‘समाजवादका लागि उच्च कम्युनिष्ट आदर्श चाहिन्छ’ : प्रचण्ड (भीडियोसहित)

Prachanda_1
लाेकपाटी न्यूज

काठमाडौैं, २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादका लागि उच्च कम्युनिष्ट आदर्श आवश्यक भएको बताएका छन् ।

बिहीबार दिउँसो नेकपाका युवा नेता तथा लेखक लेखनाथ न्यौपानेद्वारा लिखित ‘सङ्घर्षको इतिहास’ नामक पुस्तकको बिमोचन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हिजो पञ्चायत विरुद्धको सङ्घर्षमा जोखिमपूर्ण काम गर्दा उर्जा मिल्थ्यो । हामी रातिराति मिटिङ बस्थ्यौं, सङ्घर्षका कार्यक्रम बनाउँथ्यौं । दुख गर्दा नै आनन्दको अनुभूति हुन्थ्यो । तर, अहिले त्यस्तो छैन । कताकता सङ्घर्षबाट भागेजस्तो, युवा पुस्ता आत्मकेन्द्रित व्यक्तिवादमा हराएजस्तो देखिन्छ ।’

एउटा महान उद्देश्यका निम्ति सङ्घर्ष गर्दा हामीमा गौरवबोध हुन्थ्यो । रातदिन, भोकप्यास, व्यक्तिगत लाभ नभनी गरिएको सङ्घर्षले नै समाज आजको ठाउँमा आइपुगेको छ’, प्रचण्डले भने, ‘आज पनि हामीलाई चिन्ता लाग्छ, हामीले आउने पुस्तालाई कस्तो पार्टी छोडेर जान्छौं, कस्तो सोंच र संस्कार छोडेर जान्छौं ? कस्तो सपना र आदर्शका निम्ति अभिप्रेरित गर्छौं ? कस्तो समाज र सभ्यता विकास गर्छौं ? यो निकै महत्वपूर्ण विषय हो ।’

https://www.facebook.com/manahari.timilsina/videos/1898282163552499/

समाजवादका लागि उच्च कम्युनिष्ट आदर्श चाहिने प्रचण्डले बताए । उनले भने, ‘अहिले दिनदिनै घटेका घटना हेर्यो भने कहालीलाग्दा छन्, सुन्नै नसकिने बलात्कार, भ्रष्टाचार र कुसंस्कार देखिँदैछ । यसले कतै समाजलाई अधोगतितिर लाँदै त छैन ? हामी समाजवादको आधार तयार गर्ने भन्दैछौं । तर, घटनाक्रम अत्यन्त संवेदनशील छन् । समाजको यो बिकृतिका विरुद्ध जागरणको सङ्घर्ष अनिवार्य भइसकेको छ, त्यसो नगर्ने हो भने स्थिति भयावह हुन सक्छ ।’

प्रचण्डले आफू र प्रधानमन्त्री ओली इतिहासको अवसर र चुनौतिको बीचमा रहेको बताए । उनले भने, ‘हामीले इतिहासमा फेरि एकचोटी अवसरको वातावरण सिर्जना गरेका छौं, एकतावद्ध भएका छौं । तर, हामीमाँझ ठूला–ठूला चुनौति पनि छन् । युवा पुस्ताको साथ र दवावले हामीलाई सफलतामा पुग्न सहयोग मिल्छ ।’

एमाले र माओवादीबीच एकताको प्रस्ताव आफूले ११ वर्षअघि नै राखेको प्रचण्डले बताए । उनले भने, ‘शान्ति प्रक्रियामा आइसकेपछि नेपालमा एउटै कम्युनिष्ट केन्द्र आवश्यक छ भन्ने मान्यतासहित ११ वर्ष अघि नै एमाले–माओवादीबीच एकताको प्रस्ताव राखेको थिएँ, उद्देश्य राखेपछि एकदिन सफल भइँदो रहेछ । यो पनि निरन्तरतामा क्रमभङ्ग नै हो । हामी विज्ञानको नियमअनुसार नै अघि बढिरहेका छौं ।’

तल्लो तहको एकता छिटै टुङ्गोमा पुग्ने उनले बताए । प्रचण्डले भने, ‘हामी निरन्तर छलफलमा छौं । प्रदेश, जिल्ला र स्थानीय तहको एकता छिटै टुङ्गोमा पुर्याउँछौं । त्यसपछि एकताको महान् सन्देश देशभरि लैजानुपर्छ । यो सामान्य कुरा होइन, इतिहासले दिएको महान् जिम्मेवारी हामीले पूरा गरेका छौं, युवा साथीहरुले पनि एकतालाई त्यसरी नै जनतामा लैजान जरुरी छ ।’