छोरी शिक्षा बीमाको शुभारम्भ

rastrapati
लाेकपाटी न्यूज

काठमाडौं, ९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको बिहीबार शुभारम्भ गरेकी छन् । प्रदेश नं २ सरकारले उक्त अभियानका लागि आर्थिक वर्ष २०७५–०७६ मा करीब रु ८९ करोड विनियोजन गरेको छ ।

वीरगञ्जको त्रिजुद्ध माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले माता जानकीजस्ता विभूति जन्मेको यस देशमा राष्ट्र, राष्ट्रियता र संस्कृतिप्रति गौरव गर्ने वातावरण तयार पारी छोरी शिक्षालाई अगाडि बढाउनुपर्नेमा जोड दिइन् । उनले भनिन्, “आजका छोरी भोलि देशको जिम्मेवार नागरिक भएकाले छोरीलाई शिक्षा दिनु आजको आवश्यकता हो, छोरीलाई शिक्षा दिँदा सुदृढ संस्कृतिको जगमा उभिन सक्ने गरी दिनुपर्छ ।”

समृद्ध समाज निर्माण गर्न तथा महिलाको उच्च प्रतिष्ठालाई सम्मान गर्न प्रदेश नं २ को सरकारले ल्याएको सो अभियान कोसेढुङ्गा सावित हुने बताउँदै राष्ट्रपति भण्डारीले वर्तमान संविधानले पनि महिलाको अधिकार सुनिश्चित गरी महिलालाई अधिकार सुम्पेको बताएकी छन् ।

महिलाले सामाजिक, आर्थिक र राजनीतिकलगायत क्षेत्रको विकासमा प्रभावकारी भूमिका खेल्ने गरेको बताउँदैै समाजमा व्याप्त दाइजोजस्ता कुरीति समाप्त पारी छोरी, बुहारी एवं महिलाप्रति सम्मान गर्नु आजको आवश्यकता रहेकोमा उनले जोड दिइन् । उनले सिँचाइ, बीउबिजन, मलखादको आवश्यकतालाई प्राथमिकतामा राखेर विदेश पलायन हुने यूवापुस्तालाई रोक्नुपर्नेमा जोड दिँदै विकासको पूर्वाधार अगाडि बढाउँदा र एकीकृत बस्ती विस्तार गर्दा वातावरण संरक्षणलाई ध्यानमा राखी चुरे विनाशलाई रोक्नुपर्ने सुझाव दिइन् ।

सो कार्यक्रमको अवसरमा राष्ट्रपति भण्डारीले प्रभु बंैक लिमिटेडमा खाता खोलिएका वीरगञ्ज महानगरपालिका–१ देखि १६ वडासम्मका १४ शिशुका अभिभावकलाई बैंकको खातासम्बन्धी कागजात हस्तान्तरण गरिन् । उनले प्रदेश नं २ का आठ जिल्लामा गत वर्ष एसइई परीक्षामा पहिलो, दोस्रो तथा तेस्रो हुने छात्रालाई नगद तथा सम्मानपत्र प्रदान गर्दै त्रिजुद्ध मा.विबाट वि.सं. २००९ सालमा बोर्ड फस्ट वरिष्ठ उद्योगपति बाबुलाल चाचानलाई सम्मान गरिन् ।

प्रदेश नं २ का प्रदेश प्रमूख रतनेश्वरलाल कायस्थले नेपालको संविधानले कल्पना गरेको समतामूलक समाजको स्थापना गर्न सो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको गठनसँगै भौतिक पूर्वाधारको विकास तथा समाजमा रहेको महिला तथा छोरीको शिक्षाप्रति आकर्षण ल्याउन सो कार्यक्रम ल्याइएको जानकारी दिएका छन् । उनले भने, “महिला तथा छोरीको शिक्षाप्रति आकर्षण बढाई तिनलाई सशक्त बनाएर मुलुकको विकासमा अग्रसर गराउने लक्ष्य प्रदेश सरकारको रहेको छ ।

कार्यक्रममा प्रदेश नं. २ का सामाजिक विकासमन्त्री नवलकिशोर शाह र सचिव दीपक सुवेदी, प्रभु बैंक लिमिटेडका सिइओ अशोक श्रेष्ठ, वीरगञ्ज महानगरपालिकाका प्रमूख विजयकुमार सरावगी, सांसद प्रदीप यादवलगायतले मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्