राजाहरुले देशका लागि धेरै गरेका छन् : डा. सुरेन्द्र केसी

Surendra kc
लाेकपाटी न्यूज

काठमाडौं । राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्षे कार्यकालमा जनताले कुनै किसिमको नतिजा नपाएको आरोप लगाएका छन् ।

बुधबार रिपोर्टस् क्लबमा बोल्दै उनले भने, ‘कुनै पार्टीसँग नजोडिएका पशुपति शर्माले जनताको भावना बोकेको गीत गाउँदो यो सरकार डरायो, पछिल्लो ५६ घण्टा त शर्माको गीतले नेपाल तातेको छ । उनले गाएको गीत धेरै कुरा जनताको भावनाको दर्पण हो ।’

ओली सरकार एउटा गीतको पछाडि लाग्नु भनेको अराजकता देखाउनु भएको पनि उनले टिप्पणी गरे । राष्ट्रपति धेरै महँगो भएको कुरा गीतमा समावेश हुँदा के नराम्रो भयो त ? भन्दै उनले प्रश्न तेर्साए । फरक प्रसँगमा उनले नेपालमा राजा आउने वा नआउने भन्ने कुरा त्यसै भन्न नसक्ने बताए ।

उनले भने, ‘आउने कुरालाई म महत्व दिन्न । अहिले भएको विसंगतिको कारणले गर्दा केही नेताहरु राजसंस्थाको कित्तामा पुगेका छन् । तर, तिनीहरु असली राजावादी होइनन् । राजाको नाम भजाएर खाने धेरै छन् ।’

नेपालको आन्तरिक कारणले राजसंस्था आउनै नसक्ने उनको ठोकुवा छ । तर, बाह्य कारणले राजसंस्था आयो भने कसैले रोकेर पनि रोक्न नसक्ने उनले दाबी गरे ।

उनले भने, ‘हाम्रो देशमा अहिले पनि राजा छाती फुलाएर हिँडिरहेका छन् । नेपाली जनताको कति उदार मन छ । राजा तथा महाराजाहरुले यो देशमा धेरै गरेका रहेछन् । यो देश जोड्ने तन्तु भनेको नै पहिलो कुरा राजा हो, दोस्रो नेपाली भाषा र तेस्रो हिन्दू धर्म हो ।’