नेपालमा वैज्ञानिक शिक्षा प्रणाली

Dr. Shovakanta lamichhane
  • 523
    Shares
लाेकपाटी न्यूज

प्रा.डा. शोभाकान्त लामिछाने, पृथ्वीनारायण क्याम्पस, पोखरा/

मानव प्रयत्नद्वारा पूँजीकृत बिबिध परिर्वतनगामी अनुभव र ज्ञानको सञ्चय नै सभ्यता हो, जो गुणस्तरीय वैज्ञानिक शिक्षाको माध्यमबाट मात्र आर्जन गर्न सम्भव हुन्छ । शिक्षाको उद्देश्य केवल दुनियाँको व्याख्या गर्नु मात्र होइन, दुनिया बदल्ने सार्मथ्यसमेत बहन गर्न सक्नु पर्दछ । सभ्य र समुन्नत वैज्ञानिक समाज निर्माण वैज्ञानिक दृष्टिकोणद्वारा मात्र स्थापित गर्न सकिन्छ । वैज्ञानिक दृष्टिकोण, वैज्ञानिक शिक्षाका माध्यमबाट मात्र सम्भब छ ।

वैज्ञानिक शिक्षाको मुख्य विशेषता भनेको विद्यमान समाजलाई रूपान्तरण गर्न सक्ने सक्षम नागरिक तयार गर्नु हो । त्यसका लागि परम्परागत ज्ञान र सीपको अतिरिक्त वस्तुगत तथ्यमा आधारित भौतिकवादी दृष्टिकोणद्वारा निर्देशित वैज्ञानिक समाजवादी शिक्षाको विजारोपण गरी अंकुरण गराउनु एउटा सचेत नागरिकको सामाजिक उत्तरदायित्व पनि हो ।

भौतिकवादी दृष्टिकोण बुझ्नका लागि विद्यमान चराचर जगतमा रहेका सबै जीव जीवात्मा एवं वस्तुहरु सबैको बनावट अन्ततः अणु र परमाणुहरुको एकीकृत संयोजनबाट भएको हुन्छ भन्ने कुरा वैज्ञानिकहरुले प्रमाणित गरी पुष्टि गरी सकेका छन् । यहाँसम्म कि एक थोपा रगत/कोषमा अनगिन्ती अणुहरु रहेका हुन्छन्, त्यसैगरी एउटा अणुमा दुई वा दुईभन्दा बढी परमाणु रहेका हुन्छन् । यसर्थ, पदार्थ (सजीव वा निर्जीव) को अति शुक्ष्म इकाई परमाणु हो, जुन एउटा बिशाल दरबार (हवेली) पनि त एक–एक इट्टाहरुको समष्टिगत एकीकृत रुप हो ।
यहाँ पदार्थको परमाणुलाई हवेलीको इट्टासँग तुलना गर्न सकिन्छ । यस अर्थमा, परमाणुहरुको संरचनातर्फ विचार गर्ने हो भने त्यहाँ विभिन्न स–साना कणहरु अस्तित्वमा रहेका हुन्छन् । उदाहरणको लागि प्रोटोन, इलेक्ट्रोन, न्युट्रोन इत्यादि ।

