स्रोत व्यक्ति नराख्ने सरकारको निर्णय

Girirajmani pokhrel
लाेकपाटी न्यूज

काठमाडौं, ९ फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरिका १०५३ स्रोत केन्द्रहरुमा कार्यरत स्रोत व्यक्ति नराख्ने निर्णय गरेको छ ।

शिक्षामन्त्री गीरिराजमणि पोखरेलको निर्देशनमा स्रोत व्यक्ति (आरपी) फिर्ता गर्ने निर्णय लिइएको हो । सरकारले ९७८ जना स्थायी र ७५ जना अस्थायी शिक्षकलाई स्रोत व्यक्तिका रुपमा खटाउँदै आएको थियो ।

विद्यालयको भौतिक प्रशासन र शिक्षकहरुलाई प्राविधिक सहयोगका लागि स्रोत व्यक्तिको व्यवस्था गरिएको थियो । तर, स्रोत व्यक्तिहरुले सरकारले तोकेको जिम्मेवारी स्रोत व्यक्तिले पूरा नगरेको र शैक्षिक गुणस्तरमा खासै सहयोग नपुगेको मन्त्रालयको ठहर छ ।

स्रोत व्यक्ति नराख्ने निर्णय गरेसँगै अब १०५३ जना शिक्षकहरु आफ्नै दरबन्दी रहेको विद्यालयमा फिर्ता हुनेछन् । सरकारले स्रोत व्यक्तिको सट्टामा विद्यालयहरुमा कार्यरत सट्टा शिक्षकका लागि आर्थिक वर्ष २०७५/०७६ को साउनदेखि माघ मसान्तसम्मको नियमानुसार पाउने तलवभत्ता अर्थ मन्त्रालयबाट निकासा लिई सम्बन्धित स्थानीय तहमा सशर्त अनुदानको रुपमा वित्तीय हस्तान्तरण गरी सट्टा शिक्षकहरुलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रालयले विद्यालयहरुको शैक्षिक प्रशासन र शिक्षकहरुलाई प्राविधिक सहयोगका लागि स्थानीय तहमा त्यस्तो प्रकृतिको संरचना र प्राविधिक जनशक्ति आवश्यक भएमा स्थानीय तहकै स्रोतबाट राष्ट्रिय मापदण्ड पूरा हुने गरी राख्न सकिने व्यवस्था पनि गरेको छ । स्रोत व्यक्ति फिर्ता पठाउने मन्त्रालयको प्रस्तावलाई फागुन ३ मा बसेको मन्त्रीपरिषद बैठकले अनुमोदनसमेत गरेको छ ।

स्रोत व्यक्तिहरुले आफ्नो स्रोत केन्द्र मातहतका विद्यालयहरुको शैक्षिक गुणस्तर र शिक्षकहरुलाई प्राविधिक सहयोग गर्नुपर्ने प्रावधान भए पनि अधिकांश स्रोत व्यक्तिले उक्त जिम्मेवारी पूरा गरेका थिएनन् । विद्यालयमा अध्यापन पनि गर्नु नपर्ने भएका कारण उल्टो उनीहरुको अध्यापन क्षमता खस्किएको अभिभावकहरुले गुनासो गर्दै आएका थिए ।

स्रोत व्यक्तिमा नियुक्त शिक्षकहरु प्राविधिक विषय र विज्ञान प्रविधिमा पोख्त नहुँदा उक्त संरचना र व्यवस्था नै कामकाजी हुन सकेको थिएन । सरकारको निर्णयसँगै सबै स्रोत व्यक्ति आफ्नै दरबन्दीको विद्यालयमा फर्कनुपर्नेछ भने अस्थायी शिक्षकहरु स्वतः हट्नेछन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्