३ किलो अवैध सुनसहित दुई युवक पक्राउ

Gold
लाेकपाटी न्यूज

काठमाडौं, ९ असोज । प्रहरीले तीन किलोग्राम अवैध सुनसहित दुईजनालाई राजधानीबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले तीन पिप्ले र टोखा सडकमा निगरानी गरेर सोमबार साँझ मोटरसाइकलमा सवार दुईजनाबाट १२ टुक्रामा रहेको तीन किलो अवैध सुन बरामद गरेको हो ।प्रहरीका अनुसार बा ७३ प ३४०२ नम्बरको मोटरसाइकलमा सवार दुईजनाको शरीर खानतलासी गर्ने क्रममा उक्त परिमाणको सुन बरामद भएको हो ।

सुनसहित पक्राउ पर्नेमा रसुवाको गोसाइकुण्ड गाउँपालिका–१ घर भई काठमाडौँको मित्रनगरस्थित कोपिला गेष्ट हाउसमा बस्दै आएका २४ वर्षीय नरबहादुर घले र २० वर्षीय पेम्बा तामाङ रहेका छन् ।

प्रहरीका अनुसार यो सुन उनीहरुले चिनियाँ नागरिकबाट लिएर काठमाडौँसम्म ल्याएका हुन् । रसुवामै घर बनाउने ठेक्काको काम गर्दै आएका नरबहादुर र पेम्बाले केरुङबाट काठमाडौँसम्म सुन ल्याउन प्रतिकिलो ५० हजार रुपैयाँ लिने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।

केरुङको गे्रटवाल होटलमा बस्दै आएका तिब्बतीयन भोटेले दिएको एक किलो सुन उनीहरुले यसअघि नै काठमाडौँको माछापोखरीमा ल्याएर अर्का तिब्बतीय नागरिकलाई जिम्मा लगाइसकेको पनि खुलेको छ । त्यसबापत उनीहरुले ५० हजार रुपैयाँ लिएको महानगरीयप प्रहरी परिसरले जानकारी दिएको छ ।