चिहानको गुफामा भेटियो १३ हजार वर्ष पुरानो भट्टी र मदिरा

लाेकपाटी न्यूज

अनुसन्धानकर्ताहरूले इजरेलको हाइफास्थित एउटा प्रागैतिहासिक गुफामा मदिरा बनाउने सबैभन्दा पुरानो भट्टी फेला पारेका छन् ।
त्यहाँ १३ हजार वर्षअघि अन्न कुहाएर बनाइएको मदिराको अंश पनि भेटिएको छ । अर्धफिरन्ते सिकारीहरूको चिहानको अध्ययन गर्ने क्रममा त्यहाँ प्राचीन भट्टी भेटिएको हो ।

यसअघि पाँच हजार वर्षदेखि मात्र अन्न कुहाएर मदिरा बनाउन थालिएको भन्ने मान्यता थियो । तर यो नयाँ प्रमाणले मदिराको इतिहासमा परिवर्तन हुने देखिन्छ । रोटी बनाउँदा मात्रै मदिराको उत्पादन हुन्थ्यो भन्ने पुरानो मान्यतालाई पनि यसले फेरिदिनेछ ।तर अनुसन्धानकर्ताहरूका अनुसार रोटी पहिला कि मदिरा पहिला बनाउन थालिएको हो त्यो भन्न चाहिँ गाह्रो छ ।

‘जर्नल अफ आर्किअलजिकल साइन्सस् रिपोट्र्स’को अक्टोबर अङ्कमा प्रकाशित लेखमा मदिरा मृतकको सम्मानमा आयोजना हुने भोजका लागि बनाइने गरेको तर्क गरिएको छ ।

“यो मानवनिर्मित सबैभन्दा पुरानो मदिरा भएको प्रमाण हो,” अनुसन्धानको नेतृत्व गरेकी स्यान्फर्ड विश्वविद्यालयकी प्राध्यापक ली लिउले स्यान्फर्ड न्यूजलाई बताइन् ।

लिउका अनुसार अनुसन्धानकर्ताहरूले अहिले ती नटुफियन मानिसहरूले कस्ता वनस्पति खान्थे भनेर खोजी गर्दैछन् ।
नटुफियनहरू पुरापाषाणयुगदेखि नवपाषाणयुगसम्म अस्तित्वमा थिए ।

अनुसन्धानकर्ताहरूले गहुँ र जौबाट बनेको मदिराका अंश गुफाभित्र ढुङ्गाको सतहमा बनाइएका खोबिल्टामा भेटेका थिए । त्यही अंशको वैज्ञानिक विश्लेषण गरिएको थियो ।

साठी सेन्टिमिटरसम्म गहिरा ती खोबिल्टाहरू ओखलका रूपमा, अन्नपात भण्डार गर्न, ओट, दाल एवम् बोटबिरुवाबाट सङ्कलित रेसा जस्ता सामग्री पिस्न र पकाउन प्रयोग गरिन्थ्यो ।

प्राचीन मदिरा लेदो हुन्थ्यो । हिजोआज उत्पादन गरिने बियरभन्दा यो धेरै भिन्न देखिन्थ्यो भन्ने आकलन गरिएको छ ।
अनुसन्धानटोलीले प्राचीन मदिराजस्तै पदार्थ बनाएर गुफामा भेटिएको अवशेषसँग तुलना गरेको छ ।

त्यसका लागि अन्नलाई उमारेर त्यसबाट माड बनाइयो र पिसिएको लेदोलाई तताइयो। त्यसमा यिस्टयुक्त मर्चा हालेर फर्मेन्टेशन गराइयो ।
त्यो प्राचीन मदिरा भने आधुनिक बियरभन्दा सम्भवत दुर्बल थियो ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्