प्रचण्डले चीन भ्रमणमा गरेको चर्चित भाषण (पूर्णपाठ)

Prachandaa
लाेकपाटी न्यूज

प्रवुद्ध अतिथि, महिला तथा सज्जनवृन्द,

यो सुन्दर शहर नानजिङ्गमा सन २०१८ को अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा सहभागी हुन पाउँदा मैले आफूलाई सम्मानित र गौरवान्वित ठानेको छु । ‘विश्वको दीगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भविश्य निर्माण गर्न मिलेर काम गरौं’ भन्ने विषयमा कार्यक्रम आयोजना गरिनु विश्व शान्तिका लागि एकदमै सान्दर्भिक छ । यस्तो महत्वपूर्ण कार्यक्रममा मलाई आफना विचार अभिव्यक्त गर्ने अवसर उपलब्ध गराइदिनु भएकोमा आयोजकप्रति आभारी छु ।

महिला तथा सज्जनवृन्द,

आजको विश्व अन्तरसम्बन्धित छ र एक अर्कामा जोडिएको छ । विश्वव्यापीकरण र तीब्र विकास अनि सूचना तथा सञ्चार प्रविधिले विश्वलाई एउटा एउटै गाउँमा रुपान्तरण गरिदिएको छ । यसले मानवीय अन्तरनिर्भरता बढाएको छ । त्यसैले भौतिक वातावरण र प्रविधि, हाम्रा संस्कृति र मान्यताका साथ साथै हाम्रा आशा र चाहनामा हामी एक अर्कामा निर्भर छौ । विश्वव्यापीकरणले ल्याएका चुनौतिको पनि सँगै सामना गरिरहेका छांै ।

हामीसँग आशावादी हुने कारण छन् । एउटा देशमा भएको प्रविधिको विकास र अन्वेषणले विश्वभरिका मानिसको जीवनलाई सहज बनाइदिएको छ । विश्वको एउटा भागमा भएको तीब्र र दीगो आर्थिक विकासले बाँकी विश्वका लागि समृद्धिको आशा जगाएको छ । विश्वको एउटा भागको शान्ति र स्थिरताले विश्वको अर्को भागलाई त्यही दिशामा धकेल्न प्रोत्साहित गरेको छ ।

कथा यतिमा मात्रै सीमित छैन । न्यूयोर्क वा सांघाईको शेयरबजारमा हुने उतारचढाव बिश्व अर्थतन्त्रलाई तरंगित बनाउँछ । न्यूयोर्क, पेरिस वा काबुलमा हुने आतंकवादी आक्रमणले जहाँसुकैका जनतालाई पनि शान्त र सुरक्षित महसुस गराउँदैन । इबोला भाइरसलाई एउटा देशबाट अर्को देशमा प्रवेश गर्न राजनीतिक सीमा र बलियो अध्यागमन नीतिले रोक्न सक्दैन । विकसित मुलुकका उद्योगहरुद्धारा उत्सर्जित विषालु ग्याँसले त्यस्तो ग्याँस उत्सर्जन नगर्ने मुलुकको जलवायूमा खराव असर पारेको हुन्छ ।

महिला तथा सज्जनवृन्द,

विश्व शान्ति र सुरक्षाका लागि मिलेर विकास गर्ने र समृद्ध हुने महत्वलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक रुपमा आत्मसाथ गर्नु एउटा खुसीको कुरा हो । यसलाई व्यापक रुपमा स्वीकारिएको छ कि शान्तिविना विकास हुँदैन र विकास विना शान्ति हुँदैन । हामी भन्न सक्छौ कि तुलनात्मक रुपमा हामी विश्वको शान्तिपूर्ण अवधिमा छौ ।

दिगो शान्ति र सुरक्षा सुव्यवस्था प्राप्तिका लागि मुलुकहरु मनैदेखि मिलेर लागिरहेका छन् । अझै पनि केही मुद्दाहरु सामूहिक प्रयासबाट पनि समाधान हुन बाँकी छन् । शान्ति र सुरक्षाको मुद्दाले बृहद र समग्र पहुँचको माग गर्दछ ।
शान्ति र सुरक्षाका लागि सम्मानित जीवनको प्रत्याभुति एउटा पूर्व शर्त हो । त्यसको आधार समावेशी, समानता र दीगो विकास हो । तर देशहरु र जनताहरुका बीचको तीब्र विभाजन र असमानता पनि आजको वास्तविकता हो ।

हाम्रो समयको गरिबी एउटा अत्यन्तै डरलाग्दो चुनौती हो । लाखौ मानिसहरु अहिले पनि गरिवीको रेखामुनि छन यद्यपि, लाखौ मानिसहरु विगत केही दशकयता गरिबीको रेखाबाट बाहिर पनि आएका छन् । धनी र गरिब वीचको खाडल फराकिलो बन्दै जाँदा अशान्तिको चिन्ता बढेको छ । ठूलो संख्याका जनतालाई गरिवीमा राखेर केहिको मात्रै समृद्धिले सुरक्षा, दिगोपना र हिंसारहित समाजको कल्पना गर्न सकिदैन ।

मानव सुरक्षालाई जलवायु परिवर्तनले वास्तवमै चुनौती खडा गरिदिएको छ । ग्लोबल वार्मिङ, मरुभूमिकरण र पानीको अभाव र अन्य रुपमा देखिएका जलवायू परिवर्तनको असरका कारणले बिभिन्न क्षेत्रमा द्धन्दहरु देखिन थालेका छन् । जलवायू परिवर्तन र गरिबीका चुनौतीलाई सम्बोधन नगरेसम्म दीगो शान्ति र वास्तविक सुरक्षा सपनामै सीमित रहनेछ ।

