खानेपानी समस्या जानकारी गराउन मन्त्री बिनाको अपील

Bina Magar-10
लाेकपाटी न्यूज

काठमाडौं, २५ भदौ । खानेपानी मन्त्रालयले खानेपानी सङ्कलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने घर परिवार र समुदायको पहिचान गरी बिवरण सङ्कलन अभियान थालेको छ ।

खानेपानी मन्त्री बिना मगरको विशेष सक्रियतामा यो अभियान सुरु गरिएको हो । मन्त्रालयले खानेपानी सङ्कलन गर्न आधा घण्टाभन्दा बढी समय लाग्ने समुदाय तथा क्षेत्रहरुको बिवरण सङ्कलन गरी त्यसको आधारमा नयाँ योजनाहरु बनाउने तयारी गरेको छ ।

खानेपानी मन्त्री बिना मगरले यो विवरण सङ्कलन गर्नुको उद्देश्य खानेपानीको समस्या भोगिरहेका जनतालाई पानीको सुविधा पुर्याउनु रहेको बताइन् । उनले भनिन्, ‘कस्ता कस्ता ठाउँहरुमा खानेपानीको समस्या रहेछ त्यो कुरा थाहा पाउन अत्यन्तै जरुरी छ । खानेपानी लिन विशेष गरी गृहिणी महिलाहरु घण्टौ घण्टासम्म हिंड्नुपर्ने बाध्यतालाई सुल्झाउन मन्त्रालयले यस्तो कदम चालेको हो । यसको आधारमा हामी नयाँ योजना बनाउँछौं ।’

एक हप्ताभित्र बिवरण पठाउन मन्त्रालयले देशैभरिका घर परिवार, सामाजिक संघसंस्था र स्थानीय तहलाई अनुरोध गरेको छ । खानेपानी सङ्कलन गर्न आधा घण्टाभन्दा बढी समय लाग्ने समुदायका लागि सम्पर्क गर्न मन्त्रालयले टोल फ्रि नम्वरको समेत व्यवस्था गरेको छ । जसका लागि १६६००१४२१११ नम्वरमा निशुल्क फोन गर्न सकिने मन्त्रालयले जनाएको छ ।