‘श्रीमतीलाई पदमा राखी साँचो आफ्नै हातमा लिने संस्कार हावी छ’: बिना मगर

Bina magar-9
लाेकपाटी न्यूज

चौतारा, ५  फागुन । खानेपानी मन्त्री बिना मगरले सामाजिक जीवनका क्षेत्रमा संस्कार र चिन्तन बदलिन जरुरी रहेको बताएकी छिन् ।

चौतारा सांगाचोकगढी नगरपालिकाले आयोजना गरेको महिला जनप्रतिनिधि र सामाजिक अगुवाहरुको क्षमता अभिवृद्धि सम्बन्धि गोष्ठीमा बोल्दै उनले संविधान बदलिए पनि सामाजिक जीवनका क्षेत्रमा संस्कार र चिन्तन नबदलिएको बताएकी हुन् ।

‘हामीले संविधान बदल्यौँ । तर, संस्कार बदल्न बाँकी नै छ । संविधानमा लेखेर मात्र संस्कार बदलिन सक्दैन, त्यसका लागि सङ्घर्ष जरुरी छ ।’ उनले भनिन्, ‘हाम्रो समाज अहिले पनि सामन्तवादी चिन्तनकै वरिपरि छ । तर, त्यसलाई चिर्नु हाम्रै दायित्व हो । संविधानले हामीलाई धेरै अधिकार दिएको छ । तर, चिन्तन बदलिएको छैन । हामीले चिन्तन बदल्नुपर्छ ।’ चिन्तन बदलेर मात्र संवैधानिक व्यवस्थालाई व्यवहारमा लागू गर्न सकिने उनको भनाई छ ।

यो उपलब्धि यत्तिकै आएको होइन । हामीले सङ्घर्ष गरेर ल्याएका हौँ । बिना त्याग अधिकार आउँदैन । अहिले पनि महिला र पुरुषबीच अन्तर छ ।’ उनले चनिन्, ‘संविधानले समान अधिकार दिए पनि व्यवहारमा त्यसको प्रयोग हुन कठिन भइरहेको छ, यसमा सामाजिक संस्कार र परिवेश पनि जिम्मेवार छ ।’ महिलाहरुले आफ्नो मनोबल उच्च पार्नुपर्ने बताउँदै उनले आफूलाई सामाजिक चुनौतिसँग लड्न तयार गर्नुपर्ने बताइन् । उनले नेतृत्व विकासको पहिलो शर्त आत्मबल भएकाले अरुको भर नपरी आफै बलियो बन्नुपर्ने धारणा राखिन् ।

हामीकहाँ पदमा श्रीमतिलाई राख्ने तर सत्ता सञ्चालनको साँचो आफ्नै हातमा लिने संस्कार रहेको बताइन् । समान अधिकार भने पनि व्यवहारमा घरेलु कामको जिम्मा महिलाकै थाप्लोमा हुने उनको भनाइ छ ।

मन्त्री मगरले जनयुद्धले महिला अधिकार स्थापित गरेको बताइन्। उनले माओवादी आन्दोलनले महिला अधिकारलाई स्थापित गरेको उनको तर्क छ । ‘महिलाहरु मर्न तयार भए, सामन्ती जञ्जाल तोड्न सफल भए, त्यसकारण तिनीहरु नेता भए । जनयुद्धमा पलपल मृत्युको जोखिम हुन्थ्यो ।’ उनले भनिन्, ‘तर, त्यहाँ शोषण थिएन । समाजको जञ्जाल झेल्न पर्दैनथ्यो । मुक्तिको सपनाले नै आज महिला अधिकार स्थापित भएको छ ।’

उनले घरायसी काम र व्यवहारमा अधिकार र कार्यक्षेत्रको बाँडफाँड गर्न सकिएन भने महिला नेता स्थापित हुन नसक्ने बताइन् । महिलालाई अबला र कमजोर मान्ने सोच बदलिन जरुरी रहेको उनको तर्क छ ।