‘शहिदहरुप्रति नतमस्तक छु’ : रेनु दाहाल

Renu Dahal
लाेकपाटी न्यूज

चितवन । चितवनमा पनि आज ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस मूल जिल्ला मूल समारोह समिति चितवनले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाएको छ ।

दिवसको उपलक्ष्यमा भरतपुर १० चौबीसकोठीबाट निस्केको र्‍याली नगरको परिक्रमा गरी जिल्ला समन्वय समिति चितवनको कार्यालयमा आई सभामा परिणत भएको थियो । सभाका प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले २००७ सालदेखि ६३ सालसम्म भएका विभिन्न खालका जनआन्दोलनले नै आजको यो उपलव्धि दिएको बताइन् ।

उनले भनिन्, ‘सात साल, ०३६ साल, ०४६ साल र १० वर्षे ऐतिहासिक जनयुद्ध र ०६२ र ०६३ को जनआन्दोलनका बलले नेपालमा युगान्तकारी राजनीतिक परिवर्तन प्राप्त भएको हो ।’ दाहालले शहिदहरूको बलिदानी पूर्ण आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा र आर्थिक सामाजिक रूपान्तरणमार्फत देश विकास गर्दै अगाडि बढ्नु नै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता हुने बताइन् ।

प्रमुख दाहालले प्रजातन्त्रलाई संस्थागत गर्दै विकास र रोजगार सुशासन र सामाजिक विकासमार्फत समृद्धिको बाटोमा सबै एक ढिक्का भएर लाग्नुपर्ने बताइन् । उनले सम्पूर्ण परिवर्तनको आन्दोलनमा वीरगति प्राप्त गरेका महान शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै शहीदले देखाएको बाटो पूरा गर्न आफू सधैँ लागि पर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रमुख दाहालले भरतपुर महानगरपालिका योजनाबद्ध र दीगो विकासको खाकासहित अगाडि बढिरहेको बताउँदै सुशासन कायम गर्दै आर्थिक सामाजिक रूपान्तरण भरतपुर महानगरपालिकाको एकमात्र उद्देश्य रहेको बताइन् । नेकपाका नेता तेजेन्द्र खड्काले जहाँनिया राणा शासनको अन्त्य गरी सुरू भएको नेपाली प्रजातान्त्रिक यात्रा ६९ वर्ष पूरा गरेको स्मरण गर्दै शहीदहरूले देखाएको बाटोमा अगाडि बढ्नु अपरिहार्य रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले ७ सालबाट सुरू भएको प्रजातान्त्रिक आन्दोलन गणतन्त्रको स्थापनासम्म आइपुगेको बताउँदै अब आर्थिक सामाजिक रूपान्तरमार्फत समृद्धिको यात्रामा अबका दिनहरू केन्द्रित हुनुपर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले कार्यक्रमको बारेमा बोलेका थिए ।

शहरी स्वास्थ्य केन्द्रको उद्घाटन

भरतपुर महानगरपालिका वडा नं. ९ मा भरतपुर महानगरपालिका शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र आजबाट सञ्चालनमा आएको छ । महानगर प्रमुख दाहालले मंगलबार केन्द्रको उद्घाटन गरेकी हुन् ।

उनले १०२ वर्षका विष्णुकुमारी खड्का र ९५ वर्षका भागिरथी खड्कालाई बिरामी जाँचको पुर्जी दिएर उद्घाटन गरेकी थिइन् । कार्यक्रममा महानगर प्रमुख दाहालले महानगरवासी स्वस्थ र स्फुर्त हुनुपर्छ भन्ने मान्यताका साथ केन्द्र सुरू गरेको बताइन् । सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क रूपमा प्रवाह गर्नुपर्ने नीतिअनुरूप नै यो सेवा भरतपुर महानगरपालिकाले सुरू गरेको बताइन् ।

शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट अधिकतम सेवा लिन सेवाग्राहीलाई आग्रह गर्दै प्रभावकारी सेवा प्रवाह गर्न केन्द्रका कर्मचारीहरूलाई निर्देशन दिइन् । उनले मेडिकल सिटीको रूपमा विकास भइरहेको बताउँदै यसलाई व्यवस्थित बनाउन महानगरपालिकाले आवश्यक समन्वय गर्ने बताइन् । भरतपुर महानगरपालिकाले एक वडा एक स्वास्थ्य चौकीको रूपमा विकास गर्ने योजना लिएको बताइन् ।

यस केन्द्रमा बहिरंग सेवा, निशुल्क मातृत्व सेवा, सरूवा रोगसम्बन्धी सेवा आयुर्वेद र परम्परागत सेवा, निःशुल्क औषधि सेवा, महामारी तथा विपद व्यावस्थापन सेवा, योग तथा सहजीकरण सेवा, वृद्धवृद्धा स्वास्थ्य योग सेवालगायतका सेवा उपलव्ध हुनेछ ।

यस सेवा प्रवाह गर्नका लागि चिकित्सकसहित १० जना दक्ष जनशक्ति रहेका छन् । भरतपुर महानगरमा १३ वटा स्वास्थ्यचौकी, ६ वटा आयुर्वैदिक औषधालय र ४ वटा बर्थिङ सेन्टर छन् ।