यारेस गर्ने काम भइरहेको छु, मन्त्री अर्यालले भनिन्,’ सरकारले अहिले काम शुरु गरेको छ। सरकारले काम शुरु गर्दा केहीलाई छट्पटी भइरहेको छ। अहिलेका केही नेताका अभिव्यक्ति त्यहीँ हो ।’

मन्त्री अर्यालले कम्युनिस्ट नेतृत्वको सरकार आएपछि त्यसलाई केही शक्तिले पचाउन नसकेको बताइन् । ‘कम्युनिस्ट सरकार आयो अब त के–के हुन्छ भनेर केहीलाई छट्पटी छ । त्यसैले सरकारविरुद्ध जे मन पर्यो, तथ्यांक यहीँ बोलेर हिडिरहेका छन्,’ मन्त्री अर्यालले भनिन् ।

मन्त्री अर्यालले कांग्रेसप्रति लक्षित गर्दै अब धेरै हारका पीडा नपोखेर रचनात्मक सहयोग गर्न समेत आग्रह गरिन् । उनले भनिन्,’ अब धेरै हारका पीडा पोख्ने होइन, प्रतिपक्षीले पनि सरकारले थालेको विकास र समृद्धिको कार्यमा रचनात्मक सहयोग गरेर जानुस् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको कुरा गर्दा ठूला कुरा गर्ने भनेर खिसिट्युरी गरिएको भन्दै मन्त्री अर्यालले सरकारले ठूलादेखि साना सबै काम गर्दै जाने बताइन् । सरकारले रोजगारमूखी कार्यक्रम सञ्चालन गरेको भन्दै मन्त्री अर्यालले अब अन्तर्राष्ट्रिय बजारसँग ब्यापार गर्न पानीजहाज पनि सञ्चालन गरेरै छाड्ने बताइन् ।

‘विकासका कुरा गर्दा ठूल्ठूला कुरा चाहिदैन रे । सरकारले साना ठूला सबै काम गर्नुपर्छ । सरकारले एकजना मात्र भए पनि रोजगार भएको घर होस् भनेर रोजगारमुखी कार्यक्रम शुरु गरेको छ । यसरी नै गाउँ–गाउँमा साना कार्यक्रम र केन्द्रमा मेगा प्रोजेक्टहरु सञ्चालन गर्ने हो’ मन्त्री अर्यालले भनिन् ।

सरकारले सञ्चालन गरेको विकास र समृद्धिका निम्ति सहकारीलाई माध्यम बनाउनुपर्ने भन्दै मन्त्री अर्यालले गाउँबाट उत्पादन संकलन गरेर बजारीकरण गर्ने अभियानमा सरकार लागेको बताइन् । त्यसका निम्ति योजना बनाएर लाग्न मन्त्री अर्यालले आग्रह गरिन् ।

padma-aryal-syanja-2-

‘गाउँ गाउँमा उत्पादन गरेर तपाईं उद्यमशीलतामा लाग्नुस् । तपाईहरुले गरेको उत्पादन संकलन गरेर बजारीकरण गर्ने अभियानमा सरकार लागेको छु,’ मन्त्री अर्यालले भनिन्, ‘सबै गाउँलाई प्रभाव पार्नेगरी प्रमुख आधारमा केन्द्रित हुनुस् । ५ वर्षमा के गर्ने, १० वर्षमा के गर्ने भनेर योजना बनाएर लाग्नुस् ।’

प्रदेशले विभिन्न आवेदनमूखी कार्यक्रम सञ्चालन गर्न लागेको भन्दै मन्त्री अर्यालले उद्यमशीलतर्फ लाग्न मन्त्री अर्यालले आग्रह गरिन् । उनले सहकारिताको मोडलमा सामूहिकतामा उद्यमशीलतामा लाग्न आग्रह गरिन् । वालिङ नगरपालिका १३ खानिडाँडा उदियाचौरस्थित सरस्वती माध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सब तथा विद्यालय संस्थापक, जग्गादाता एवं अक्षयकोष दाता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकार अब कुनै पनि बहानामा पछि नहट्ने बताइन् ।

राष्ट्र र जनताको आवश्यकता यो सरकारले बुझेको भन्दै मन्त्री अर्यालले कसैको हल्लाको पछि नलाग्न समेत आग्रह गरिन् । ‘राष्ट्र र जनताको आवश्यकता यो सरकारले हेक्का राखेको छ । यो सरकारले सानादेखि राष्ट्रिय दीर्घकालिन महत्त्वका ठूला मेगा प्रोजेक्ट सञ्चालन गर्नुुपर्ने आवश्यकता छ । सरकार अब कुनै पनि बहानामा पछाडि हट्दैन,’ मन्त्री अर्यालले भनिन् ।

शिक्षा क्षेत्रको आमूल परिवर्तन गर्नगरी सरकारले नीति निर्माण गरेर अगाडि बढेको बताउँदै मन्त्री अर्यालले सरकारले यो एक वर्ष महत्त्वपूर्ण कानून निर्माणको कार्यलाई जोड दिएको बताइन् । मन्त्री अर्यालले स्थानीय तहदेखि सबै क्षेत्रमा रोजगारमूखी उद्यमशील कार्यक्रम सञ्चालन गर्ने बताइन् ।

‘यो साल हामीले महत्त्वपूर्ण कानून बनायौं । यो सरकारलाई सानादेखि ठूला सबै काम गर्नुपर्ने आवश्यकता छ । हामी दीर्घकालिन महत्व राख्ने सबै काम अगाडि बढाउँछौं, मन्त्री अर्यालले भनिन्,’ स्थानीय तहमा युवाहरु रोजगारमूखी काम गर्नेगरि अगाडि बढ्नुस्।’