न्यूट्रोनभित्र पनि विभिन्न अति साना कणहरु रहेका हुन्छन्, जसलाई क्वार्क इत्यादिनाम दिइएको छ । प्रोटोन र न्यूट्रोन परमाणुको केन्द्रीय भागमा रहेका हुन्छन्, भने इलेक्ट्रोनहरु निकै नै तेजिलो तीव्र गति (लगभग प्रकाशको गति) का साथ परमाणुको केन्द्रीय भागलाई परिक्रमा गरिरहेका हुन्छन्, जुन कणहरु आफ्नो कक्ष (घुम्ने बाटो) बाट न त बाहिर न त भित्र जान सक्दछन् । यसलाई अर्को भाषामा यसरी पनि भन्न सकिन्छ परमाणुको केन्द्रीय भागमा रहेको प्रोटोन (धनात्मक चार्ज) र न्यूट्रोन (चार्ज रहित) एवं बाहिरी भागमा गोलाकार रुपले तीव्र गतिमा प्रवाही भइरहेका इलेक्ट्रोन (ऋणात्मक चार्ज) बीचको अन्तर्संघर्ष वा वर्ग संघर्षको रुपमा लिन सकिन्छ । यदि यी कणहरु आफ्नो कक्ष बिराएको खण्डमा सो पदार्थको अस्तित्व नै नाश हुन्छ । यो घुम्ने चाल (याने कि केन्द्रमा रहेको प्रोटोन र न्युट्रोन एवं बाहिरी भागमा तीव्र गतिमा घुमिरहने इलेक्ट्रोनहरु) को बीचमा एउटा विशिष्ट बलले सन्तुलन कायम गरेको हुन्छ, जसलाई सेन्ट्रिपिटल फोर्स भन्ने गरिएको छ । यही बल (फोर्स) ले गर्दा पदार्थ नष्ट हुनबाट वा नजीकैका अन्य पदार्थसँग रसायनिक प्रतिक्रिया हुनबाट जोगाएको हुन्छ ।

कथमकदाचित पूर्ण नियन्त्रित यो अवस्थामा असन्तुलन सिर्जना भएमा दुईमध्ये एकथरीको पिण्ड नै नाश (मास डिफेक्ट) हुन्छ र त्यो प्रणाली (सिस्टम) ले अकल्पनीय ज्यादै बिशाल शक्ति आर्जन गर्दछ, जसलाई भौतिक विज्ञानको भाषामा सापेक्षतावाद (प्रोटोन, न्युट्रोन र इलेक्ट्रोन एक अर्काको सापेक्ष) को सिद्धान्त भनिएको छ । विज्ञानले प्रमाणित गरिसकेको छ कि यो शक्ति (पदार्थको पारमाणविक संरचनामा हुने आन्तरिक फेरबदल) यति धेरै हुन्छ कि एक ग्राम हाइड्रोजनमा (शुक्ष्म पिण्ड) लाई हेलियममा परिणत (संयोजन अर्थात फ्युजन) गर्दा उत्पन्न हुने शक्ति : E = ∆ mc2 (जहाँ, ∆m – नष्ट भएको पिण्ड र c – प्रकाशको गति, जसले एक सेकेण्डमा ३ लाख किलोमिटर सम्मको दुरी पार गर्न सक्दछ) अर्थात, E = (1×10-3)×(3×108)2 = 9×1010 KJ = 25000 MWh [मेगावाट आवर (छोटकरीमा मेगावाट)]

स्मरणरहोस्, जलविद्युत शक्तिमा विश्वको दोस्रो धनी देश भनिएको नेपालको सम्पूर्ण जलविद्युत क्षमता ८४००० मेगावाट (हाल नेपालीहरुले उपयोग गरिरहेको ८४६ मेघावाट मात्र) भनिएको छ, जुन नेपालको विकासका लागि लगानी गर्न राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र हो ।

प्रस्तावित वैज्ञानिक सिद्धान्तको एउटा महत्वपूर्ण विशेषता भनेको क्रियात्मक पदार्थको पिण्डलाई शक्तिमा पनि बदल्न सकिन्छ भन्ने मान्यता स्थापित गर्नु पनि हो । विज्ञानकर्मी हामी सबैलाई थाहा भएकै कुरा हो कि सूर्यबाट उत्पन्न/सिर्जना हुने शक्ति (प्रकाश) हाइड्रोजनबाट हेलियम, तत्पश्चात् हेलियमबाट हाइड्रोजनमा परिणत भइरहने नियमित चक्रलाई बुझ्न गाह्रो नहोला । यसका प्रतेक चरणमा बिशाल शक्ति उत्पन्न हुन्छ, जसलाई थर्माेन्युक्यिर पावर भन्ने गरिएको छ । यही सिध्दान्तमा आधारित उपरोक्त व्युत्पन्न शक्ति २५००० (पच्चीस हजार) मेगावाटले फेवातालको पूरै पानीलाई सजिलै बाफ बनाई उडाउन सक्दछ । यो शक्ति कहीं बाहिरबाट उडेर आउने त होइन, अपितु, परमाणु भित्रको असन्तुलन (परमाणुको बाहिरी भागमा घुमिरहेको इलेक्ट्रोन एवं केन्द्रीय भागमा रहेका प्रोटोन र न्युट्रोन) को परिणाम स्वरुप नष्ट हुन पुगेको अति न्युन पिण्डबाट रुपान्तरित स्वतः सिर्जना हुन आउने शक्ति नै हो । यस प्रकारको वैज्ञानिक तथ्यमा आधारित सर्वव्यापी भौतिकशास्त्रीय सिद्धान्तको उपयोग मानिसको सामाजिक जीवन (समाज रुपान्तरण/विकास) मा पनि उत्तिकै मात्रामा सत्य सावित हुन सक्ने कुरामा दुईमत रहँदैन ।

