गीत फेरि अपलोड गर्छु : पशुपति शर्मा

Pashupati Sharma
लाेकपाटी न्यूज

काठमाडौं । हालै सार्वजनिक पशुपति शर्माको स्वर रहेको व्यङ्ग्यात्मक गीत लुट्न सके लुट् कान्छा यतिखेर जताततै चर्चामा रहेको छ । गीतमा प्रयुक्त शब्दहरुले प्रधानमन्त्री तथा राष्ट्रपतिलाई व्यङ्ग्य गरेको भन्दै सो गीतलाई युट्युब च्यानलबाट हटाउन दबाब दिइएपछि गीतको चर्चा सर्वत्र चुलिएको हो ।

गायक शर्माले स्वर्गजस्तो हाम्रो देशमा हजुरबाकै पालादेखि ईन्द्रको शासन हुन नसकेकोमा कम्युनिष्ट सरकारले त्यस्तो शासन ल्याउला भन्ने अपेक्षा राखेको तर देशमा झन भ्रष्टचार, बेथिति र विसंगगि मौलाउँदै गएको कुरा गीतमार्फत् भनेका छन् । उनले भनेका छन्, ‘यो देशमा हजुरबाको पालादेखि नै लुटतन्त्र मौलाउँदै गएको छ । कसैले पनि लुट्न पाइँदैन ।’

उनले गीतमा कुनै नेतालाई मात्र नतोकेर अरु कोहीलाई पनि संकेत गरेको बताएको छन् । शर्माले आफ्नो गीतमा प्रयोग गरिएको शब्दले कसैको आत्मसम्मानमा ठेश पुगेको भए माफी माग्दै राष्ट्रपतिलाई समग्र देशको अभिभावक हो भनेका छन् । र आफूले जनताको तहमा रहेर गीतको माध्यमबाट आम नेपालीले भोगेका, महशुस गरेका र सुनेका कुरालाई लयबद्ध मात्र गरेको प्रष्ट पारेका छन् ।

आफूले अहिले मात्र नभएर विगत लामो समयदेखि देशका विकृति, विसंगति, भ्रष्टचार र गलत प्रणालीप्रति व्यङ्ग्य गर्दै आएको बताएका छन् । ‘मलाई अमेरिका यही मलाई जापान पनि यही, ढाड दुखेरै मार्या लगायतका गीतहरु पनि व्यङ्ग्यात्मक नै रहेका छन्’ अन्तर्वार्तामा शर्माले भनेका छन् ।

शर्माले भने, ‘एउटा कलाकारले गलत बाटोमा नहिँड्नुस्, सही बाटोमा हिँड्नुस् भनेर सचेत गराउँदा त्यति धेरै नराम्रो गरेजस्तो लाग्दैन । गीत बाहिर आइसकेपछि यूवा संघ नेपालका साथीहरुले फोन गर्नुभएको थियो । महामहिम राष्ट्रपतिलाई त्यस्तो नभनेको भए हुन्थ्यो भन्ने गुनासो गर्नुभयो । अर्को यमराजको शासन भन्ने ठाउँमा फुटेजमा उहाँहरुको झण्डा परेको रहेछ । तर, त्यो नियतबस होइन, मलाई पनि थाहा थिएन म बाहिरबाहिरै कार्यक्रममा थिएँ ।’

उनले थपे, ‘वाइडबडीको केशमा पनि कांग्रेसको मिनेन्द्र रिजालको नि नाम आएको रहेछ भन्ने कुरो भयो, मलाई त्यो पनि थाहा भएन, अझै राम्रोसँग हेर्नै पाएको छैन । र अर्को कार्यकर्ता कुकुर जस्तै भुक्छन् भन्नेमा पनि उहाँहरुको गुनासो थिए धम्की भन्दा पनि । फोनमा उहाँहरु शालिन भएर बोल्नुभएको थियो । तर, पछि उहाँहरुले निकालेको विज्ञप्तीमा चाहिँ अलिकति धम्कीपूर्ण भाषा प्रयोग गर्नुभएको रहेछ, कार्यक्रममा नै रोक लगाउने भन्ने हिसाबले ।’

पशुपति शर्माले भने, ‘मैले आफ्नो स्वार्थको लागि गीत गाएको होइन । तर, गीत गाउँदा कसैको आत्मसम्मानमा चोट पर्छ र मैले गीत हटाइदिँदा उहाँहरु खुसी हुनुन्छ भने हटाइदिउँ न त भन्ने हिसाबले गीत मेरो च्यानलबाट हटाएको हुँ । जुन हिसाबको भाव र सन्देश गीतमा समावेश गरेको थिएँ । आम नेपालीको मनमा पनि त्यही भाव रहेछ भन्ने लाग्यो । निष्कर्षमा मेरो गीतले लुट्न हुँदैन, भ्रष्टाचारको अन्त्य हुनुपर्छ भन्ने नै हो ।’

शर्माले थपे, ‘अब त्यस्ता राष्ट्रपति र प्रधानमन्त्रीलाई प्रयोग गरिएका शब्दहरुलाई भाव नमर्ने गरी शब्द राखेर फेरि अपलोड गर्ने सोचमा छु । राष्ट्रपतिले हेलिकप्टर चढिसकेको प्रमाण नभएकोले के भयो, त्यो कुरा भन्ने भावमा शब्द राख्नेछु । र यो देशमा इमान्दार भएर काम गर्नेभन्दा यता उता गर्ने मान्छेहरुचाहिँ माथि पुग्ने प्रचलन छ । तर, इमान्दार र सक्षम मानिसले ठाउँ पाउनुपर्छ भन्ने मेरो गीतको आशय हो ।’

शर्माले भने, ‘आधिकारिक निकायबाट ग्रीन सिग्नल आएपछि अपलोड गर्ने पर्खाइमा छु आओस् भन्ने चाहना छ । देशबाट लुटतन्त्र हटोस् देश बनोस् र स्वर्गीय आनन्दकासाथ सम्पूर्ण नेपाली बाँच्न पाउन् भन्ने लाग्छ ।’