स्ववियू चुनाव फागुनभित्रै हुनुपर्छ : शिक्षामन्त्री पोखरेल

girirajmani_pokhrel
लाेकपाटी न्यूज

काठमाडौं, ६ फागुन । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले त्रिभूवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को चुनाव फागुन महिनामै सम्पन्न गर्न प्रस्ताव गरेका छन् ।

प्रतिनिधि सभामा सोमवार भएको प्रश्नोत्तर कार्यक्रममा मन्त्री पोखरेलले बैशाखदेखि नयाँ शैक्षिक सत्र शुरू हुने भएकाले फागुन महिनाभित्रै या चैत्र अगावै चुनाव गर्न प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलको नेता कांग्रेस सभापति शेरबहादुर देउवासँग यस विषयमा छलफल गरेको र प्रमुख प्रतिपक्षी दल सहमत भएको मन्त्री पोखरेलले बताए ।

‘फागुनभित्र स्ववियू चुनाव गरिसक्ने आवश्यकता र प्राथमिकता हो, चैत्रभित्र चुनाव गराएर सकौं । बैशाखदेखि शुरू हुने शैक्षिक प्रणालीलाई प्रभावित हुन नदिऔं,’ उनले भने । सोमबारै त्रिविले स्ववियू चुनावको मिति घोषणा गर्न समिति बनाएको छ ।

सत्तारुढ दल नेकपाका २ विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी) ले फागुन महिनाभित्रै स्ववियू निर्वाचन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । उनीहरुले स्ववियू निर्वाचनका पक्षमा विभिन्न दवावमूलक कार्यक्रमहरुसमेत सञ्चालन गर्दै आएका छन् ।