उपरोक्त संक्षिप्त चर्चाको आधारमा हामी यस्तो निष्कर्षमा आइपुग्न सक्दछौं कि द्वन्द्वात्मक भौतिकवाद बुझ्न र बुझाउन वैज्ञानिक साक्षरता बिना निकै नै असहज हुन सक्छ । यस किसिमको विज्ञानको मर्म अनुकूल नेपाली समाजलाई रुपान्तरण गर्न दक्ष एवं सक्षम जनशक्ति उत्पादन गर्न सक्ने सामथ्र्य भएको शिक्षा आवश्यक छ, जसले नागरिकहरुको रगतको अणु–अणु एवं प्रत्येक रक्त परमाणुहरुमा आय आर्जन सहितको कर्मशक्ति सञ्चारको विजारोपण गराउँदछ । यसै शिलशिलामा भौतिक विज्ञानका सिद्धान्तहरु एवं मूल्य, मान्यताहरुलाई आत्मसात गरेको वैज्ञानिक शिक्षा सामाजिक जीवनमा आइपर्ने समस्याहरूको निरुपण र निराकरण वर्गसंघर्षद्वारा गर्न सकिन्छ भन्ने मान्यतामा विश्वास गर्दछ ।

वैज्ञानिक शिक्षा जसले ज्ञान, सीप र प्रविधिलाई प्राथमिकतामा राखी, पुनरावृत्ति होइन ‘सिर्जना’ गर्नु पर्दछ भन्ने मान्यता राख्दछ । यसले वैज्ञानिक दृष्टिकोणको विकास गर्न प्रेरित गर्नुका साथै वैज्ञानिक विचारहरू सिर्जना गर्न र सीपको विकासमा सघाउँदछ । विज्ञान र प्रविधिको भरपुर प्रयोगबाट उत्पादन प्याटर्नमा छलाङ मार्न सकिने हुँदा यसको वितरण र बजारीकरणका लागि ग्लोबलाइजेशन पद्धतिमा समाहित हुनुपर्ने बाध्यात्मक स्थिति आउन सक्छ । जसले गर्दा, विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने प्रविधिमैत्री सक्षम जनशक्ति उत्पादन गर्नतर्फ वैज्ञानिक शिक्षा पद्धतिले ध्यान केन्द्रित गर्दछ । हामी सबैलाई थाहा भएकै कुरा हो कि – एक्काइसौं शताब्दीमा विज्ञान र प्रविधिको प्रयोगबिना पूँजी निर्माण र बिस्तार कल्पना बाहिरको विषय हो । वैज्ञानिक ज्ञानको अभावमा न त उत्पादकत्व वृद्धि गर्न सकिन्छ, न त यसको बजार विस्तार गर्न सकिन्छ । जसको फलस्वरूप, विज्ञान र प्राविधिको तिव्र विकासले उत्पादनका साधन र सम्बन्धहरुको पुनः परिभाषित गर्नुपर्ने नयाँ परिवेशको सिर्जना हुन सक्दछ । तसर्थ, उत्पादन एवं बितरण प्रणालीमा गुणात्मक एवं परिमाणात्मक फड्को मार्नको लागि पनि वैज्ञानिक साक्षरता अहिलेको अपरिहार्य आवश्यकता हो ।

