के हामी समाजवादको अभ्यास गर्ने ठाउँमा छौं ?

Manahari Timilsina
के हामी समाजवादउन्मूख राज्य र समाजको परिकल्पना गर्ने ठाउँमा छौं ? के हामीले आफूलाई पुरुष भएकोमा हिनताबोध नगर्ने अवस्था छ ? यस्ता अनेक प्रश्न हाम्रासामू उपस्थित छन् ।
मनहरि तिमिल्सिना

– मनहरि तिमिल्सिना/

‘एकाबिहानै समाचारका लागि कम्प्युटर खोल्दै थिएँ, एक प्रतिष्ठित अनलाइनमा समाचार आयो, ‘कञ्चनपुरमा ९ महिनाकी शिशु बलात्कृत ।’ समाचारको सत्यतामाथि शङ्का लाग्यो, सोचें, ‘यतिसम्म घृणित काम पनि मान्छेबाट हुन सक्ला ?’ तर, समाचार सत्य थियो ।

बलात्कारको यो नै पहिलो घटना थिएन । कञ्चनपुरमा १३ वर्षीय बालिका निर्मला पन्तको हत्याले देश नै तरङ्गित थियो । मन्त्री बिना मगरको पछि लागेर म पनि कञ्चनपुर हानिएँ । जिल्लामा एक खालको सन्नाटा थियो । निर्मलाको हत्याभन्दा त्यसपछिको परिदृश्य र सम्भावित जोखिमबाट मानिसहरु सन्त्रस्त थिए । प्रशासन र सुरक्षा अधिकारीहरुको मुहारमा पनि कुनै चमक थिएन ।

पन्तको हत्यापछि पनि कञ्चनपुरमा बलात्कारका घटना रोकिएनन् । बरु, बढ्दै गए । नागरिक स्वतस्र्फुत रुपमा आन्दोलित भए । तर, हत्यारा कानूनको कठघरामा आएन । अनुसन्धानका लागि नयाँ सिडियो र एसपी पठाइएको थियो । उनीहरुको मुहारमा मुस्कान थिएन । बरु, घटनाको छानविन र कार्वाहीका लागि असफल भइन्छ कि भन्ने चिन्ताको छनक मिल्थ्यो ।

हामी मन्त्रीसँग कञ्चनपुर पुगेको अघिल्लो दिन एक बालिका आफ्नै घर छेउबाट बलात्कारको शिकार भएकी थिइन् । गाउँभरि नै एक खालको सन्त्रास थियो । हामीले बालिका भेट्यौं । उनको अवस्था बाघको पञ्जाबाट रक्ताम्मे हुँदै फुत्किएको मृगभन्दा फरक थिएन । शारीरिक पीडा त थियो नै, बालिका डिप्रेसनको शिकार पनि भएकी थिइन् ।

अर्कोदिन यस्तै अपत्यारिलो समाचार सार्वजनिक भयो । समाचारको शीर्षक थियो, ‘सात महिनाकी गर्भवतीमाथि बलात्कार ।’ पढ्न सक्ने समाचार थिएन । तर, मन गाँठे पारेरै भएपनि पढ्नुपर्ने बाध्यता थियो । त्यो समाचार पनि सत्य नै थियो । अहिले यी सबै घटना सामान्य लाग्न थालिसकेका छन् । यस बीचमा घटेका बलात्कारका केही दृष्टान्त यस्ता छन् :

– चितवनमा सुस्त मनस्थिति भएकी बालिका बलात्कृत ।
– पोखरामा आँखा नदेख्ने ७० वर्षीय वृद्धा बलात्कृत ।
– पोखरा लामाचौरमा एक किशोरी मृत अवस्थामा फेला ।
– रामेछापमा जवर्जस्ती गर्न खोज्दा नातिनीद्वारा हजुरबाको हत्या ।
– दोलखामा कर्मचारीद्वारा पाँच वर्षीया बालिका बलात्कृत ।
– धनुषामा २ महिनामा आठ महिला बलात्कृत ।
– बाँकेमा भारतीय नागरिकद्वारा नातिनी बलात्कृत ।
– काठमाडौंमा मोरङकी नौ वर्षीया बालिका बलात्कृत ।
– धनगढीमा सात कक्षामा पढ्ने छात्रा बलात्कृत ।
– बर्दियामा २ महिनामा पाँच महिला बलात्कृत ।
– रौतहटमा बलात्कारको मिलापत्र गराउन सांसदको घरमा छलफल ।
– कञ्चनपुरमा सात महिनाकी गर्भवती बलात्कृत ।
– कञ्चनपुरमा ९ महिनाकी शिशु बलात्कृत ।
– कञ्चनपुरमा १४ वर्षीया बालिका घरबाटै उठाएर बलात्कार ।
– कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या ।

