गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई प्र.म. ओलीको आग्रह

Kp sharma oli PM
लाेकपाटी न्यूज

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण व्यवसायीलाई समयमा गुणस्तरीय काम गरेर आफ्नो छवि राम्रो राख्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले जानीजानी कम गुणस्तर वा कम मात्राको सामग्री राखेर निर्माण गरी अनुचित लाभ लिन खोजेमा कारवाही हुने दृढता समेत व्यक्त गरे ।

नेपाल निर्माण व्यवसायी महासंघको २० औँ वार्षिक साधारणसभाको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारलाई कुनै अवाञ्छित लाभ लिन वा काम गर्नुपर्ने नभएकाले समयमा गुणस्तरीय कानूनसम्मत काम गर्न आग्रह गरे । उनले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार (कार्टे्लिङ) स्वीकार्य नहुने बताए ।

प्रधानमन्त्री ओलीले, व्यवसायीले समयमा काम गर्न नसक्ने औचित्वपूर्ण अवस्था भएमा सम्झौता अवधि बढाउन सकिने तर क्षमताभन्दा बढी काम ओगटेर काम नगर्ने कम्पनीका लागि पटकपटक अवधि थप्न नसकिने प्रधानमन्त्री ओलीले स्पष्ट पारे । व्यवसायीको हितमा मात्र नभई समग्र जनताको काम गर्न आग्रह गर्दै उनले कमीकमजोरी रहेका कानून परिमार्जन गर्न सरकार तयार रहेको बताए ।

संविधान जारीपछि अधिकार प्राप्तिको आन्दोलनको चरणबाट आर्थिक विकास, उन्नति र समृद्धिको चरणतर्फ प्रवेश गरेको अवस्थामा सबै क्षेत्रबाट योजनाबद्ध तरिकाले काम अगाडि बढाउनुपर्ने प्रधानन्त्रीको आग्रह थियो ।

“हामीले स्थापना गरेको लोकतान्त्रिक गणतन्त्रलाई सुव्यवस्थाका रुपमा परिणत गर्न तथा लोकतन्त्र उत्तम व्यवस्था हो भन्ने जनताले अनुभूत गर्ने गरी सुशासनयुक्त, भ्रष्टाचारमुक्त, शान्ति सुरक्षायुक्त, क्लेश र कलहमुक्त व्यवस्था बनाउन आवश्यक छ ।” प्रधानमन्त्रीले भने, वर्तमान सरकार यो प्रणाली उत्तम छ भन्ने कुरा व्यवहारबाट प्रमाणित गर्न प्रतिबद्ध छ ।”

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्