शिक्षाको उद्देश्य नागरिकमा सामान्य साक्षरताका सीप विकासमा मात्र सीमित हुनु हुँदैन । सामाजिकीकरण र सामूहिक पहिचान निर्माणमा शिक्षाको ठूलो प्रभाव रहने गर्दछ । यसका अतिरिक्त समाजका विभिन्न तहमा रहेका समूहहरूको सामाजिक उत्थानको आधार बनेर शिक्षाले सामाजिक गतिशीलता बढाउन र समता प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्दछ । पछिल्लो समयमा यी सामाजिक उद्देश्यका साथै शिक्षालाई समाजको आर्थिक विकाससँग आवद्ध गरेर मानव स्रोत विकासको साधनको रूपमा हेर्ने दृष्टिकोणले प्राथमिकता पाउने गरेको छ । शिक्षाको माध्यमबाट दक्ष तथा उत्पादनशील नागरिकको उपलब्धता बढ्ने भएकाले राष्ट्रको कुल गार्हस्थ्य उत्पादन वृद्धि गर्न राज्यको तर्फबाट शिक्षा क्षेत्रमा लगानी वृद्धि गरी प्राप्त प्रतिफलको प्रभाव सामाजिक विकासमा देखिने गरी उपयोग गरिनु पर्दछ । तथापि, सरकारले अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रतिवद्धता जनाइसकेको एवं चुनावताका, वर्तमान पार्टी–नेकपा (जो हाल सरकारमा छ) ले जनता समक्ष गरेको बाचा– शिक्षामा बजेटको २० प्रतिशत बिनियोजन गर्ने उद्घोष गरेको सरकारले चालु आ.व.मा कुलग्राहस्थ उत्पादनको ४.०४ प्रतिशत र बजेटको १०.२० प्रतिशत (आधा) मात्र बजेट बिनियोजन गरेको छ । राज्यको यस्तो ब्यवहारले शिक्षा गुणस्तरीय हुन सक्दछ ?

हाम्रो विशिष्ट सामाजिक संरचना एवं बदलिँदो राजनीतिक परिस्थिति अनुकुलको शिक्षा प्रणालीलाई आर्थिक सामाजिक रूपान्तरणको संवाहकका रूपमा विकास गरी सबै तहमा समतामूलक पहूँच सुनिश्चित गर्नका लागि शिक्षालाई रोजगारीउन्मुख बनाउने र गुणस्तरमा सुधार एवं व्यवस्थापकीय क्षमता अभिबृद्धि गरी आर्थिक–सामाजिक विकासका लक्ष्यहरू हासिल गर्नतर्फ शिक्षाको नीति तथा कार्यक्रमहरू उन्मुख हुनु आवश्यक छ । यसका लागि शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक बनाउँदै सक्षम, प्रतिस्पर्धी र नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गराउने उद्देश्यले समृद्ध नेपालको आधार भनेको वैज्ञानिक समाजवादी शिक्षाका नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउनु नै हो । किनकि, शिक्षाको गुणस्तरीयताको सम्बन्ध प्राविधिक सीप र व्यावसायिक सक्षमता अभिवृद्धि गर्नुमा नै रहेको हुन्छ ।

विकास, समृद्धि एवं सभ्यता (पुर्वीय दर्शन) मौलाउनका लागि स्तरीय कार्यमूलक प्राविधिक तथा व्यवसायिक शिक्षा (मार्क्सवादी विज्ञान) मा सर्वसाधारणको पहुँच सुनिश्चित हुनु पर्दछ । विगतमा, शासकहरूले प्रलोभनमा आयातित शिक्षा प्रणाली अवलम्बन गर्नुले हाम्रो शिक्षाले समाज रूपान्तरणमा गुणात्मक फड्को मार्न सकेन । यसर्थ, समतामूलक, समुन्नत समाज निर्माण/रूपान्तरण गर्न ज्ञानलाई सीपमा अर्थात् सिद्धान्तलाई व्यवहारमा उतार्न सक्ने जीवन उपयोगी शिक्षा नै वास्तविक शिक्षा हो । यसको सफल अवतरण वैज्ञानिक समाजवादी शिक्षा नै हो, त्यसका लागि विद्यमान शिक्षामा सघन शल्यक्रिया (संयोजन/फ्युजन) अति आवश्यक छ ।