यी सतहमा आएका केही दृष्टान्त मात्र हुन् । पछिल्लो समय घटेका बलात्कारका घटना हेर्दा हामी कहाँ छौं ? भन्ने गम्भिर प्रश्न उब्जिन्छ । के हामी समाजमा छौं ? के हामी समाजवादउन्मूख राज्य र समाजको परिकल्पना गर्ने ठाउँमा छौं ? के हामीले आफूलाई पुरुष भएकोमा हिनताबोध नगर्ने अवस्था छ ? यस्ता अनेक प्रश्न हाम्रासामू उपस्थित छन् ।

मेरो विचारमा पछिल्लो समय बलात्कारका घटना बढोत्तरी भएका होइनन् । यसअघि पनि बलात्कारका घटनाहरु घट्थे, कति प्रचारमा आउँथे, कति आन्तरिक रुपमै मिलाइन्थ्यो । तर, अहिले घटेका घटनाहरु तीभन्दा बिल्कूल भिन्न प्रकृतिका छन् । शिशुको बलात्कार, ७० वर्षे वृद्धाको बलात्कार, नातिनीको बलात्कार, ७ महिने गर्भवतीको बलात्कारजस्ता घटनाले सामाजिक अपराधको भयावह चित्र बोल्दछ । यो वर्तमानका लागि मात्र नभएर नेपाली समाजको अग्रगामी रुपान्तरणको भविष्यका लागि पनि निकै ठूलो चुनौति हो ।

यस्तो भयावह परिस्थिति किन आयो ? यसको दीर्घकालीन समाधान के हो ? समाजमा आपराधिक चिन्तन र कर्महरु कसरी निरुत्साहन हुन सक्छन् ? यी प्रश्नमा गम्भिर मन्थन नगरी न निर्मलामाथि न्याय मिल्छ, न भविष्यका जोखिमहरुको सामना गर्न सकिन्छ । सामाजिक धरातल र मनोविज्ञानको विश्लेषण नगरी गरिने उत्तेजक माग र सोंचले तत्कालका लागि मान्छेलाई तरङ्गित त गर्ला । तर, समस्याको समाधान दिँदैन ।

मनोविज्ञान यस्तो विषय हो, जसले विगतका सम्पूर्ण सार्थक कर्महरुलाई पनि कमजोरीको एउटै पर्दाले छोपिदिन्छ । निर्मलाको हत्या प्रकरण र त्यसपछि उर्लिएको जनआवाजले त्यही कुरा बोल्दछ । प्रहरी संगठनले भूकम्प, नाकाबन्दी, सशस्त्र द्धन्द्ध, विपद व्यवस्थापन, अपराध नियन्त्रणमा असाध्यै ठूलो त्याग र बलिदान गरेको छ । नागरिकले मुक्त कण्ठले त्यसको तारिफ पनि गरेका छन् । तर, केही अफिसरको दुरासयपूर्ण कर्मले सिङ्गो प्रहरी संगठन लज्जित भइरहेको छ ।

सङ्कटकालीन परिस्थितिमा बाहेक राजनीतिक संरक्षणबिना प्रहरी आफैं ठूला घटनामा संलग्न भएको हाम्रो इतिहास छैन । लाउडा काण्डदेखि सुन काण्ड र निर्मला हत्या काण्डसम्म आइपुग्दा पनि त्यही कुरा पुष्टि हुन्छ । सत्ताको बागडोर सम्हालेका नीति निर्माताहरुका अभिव्यक्तिले पनि त्यसको आशङ्कालाई बल मिलिरहेको छ । कतिपय अवस्थामा प्रहरीको सूरक्षा विश्लेषणको सीमाले घटना घट्छन्, अपराधी फरार हुन्छ । तर, नागरिकले त्यसलाई नियतका दृष्टिले हेरिदिन्छन् र समस्या जटिल बन्छ । कञ्चनपुरको घटना त्यस्तो देखिँदैन । निर्मला हत्यापछि दर्जनौं प्रहरी अधिकृतहरु निलम्वन भएका छन् । तर, वास्तविक हत्यारा पक्राउ नपर्दा नागरिक आक्रोश मत्थर हुन सकेको छैन ।

बलात्कारको मनोविज्ञानमा हाम्रो सामाजिक सोंच पनि जिम्मेवार छ । जब कुनै पुरुष दुखमा रुन्छु, हाम्रो समाज भन्छ, ‘पुरुष भएर पनि रुन सुहाउँछ ? यस्तो नामर्द हुन्छन् र पुरुष ? कठोर मन हुनुपर्छ । जस्तोसुकै परिस्थितिमा पनि कठोर र वीर हुनुपर्छ ।’ अनि, त्यो पुरुषले के ठान्छ ? उसले ठान्छ, ‘पुरुष हुनु वीर हुनु हो, शक्तिशाली हुनु हो । सबैलाई आफ्नो नियन्त्रणमा लिने खुवी हुनु हो ।’ यही मनोविज्ञानले पुरुष कठोरबाट क्रुर बन्दै जान्छ, यसले पनि बलात्कार र हिंसाका लागि प्रेरित गरिदिन्छ ।

हाम्रा संस्कार, संस्कृति, पहिरन पनि बलात्कारको परोक्ष मनोविज्ञान बनाउन जिम्मेवार छन् । आधुनिक समाजमा पनि शिव लिङ्गको पूजाप्रति कसैको बितृष्णा देखिँदैन । शिक्षित महिलाहरु पनि त्यसलाई दुरुत्साहन गर्न तत्पर देखिँदैनन्, सुन्दरी प्रतियोगितामा आफ्ना छोरीचेली सहभागी हुँदा ‘क्रान्तिकारीहरु’ गौरव गर्छन् र निर्लज्ज भोट माग्छन् । कृष्ण चरित्रका बहुआयाम छन् । तर, नेपाली समाज १६०० गोपिनीको कथालाई मन्त्रमुग्ध भएर सुन्छ । गरुड पुराण लगायतका पौराणिक कथ्यहरुको पनि समाज विवेचना गर्दैन । बरु, आँखा चिम्लेर समर्थन गरिदिन्छ । यसले समाजलाई सामन्ती युगमै राख्न प्रेरित गर्छ ।

भनिन्छ, ‘खाली दिमाग सैतानको घर हो ।’ बढ्दो बेरोजगारी, महङ्गी, राज्यप्रति नागरिकमा देखिएको आक्रोश, अन्धविश्वास र कुरितिले पनि समाजमा हिंस्रक मनोवृत्तिमा मलजल गरिरहेको छ । त्यसमाथि सामाजिक सञ्जालको बेलगाम प्रयोगले पनि समाजलाई हिंस्रक र उत्तेजक बनाइरहेको देखिन्छ । राज्यले रोजगारी सिर्जना, सामाजिक सञ्जालको नियमन र सामाजिक जागरण अभियान सञ्चालन नगरेसम्म यस्ता घटना सुसुप्त होलान् । तर, अन्त्य हुँदैनन् । मदिरा नियन्त्रण गर्ने गृहमन्त्रीको घोषणाले मात्र यी सबै विकृतिको समाधान दिँदैन ।

हामी युवाहरुलाई वैदेशिक रोजगारीमा पठाएर बिप्रेषणमा रमाइरहेका छौं । हाम्रो अर्थतन्त्रको मूख्य हिस्सा बिप्रेषण बन्दा हामी गौरववोध गरिरहेका छौं । तर, पचास लाख उर्जाशील युवा विदेसिदा त्यसले राष्ट्र निर्माणमा मात्रै प्रभाव पारिरहेको छैन । सामाजिक मनोविज्ञान र आकाङ्क्षाहरुले पनि ‘ट्रयाक’ छोडेका छन् । वैदशिक रोजगारीमा गएकाहरुका परिवारमा आएको बिग्रह र यौनजन्य विकृतिहरुको भयावह चित्रले त्यसलाई पुष्टि गर्दछ ।

