शिक्षामन्त्रीकाे शिक्षकलाई प्रश्न : तपाईका छाेराछाेरी सरकारीमा छन् कि बाेर्डिङमा ?

Girirajmani pokharel
लाेकपाटी न्यूज

प्यूठान, ८ फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोख्रेलले एउटा अभिभावकलाई आफ्ना बालबालिकालाई कुन स्कुल भर्ना गर्ने भनेर चिन्तित हुने वातावरणबाट मुक्त गराउनु पर्ने बताएका छन् ।

मुक्त माध्यमिक विद्यालय प्यूठान नगरपालिका ३ रातामाटाको ६७ औं बार्षिक उत्सव, विज्ञान भवन तथा छात्रा छात्रावास उद्घाटन समारोहमा पुगेका मन्त्री पोख्रेलले सो कुरा बताएका हुन् ।

कार्यक्रमबाटै मन्त्री पोख्रेलले शिक्षकहरुलाई प्रश्न गर्दै भने, ‘सरकारी विद्यालयमा पढाउने शिक्षकहरुले आफ्ना बालबालिका सोही विद्यालयमा भर्ना गर्नुभएको छ ?’

उनले आफ्ना बच्चाहरु नीजि विद्यालयमा लैजाने तर आफुले सरकारी विद्यालयमा पढाउने यो अन्तर विरोधबाट बाहिर निस्किन जरुरी रहेको बताए । शिक्षक, कर्मचारी, जनप्रतिनिधि लगायत सबैले आफ्ना बच्चाहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्नेमा जोड दिए । हामीले सामुदायिक विद्यालयमा आफ्ना बालबालिका ल्याउनु भनेको समुदाय रुपान्तरण गर्नु हो भन्ने उनको भनाइ छ ।

शिक्षामा गुणस्तर ल्याउनुपर्ने बताउँदै मन्त्री पोख्रेलले भौतिक संरचनाले मात्र राम्रो शिक्षा प्राप्त नहुँने भन्दै शिक्षा प्रणालीको सुधारको लागि भवन, कोठाहरु, प्रयोगशालाहरु, पुस्तकालय, खेल मैदान, स्वच्छ हावा र शान्त वातारण जरुरी हुने बताए ।

यस्तै उनले विद्यालय राजनीति गर्ने थलो नभई देश बनाउने जनशक्ति उत्पादन गर्ने थलो भएको बताएका छन् ।
उनले शिक्षकहरु विद्यालयलाई बदल्ने भन्दा पनि टेड युनियन, राजनीति र अन्य गतिविधिको वरिपरि मात्र छलफल तथा बहसमा केन्द्रीत भइरहेको बताए ।

‘विद्यालय जागीर खाने थलो नभइ दक्ष जनशक्ति उत्पादन गर्ने थलो हो’, उनले भने, ‘यदि कुनै शिक्षकले बालबालिकालाई सही ढंगले तयार गरिरहेको छैन भने उनीहरुले राष्ट्रको जीवनमाथि खेलवाड गरिरहेको छ ।’

स्कुल, कलेज भनेको कुनै व्यक्तिले जागिर खाने ठाउँ नधइ होइन १० देखि ४ बजेसम्म विद्यार्थीका माझ रही उनीहरुलाई ज्ञान दिने थलो भएको उनको भनाइ छ । उनले भने, ‘ विद्यालय देश बनाउने ठाउँ हो, बालबालिकाहरुलाई राम्रो नागरिक बनाउने ठाउँ हो, उनीहरुको भविष्य बनाउने ठाउँ हो र समृद्ध राष्ट्र निर्माणका लागि नयाँ पुस्ता तयार गर्ने ठाउँ हो ।’

उनले शिक्षक महासंघलाई यो बदलिएको नेपालको नयाँ व्यवस्था अनुरुप शिक्षा प्रणालीलाई अगाडि बढाइदिन समेत अनुरोध गरे ।

बदलिएको यो परिस्थतिमा सविंधानलाई कार्यान्वयन गर्दै शिक्षाको माध्यमद्धारा परिवर्तनको महसुश हुने गरी कार्य योजना बनाई कार्यान्वयन गर्न जरुरी रहेको उनको भनाइ छ ।