आतंकवाद, क्रुर हिंसा र अन्तरदेशीय अपराधको संयन्त्र तीब्र रुपमा फैलिइरहेको छ । एक्लिएका शक्तिहरुले आफनो धरातल बनाइरहेका हुन्छन् । जनता र देशहरुलाई जोडन चीनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको म प्रशंसा गर्न चाहन्छु । सबैलाई हित हुने गरी बजारलाई एकीकृत गर्ने र क्षेत्रीय आर्थिक सहयोग अभिबृद्धि गर्ने वेल्ट एण्ड रोड इनिसियटिभको कार्ययोजनाले अन्तराष्ट्रिय समुदायबाट व्यापक सहयोग प्राप्त गरेको छ । नेपाल विश्वस्त छ कि बिआइले हिमालय क्षेत्रमा पूर्वाधार निर्माणमा सघाउनेछ र यस क्षेत्रमा सेवा, वस्तु र जनताको आवत जावतको अप्ठयारा अवरोधलाई हटाउनेछ ।

यातायातमा सुधार र कनेक्टीभिटीले हामीलाई एकीकृत बजारका लागि सहयोग गर्नेछ र व्यापार तथा बाणिज्य विस्तार गर्न लाभ प्राप्त हुनेछ । वेल्ट एण्ड रोड इनिसियटिभको मातहतमा यातायातको पूर्वाधारको सहयोगले पूर्वी, मध्य र पश्चिमी नेपाललाई यातायात, उर्जा संयन्त्र, सेवा र बाणिज्यको अप्ठयारो हटाएर चीनसँग जोडन मद्दत पुग्नेछ ।

हामी विश्वास गर्छौ कि यस्तो कनेक्टीभिटीले उत्पादकत्वमा बृद्धि ल्याउनेछ र प्रविधिको स्तरोन्नति अनि साझा समृद्धिका हासिल गर्न दुवै देशका जनताका लागि रोजगारी सिर्जना गर्नेछ । साथसाथै मानव जातिका लागि साझा भविश्य निर्माण गर्न चीनले गर्दै आएको शान्तिका पक्षमा निरन्तर वकालत, समावेशी विकास र ‘वीन वीन’ सहयोग साझा समृद्धिको अवधारणा हो । असुरक्षा र अस्थिरतालाई जन्म दिने उग्रवादी शक्तिलाई यसले निश्चय नै निरुत्साहित गर्न सघाउनेछ ।

‘विकासको रेल यात्रामा दौडिरहेको छ’ भन्ने जनवादी गणतन्त्र चीनका महामहिम राष्टपति सी जिनपिंङले प्राय अन्तराष्ट्रिय समुदायलाई भन्ने गरेको सुन्दा मलाई खुसी लाग्छ । शान्ति, सुरक्षा र समृद्धिको बाटोमा सँगै हिडन चीन तयार रहेको अभिव्यक्ति हो त्यो । सदभावको मुख्य तत्व शान्तिपूर्ण र स्थिर समाजका लागि साझा समृद्धि र समावेशी विकासमा अन्तरनिहित रहेको म विश्वास गर्छु ।

यस सन्दर्भमा हामीले सामूहिक प्रतिबद्धता जनाएका छौ । जलवायू परिवर्तनका सन्दर्भमा दीगो विकास लक्ष्यहरु र पेरिस सम्झौता उदाहरणका रुपमा रहेका छन् । हामीसँग संयुक्त राष्टसंघजस्ता संस्था स्थापित भएका छन र वास्तविक शान्ति र सुरक्षाका लागि अन्य अन्तराष्ट्रिय र क्षेत्रीय संगठनहरुले हाम्रा साझा एजेण्डालाई सहजीकरण गरिरहेका छन् ।

महिला तथा सज्जनवृन्द,

विश्व शान्ति र सुरक्षामा नेपालको निरन्तर प्रतिवद्धता खुसीसाथ व्यक्त गर्दछु । हाम्रा कार्य र नीतिहरुमार्फत हाम्रा प्रतिबद्धताहरु प्रमाणित हुँदै आएका छन् । हामी संयुक्त राष्टसंघ घोषणापत्रका सिद्धान्तहरुको वकालत गर्छौ । हाम्रो संविधानमा विश्व शान्तिका लागि हाम्रा प्रतिबद्धता प्रतिबिम्बित भएका छन् । वास्तविक भातृत्व हाम्रा पूराना मूल्य मान्यता हुन ।

शान्तिपूर्ण तरिकाबाट सशस्त्र द्धन्दको समाधान गर्ने विरलै उदाहरण हामीले हाम्रो नमूनायोग्य र घरेलु शान्ति प्रक्रिया मार्फत प्रस्तुत गरेका छौ । नेपाल पूर्ण रुपमा बुझ्दछ कि हाम्रो सामूहिक र केन्द्रिकृत प्रयासहरु हाम्रो दीगो भविश्य, सुरक्षा र बचाउका लागि हुनुपर्छ । हामी सबैका लागि एउटै भविश्य बनाउन हामी सँगै मेहेनत गर्छौ । यसलाई राम्रो बनाउने वा खराव बनाउने हाम्रै हातमा छ ।

म पूर्ण विश्वस्त छु कि विश्वको दीगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भविश्य निर्माण गर्न मिलेर काम गर्न यो सहभागिताबाट एउटा ठोस निष्कर्ष आउनेछ । अन्तर्राष्ट्रिय शान्ति दिवसको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।

१ असोज, २०७५

पुष्पकमल दाहाल ‘प्रचण्ड’
पूर्वप्रधानमन्त्री एवं
अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी