हत्यारालाई कार्वाही गर्न चितवनका अधिकारकर्मीको माग

law-school-ftr
  • 461
    Shares
लाेकपाटी न्यूज

कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तमाथि भएको बलत्कारपछि हत्याको घटनाको चितवनका विभिन्न सामाजिक संगठनहरुले भत्सना गरेका छन् । घटना भएको दुई महिना बितिसक्दा पनि निर्मलाले न्याय पाउन नसक्नु आफैमा लज्जास्पद भएको उनीहरुले बताएका छन् ।

सोमबार चितवनका अधिकारकर्मीहरुले एक विज्ञप्ति जारी गर्दै पन्तका हत्यारालाई यथाशिघ्र गिरफ्तार गर्न माग गरेका हुन् । सामाजिक मञ्च, पत्रकार महासंघ, मानवधिकार सरोकार केन्द्र, मानवधिकार संरक्षण मञ्च आदिमा आवद्ध व्यक्तिहरुले निर्मलाका हत्यारालाई कडाभन्दा कडा कार्वाहीका लागि सरकारसँग माग गरेका छन् ।

अधिकारकर्मीहरुले सरकारले आफ्ना मागहरु सम्बोधन नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । यस्तो छ विज्ञप्तिको पूर्णपाठ ।

प्रेस विज्ञप्ति

शान्ति प्रक्रियापछि निर्वाचनको माध्यमबाट नेपालको संविधान २०७२ जारी भएसँगै लामो द्वन्द्धकाल भोगेको देशले निर्वाचित सरकारमार्फत स्थायित्व, शान्ति सुरक्षा, न्याय र दण्डहीनताको अन्त्य हुने आम अपेक्षा थियो । समाजमा अमनचयन र शान्ति सुरक्षा कायमगरी जीउधनको रक्षा गर्ने र सबै नागरिकहरूको मानवअधिकारको सम्मान, रक्षा र परिपुरणको जिम्मेवारी नेपाल सरकार र सरकारी संयन्त्रहरुको हो भन्नेमा हामी प्रष्ट छौं ।

खासगरी कञ्चनपुर जिल्लामा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्याराहरु पत्ता लगाई कानुनी कार्वाही गर्नेतर्फ भएको लापर्वाही, ढिलासुस्ती र आलटालले हामी मानवअधिकारकर्मीहरु आश्चर्य चकित भएका छौं । हत्याराहरुको खोजविन गरी कानूनी कार्वाहीको जिम्मेवारी लिएको सुरक्षा निकायका जिम्मेवार अधिकारीहरु नै हत्याका प्रमाणहरुको नष्ट गर्न सक्रिय रहेको तथ्यहरु निन्दनीय छन् ।

यस घटनाले समग्र सुरक्षा संयन्त्रप्रति नै अविश्वास बढ्न गएको छ । कानूनपालक नै कानूनको भक्षक भएको आशंकासहित निर्मला पन्तले न्याय पाउन ढिलाई भएको आम बुझाई छ । पीडितका पक्षमा प्रमाण संकलन गर्नुको सट्टा प्रमाणहरु नष्ट गर्न लागेको कुरा मानवअधिकारका दृष्टिकोणले अत्यन्तै आपत्तिजनक र दण्डनीय छ ।

यस पृष्ठभूमिमा हामी चितवनमा क्रियाशील तपसीलका अधिकारकर्मीहरु निर्मला पन्तका हत्याराहरु पत्ता लगाई छिटोभन्दा छिटो कानूनी कार्वाही गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।

तपसील

१. विनोदखण्ड तिमिल्सेना, संयोजक, मानवअधिकार सञ्जाल, चितवन एवं केन्द्रीय सचिव, काहुराष्ट नेपाल
२. राजेन्द्र पौडेल, केन्द्रीय सचिव, मानवअधिकार तथा शान्ति समाज
३. कपिल ज्ञवाली, केन्द्रीय सचिव, मानवअधिकार संरक्षण मञ्च
४. विश्वनाथ ओझा, केन्द्रीय सदस्य, राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र
५. कल्पना उप्रेती, अध्यक्ष, मानवअधिकार संरक्षण मञ्च, चितवन
६. दीपेन्द्र अधिकारी, इन्सेक प्रतिनिधि, चितवन ।
७. दीपकबाबु श्रेष्ठ, सदस्य, नेपाल मानवअधिकार संगठन, चितवन ।
८. शान्ता अधिकारी, उपाध्यक्ष, नेपाल पत्रकार महासंघ, चितवन ।