हामीले यौन शिक्षालाई बहसको विषय होइन, कौतुहलताको विषय बनाइरहेका छौं । कौतुहलताले क्रमशः क्रुरतातिर फड्को मार्छ । यो नै अन्तिममा हिंसा र बलात्कारको कारक बन्न जान्छ । हामीले माध्यामिक तहदेखि नै यस्ता विषयलाई पाठ्यक्रममा समावेश गर्दा केही हदसम्म समस्यामा कमि आउन सक्छ ।

बलात्कार र अपराध विकसित देश र समाजमा पनि हुन्छ । तर, निकै नगन्य । उनीहरु शिक्षा र कानून दुवै दृष्टिले यस्तो मनोवृत्तिको दुरुत्साहन गरिरहेका छन् । तर, हामीकहाँ बलियो कानून छैन । हाम्रो संविधानले मृत्युदण्डको परिकल्पना गरेको छैन । जघन्य अपराधमा आजीवन काराबासको परिकल्पना गरेको छ । तर, आजीवन काराबासको अर्थ के ? आजीवन काराबासको सर्वमान्य परिभाषा हो, ‘अदालतले प्रमाणित गरेको अपराधी आजीवन जेलमा हुन्छ, उसको मृत्यु पनि कालगतिले जेलभित्रै हुन्छ ।’ तर, हामीकहाँ जगन्घ अपराध प्रमाणित भएको अपराधी मुस्किलले ६/७ वर्ष जेलमा बस्छ र छुटेपछि समाजमा प्रतिशोध साँध्छ ।

सामाजिक रुपान्तरण र अग्रगतिमा पुरुषहरुको कम योगदान छैन । महिला हिंसा विरुद्धको अभियानमा पुरुषहरुको पनि बलियो साथ छ । तर, दिनदिनैका घटनाले महिलाहरुमा अपराधीप्रति होइन, पुरुषहरुप्रति घृणा जाग्ने परिस्थिति बन्दैछ । यो सामान्य कुरा होइन । यस्तै परिस्थिति रहिरहे छोरासँग आमा, बाबूसँग छोरी, दाजुसँग बहिनी र भाइसँग दिदी त्रसित हुनुपर्ने दिन आउन सक्छ । त्यो दिन छोराले सोध्न सक्छ, ‘आमा ! म पुरुष कि बलात्कारी ?’ अनि, हामी कहाँ पुगौंला ? विश्वासको जग कहाँ रहला ? हामीले परिकल्पना गरेको समाजवादी राज्य र समाज कसरी बन्ला ? केही ठोस कदम नचाले परिस्थिति राज्यको नियन्त्रण बाहिर नजाला भन्न सकिन्नँ ।

महिला हिंसा र बलात्कारका घटना रोक्न राज्यले कम्तिमा केही गम्भिर कदम चाल्न सक्नुपर्छ । (१) आजीवन काराबास सम्बन्धि कानूनी व्यवस्थामा परिमार्जन, (२) सामाजिक सञ्जाल नियमन र कार्वाहीका लागि छुट्टै कानूनी एवं प्रशासनिक संरचनाको स्थापना, (३) सामाजिक कुरितिविरुद्ध जागरण अभियानको निरन्तरता, (४) औद्योगिकरण र रोजगारी सिर्जना, (५) पाठ्यक्रममा यौन शिक्षा र सामाजिक बहस, (६) रितिथितिहरुको समानुकूल परिमार्जन, (७) वैदेशिक रोजगारीको दुरुत्साहन, (८) पुरुष क्रुर र वीर होइन, जिम्मेवार नागरिक हो भन्ने सोंचको विकास । कम्तिमा यति कामको थालनी गर्न सक्दा ‘काल पल्कने’ समस्याबाट हामीले उन्मुक्ति पाउन सक्छौं । अन्यथा, महिनैपिच्छे निर्मलाहरु जन्मिरहनेछन् ।