‘हामीले बनाएकाे कानूनले देशमा भ्रष्टाचार बढ्याे’

लाेकपाटी न्यूज

काठमाडौं, ५ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले अख्तियार दुरुपयोग अनुशन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उनले भ्रष्टाचारमा मुछिएर राजीनामा दिएका पाठकलाई कारवाही गरिनु पर्ने बताएका हुन् ।

उनले भने,  ‘यो प्रकरणमा तत्काल पाठकलाई कारबाही होस् भनेर आवाज उठेको छ । जनताले भ्रष्टाचारीहरुलाई छिटोभन्दा छिटो कारबाही होस् र छिटो एक्शन लिनुपर्छ भनेर उठाएको आवाज जायज छ । म पनि त्यही भन्छु । सरकारले यस सम्बन्धमा छानबिन गरेर कारवाहीको प्रक्रिया अघि बढाउँछ ।’

नेपालमा भ्रष्टाचार बढ्नुको मुख्य कारण नै ऐन तथा कानून दोषी भएको स्पष्ट पार्दै उनले भष्टाचार बढ्नुको मुख्य कारण हामीले बनाएका कानूनहरु हुन् भनेका छन् । तामाङले समाजका हरेक व्यक्तिले आफूलाई नैतिक आदर्श बनाउनुपर्नेमा जोड दिए । उनले भने,  ‘भ्रष्टाचारीलाई कारवाही गर्नुपर्छ । उन्मुक्ति दिनुहुँदैन । तर भ्रष्टाचारीलाई कारबाही गर्न विद्यमान ऐन तथा कानुन पर्याप्त छैन् । अहिले कानुनमा व्यवस्था भएको सजाय पर्याप्त छैन ।’

उनले भने,  ‘भ्रष्टाचारीलाई कारबाही हुन्छ भन्नेमा म विश्वस्त छु ।’ उनले अदालतमा पछिल्लो समय उज्यालो किरण देखापरेको बताए । तामाङले भने,  ‘पहिलेको तुलनामा अहिले अदालतमा उज्यालोका किरण देखा परेको मैले पाएको छु। अब कारबाही सरकारले गर्नुपर्छ भन्ने ठाउँबाट राज्यले गर्नुपर्छ भन्ने ठाउँमा पुग्नुपर्छ ।’